मैलो छैन मधेश

हिमाल खबर

नयनराज पाण्डे

हावा कुरा होइन यो। तर, कुराको शुरूआत हावाबाटै गर्छु।

मधेशमा हावाका अनेक नाम छन्– वायु, बयार, पवन, बतास, अन्धड, आँधी या बगुला। त्यसपछि बबन्डर, तूफान। गतिले निर्धारण गर्छ, त्यो हावा चक्रवात हो कि ‘घुमरी’? हावा तातो भए लू, झनै तातो भए ‘लुक्क’। जेठतिरको आँधी ‘भुतरा’। साउन, भदौतिर चल्ने आँधी ‘बहरा’ या ‘झपटी’। त्यस्तै खालको हावा फागुन–चैततिर चले ‘फगुनाहट’। अनि मन्द मन्द चल्न थाले ‘चैती’। हावा पूर्वबाट चले ‘पुरवाई’, पश्चिमबाट चले ‘पछुवा’, दक्षिणबाट चले ‘दखिना’ र उत्तरबाट चले ‘उतरैया’। जब हावा फूलको बास्ना लिएर बहन्छ, ‘फुलबसिया’ हुन्छ। यति मात्र होइन; गति, समय, स्वभाव, महीना, ऋतुका आधारमा मधेशमा हावाका अरू दर्जनौं नाम प्रचलित छन्।

यो मधेशको भाषिक सौन्दर्यको सानो नमूना हो। कुनै बिहान मधेशी गाउँ पुगेर त्यहाँको तिराहाको चिया दुकानमा एकछिन बस्नुस् र चिया पिउँदै बसिरहेकाहरूले ‘बतियाइरहेको’ सुन्नुस्। तपाईंलाई उनीहरूको ‘हास्य चेत’ ले चकित बनाउनेछ। त्यति वेलाको ‘बातचित’ कहिले ‘बकलोल’ लाग्छ र कहिले ‘बतंगड’ बनेर छ्यालब्याल हुन्छ।
 

प्रकाशित मिति: : 2022-10-04 12:24:00

प्रतिकृया दिनुहोस्