टरिगाउँ विमानस्थलको विस्तार : चुनावी एजेण्डामा मात्र सिमित

BreaknLinks
BreaknLinks

गएको चैत्र महिनाको १९ गते दाङ तुलसीपुरमा रहेको टरिगाउँ विमानस्थलमा बृहत छलफल गरियो। विमानस्थलको स्तराेन्नतिका लागि तुलसीपुर उद्योग वाणिज्य संघले सर्वदलीय/सर्वपक्षीय बृहत छलफल गरेको थियो।

छलफलमा जिल्लाका सरोकारवाला सबैले विमानस्थल विस्तारका लागि सहयोग गर्ने प्रतिबद्धता पनि जनाए। उक्त छलफल वैशाख ३० गते भएको स्थानीय तहको निर्वाच लक्षित थियो।

निर्वाचन सकियो तर विमानस्थल स्तरोन्नतिका लागि कुनै प्रगति हुन सकेन। वि.स. २०१४ सालदेखि जहाज उड्न थालेको यस विमानस्थलमा अहिले पनि हप्तामा सातै दिन जहाज उडान हुँदैन।

नेपाल एयरलायन्सको जहाजले हप्तामा ५ दिनमात्र उडान गर्ने गरेको छ। सोमबार र बुधबार विमानस्थलमा जहाज आउँदैन। यी दुई बार हवाई यात्रा गर्ने दाङका यात्रुहरु बाँके वा भैरहवा जानुपर्ने बाध्यता छ।

टरिगाउँ विमानस्थलमा १९ सिटे जहाँजसमेत नियमित उडान नभइरहेको समयमा थप ७२ सिटे जहाज उडान गर्ने गरी फेरि चर्चा हुन थालेको छ।

स्थानीय तहको निर्वाचनपछि विमानस्थल विस्तारमा कुनै प्रगति भएन। तर फेरि मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै गर्दा विमानस्थल विस्तारको कुरा चलेको छ।

जहाज उडान हुन थालेको ६५ वर्षसम्म नियमित जहाज उडान नभइरहेको समयमा विमानस्थल विस्तारका लागि जिल्लाका सरोकारवालादेखि मन्त्रीसम्मले फेरि चासो देखाएका छन्।

सांसदको कार्यकाल सकिए पनि मन्त्री भने छिट्टै ७२ सिटे जहाज उडान हुने गरी काम हुने दाबी गर्छन्। असोज ६ गते बिहीबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठ, सहरी विकास मन्त्री मेटमणि चौधरी र स्वास्थ्य राज्य मन्त्री हिराचन्द्र केसी विमानस्थलमा आएर धावन मार्ग विस्तार गरिने र छिट्टै ७२ सिटे जहाज उडाइने बताए।

तर उनीहरुको यस्तो दाबी दाङवासीलाई भने चुनावी फण्डा जस्तो लागिरहेको छ। ‘चुनाव आएपछि त विमानस्थल विस्तार भइहाल्छ, चुनाव सकिएसँगै विमानस्थलमा जहाज उड्नसमेत कठिन हुन्छ।’

तुलसीपुर–७ का स्थानीय बसन्त पौडेलले भने। चुनाव आएसँगै विमानस्थल विस्तारका कुरा हुनु मात्र मतदातालाई आश्वासन दिने रहेको उनको बुझाई छ। उनले विमानस्थल विस्तारका कुरा अघिपछि नगर्ने तर चुनाव आएमात्र गर्ने गरेको भन्दै आज चलेको चर्चामा पत्यार लाग्दो नरहेको बताए।

‘विमानस्थलको स्तराेन्नति हुने कुनै छाँट देखिँदैन। उडान भइरहेकै सानो जहाज पनि नियमित हुँदैन,’ पौडेलले भने, ‘यो समस्या आजको पनि होइन। उहिल्यै देखिको हो। इच्छा भए त चुनावअघि नै विमानस्थल विस्तार हुने थियो। यो चुनावको मुखमा भइरहेको कुरा पत्यार लाग्दो छैन।’

टरिगाउँ विमानस्थलको रनवे ७५० मिटरको रहेको छ। ७५० मिटरको रनवेलाई विस्तार गरेर थप ७२ सिटे जहाज उडान गर्ने गरी चर्चा हुन थालेको वर्षौँ भइसकेको छ। एक पटक रनवे विस्तारका लागि सर्वेसमेत भएको थियो। तर सर्वे भएर कुनै काम भएको छैन। कतिपयले यस विमानस्थलमा ७२ सिटे जहाज उडान गर्न नसकिने बताउँदै आएका छन्।

तर पटक–पटक चुनावी एजेण्डाका रुपमा विमास्थल विस्तार गरिने नेताहरु भने दाबी गरिरहन्छन्। उनीहरुको उक्त दाबी दाङवासीलाई भने अब चुनावी एजेण्डा मात्र रहेको अभाष हुन थालेको छ।

विमानस्थल रहेकै वडा तुलसीपुर–१२ का स्थानीय शिवबहादुर बुढाथोकीले अहिले चलेको विमानस्थल विस्तारको कुरा मात्र चुनावी एजेण्डा जस्तो लागेको छ। ‘यस्तो छलफल, नेताका प्रतिबद्धता त कति भए–भए,’ उनले भने, ‘विस्तार हुने भए त उहिल्यै भइसक्थ्यो। यत्रो ६५ वर्षसम्म दुःख पाउनु पर्ने नै थिएन।’

उनले आजभोलि पनि नियमित उडान हुन नसकेको भन्दै चुनाव केन्द्रित एजेण्डा बनाउनु भन्दा कुनै निजी कम्पनीको राम्रो जहाज चलाउन सरकारलाई आग्रह गरे। ‘अहिले चलिरहेको जहाज चढ्न पनि डर लागेर आउँछ, पुरानो जहाज छ,’ उनले भने, ‘यो विस्तारका पछि लाग्नुभन्दा अलि राम्रो कुनै निजी कम्पनीको जहाज नियमित चलाए हुन्छ।’

‘दलहरुले गम्भीर राजनीतिक अपराध गरिरहेका छन्’

चुनावका समयमा जे पनि गर्छु भन्ने र पछि काम नगर्ने प्रवृत्ति राजनीतिक दलहरुमा रहेको राजनीतिक विश्लेषक सुशील गौतम बताउँछन्। उनले विमास्थल मात्रै होइन हरेक विकास निर्माणमा दलहरुले जनतालाई इमोशनल ब्ल्याकमेल गरेर गम्भीर राजनीतिक अपराध नै गरेको बताए।

उनले भने, ‘सत्य कुरा गरेर निर्वाचन जितिँदैन। मात्र इमोशनल कुरा गरेर निर्वाचन जित्यो। पछि त्यो काम गर्नु छैन। विभिन्न बहाना बनाएर टार्ने प्रवृत्ति छ। यो जनतामाथि गरिएको गम्भीर राजनीतिक अपराध हो।’ गौतमले सरकारले चाहेमा जे पनि हुने भन्दै तर राजनीतिक दलको इच्छा शक्ति नहुँदा वर्षौँसम्म नेताका प्रतिबद्धता पुरा नहुने गरेको बताए।

यस्तै प्रतिबद्धतामध्येको टरिगाउँ एयरपोर्ट पनि लामो समयदेखि बनाउने मात्रै कुरा हुने तर काम नहुने गरेको उनको बुझाइ छ।

प्रकाशित मिति: : 2022-09-29 13:01:00

प्रतिकृया दिनुहोस्