नेपाली राजदूतावास स्पेनले सांस्कृतिक कार्यक्रमसहित मनायो राष्ट्रिय दिवस

BreaknLinks
BreaknLinks

स्पेनस्थित नेपाली राजदूतावासले राष्ट्रिय तथा संविधान दिवसको अवसरमा बार्सिलोनामा सांस्कृतिक कार्यक्रम सहित मनाएको छ। स्पेन र नेपालको राष्ट्रिय गानबाट कार्यक्रमको सुरुवात गरिएको थियो।

स्पेनका लागि नेपाली राजदूत महामहिम डा. शर्मिला पराजुली ढकालले स्वागत मन्तव्य राख्दै  प्रजातन्त्रका लागि नेपाली जनताको लामो र निरन्तर सङ्घर्षको महत्व माथि प्रकाश पारेकी थिइन्।  

राजदूत पराजुलीले नेपालको संविधान जारी गर्नमा नेपालीहरुको योगदानबारे बताउदै आफ्नो कार्यकालमा दुई देशबीचको व्यापार, पर्यटन, खेलकुद, शिक्षा, कृषि र संस्कृतिको प्रवर्द्धन गरी नेपाल र स्पेनबीचको  द्विपक्षीय सम्बन्ध थप सुमधुर बनाउने गरी कार्य गर्ने प्रस्ट पारिन्। उनले कोभिड–१९ को परीक्षणको समयमा नेपाललाई मानवीय सहायता पठाउने युरोपेली संघको पहिलो मुलुक भएकोमा स्पेन सरकारलाई धन्यवाद ज्ञापन गरिन्। 

कार्यक्रममा प्रसिद्ध नेपाली गायक श्रीकृष्ण काफ्लेले सांगीतिक प्रस्तुति दिएका थिए। उनले जहाँ छन् बुद्धका आँखा लगायत अन्य विभिन्न नेपाली गीत गाएका थिए भने प्रसिद्ध बाँसुरीबादक विनोद कटुवालजले नेपाली गीतमा बाँसुरी बजाएका थिए।

नेपाली भाषा र संस्कृतिमा योगदान पुर्‍याउँदै आएको ‘पाठशाला’बार्सिलिना नेपाली विद्यालयका साना बालबालिकाहरुले नेपाली गीतमा नृत्य प्रस्तुत गर्नुका साथै राष्ट्रिय गान गाएका थिए। सांस्कृतिक प्रस्तुतिको साथै दूतावासले बार्सिलोनामा बसोबास गरी नेपालमा योगदान पुर्‍याउनुका साथै दुई देशबीचको आर्थिक कूटनीति प्रवर्द्धनमा पर्यटन र संस्कृतिमार्फत सहकार्य गर्दै आएका केही महत्वपूर्ण नेपालीहरूलाई सम्मान गरेको थियो। 

कार्यक्रममा कन्सुल जनरलहरू,बार्सिलोनाका कूटनीतिक समुदायका प्रतिनिधिहरू,स्पेनका मिडिया हाउस सहित करिब १५० जना अतिथिहरूको उपस्थिति रहेको थियो। कार्यक्रम सञ्चालन राजदूतावासका  सहचारी करिश्मा अधिकारीले गरेकी थिइन्।

प्रकाशित मिति: : 2022-09-25 20:49:00

प्रतिकृया दिनुहोस्