मोरङका ४ वटै क्षेत्रमा काँग्रेसले टुंग्यायो उम्मेदवार

नेपाली काँग्रेसले आफ्नो भागमा पारेको मोरङका ४ संघीय निर्वाचन क्षेत्रमा उम्मेदवार टुंगो लगाएको छ। ६ निर्वाचन क्षेत्र रहेको मोरङमा कांग्रेसले १, २, ३ र ६ मा उम्मेदवार टुंगो लगाएको हो। क्षेत्र नम्बर ४ र ५ माओवादीको भागमा परेको छ।

क्षेत्र नम्बर १ मा कांग्रेसका जिल्ला सभापति डिगबहादुर लिम्बूले टिकट पाएका छन्। लिम्बू २०७४ को निर्वाचनमा एमालेका घनश्याम खतिवडासँग पाराजित भएका थिए। एमालेकाट पनि खतिवडाले नै टिकट पाएका छन्।

मोरङ २ मा गिरीजा पुत्री सुजता कोइरालाले टिकट पाएकी छिन्। यस क्षेत्रबाट निवर्तमान संसद मिनेन्द्र रिजालले पनि दावी गरेका थिए। एमालेले यस क्षेत्रमा ऋषिकेश पोखरेललाई टिकट दिएको छ।

क्षेत्र नम्बर ३ मा सुनिल शर्माले टिकट पाएका छन्। मेडिकल व्यवसायीसमेत रहेका शर्मा अघिल्लो निर्वाचनमा एमालेका भानुभक्त ढकालसँग पराजित भएका थिए। एमालेबाट उनै ढकालले टिकट पाएका छन्।

मोरङ ६ मा कांग्रेसका प्रभावशाली नेता शेखर कोइरालाले टिकट पाएका छन्। कांग्रेसको १४औँ महाधिवेशनमा पार्टीको सभापतिमा पराजित भएका कोइराला अघिल्लो निर्वाचनमा यही क्षेत्रबाट पराजित भएका थिए। एमालेका लालबाबु पण्डितले उनलाई पराजित गरेका थिए। एमालेबाट पण्डितले नै टिकट पाएका छन्।

प्रकाशित मिति: : 2022-10-09 06:50:00

प्रतिकृया दिनुहोस्