नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गतका केही खेल यही असोज २३ देखि पोखरामा सञ्चालन भइरहेका छन्।
राष्ट्रिय खेलकुद औपचारिकरूपमा असोज २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशका आठ जिल्लामा हुँदैछ। समय र पूर्वाधार अभावका कारण केही खेल प्रतियोगिता उद्घाटनअगावै सुरु भएका हुन्। पुरुष क्रिकेट प्रतियोगिता यसअघि नै काठमाडौँमा सम्पन्न भइसकेको छ।
पोखरामा नवौँअन्तर्गत अहिले महिला क्रिकेट, फेन्सिङ र महिला तथा पुरुष ह्याण्डबल खेल जारी छन्। हालसम्म सात स्वर्णसहित २७ पदकको छिनोफानो भएको छ। फेन्सिङमा छ स्वर्णसहित २४ पदकको टुङ्गो लागेको छ। नेपाली सेना हालसम्म पदक तालिकामा शीर्ष स्थानमा रहन सफल भएको छ।
आर्मीले दुई स्वर्ण, चार रजत र छ कास्य गरी १२ पदक प्राप्त गरेको छ। लुम्बिनी प्रदेशमा तीन वर्षअघि सम्पन्न आठौँ राष्ट्रियमा विभागीय टोली नेपाली सेनाको त्रिभुवन आर्मी क्लब च्याम्पियन बनेको थियो। आर्मीकी रमाकुमारी सिंह र इन्द्र पौडेलले फेन्सिङमा स्वर्ण प्राप्त गरेका छन्।
यसैगरी बागमती प्रदेश दुई स्वर्ण र एक कास्यसहित तालिकाको द्वितीय स्थानमा छ। बागमतीका ओमकार सिंह र शिक्षा नापितले फेन्सिङमा स्वर्ण जिते। सशस्त्र प्रहरीको एपिएफ क्लब एक स्वर्ण, दुई रजत र पाँच कास्यसहित तेस्रो स्थानमा छ। एपिएफका राजेन्द्र गजुरेलले फेन्सिङमा स्वर्ण जिते।
सुदूरपश्चिम प्रदेशका जलेन्द्रबहादुर शाहीले फेन्सिङमा स्वर्ण जितेका छन्। सुदूरपश्चिमले एक स्वर्ण र एक कास्य जितेको छ। नेपाल प्रहरीको पुलिस क्लबले पुरुष क्रिकेटमा स्वर्ण जितेको छ। आयोजक गण्डकी प्रदेशले हालसम्म एक कास्य पदक प्राप्त गरेको छ। कर्णाली, लुम्बिनी, मधेस, प्रदेश नं १ र एनआरएन हालसम्म पदकविहिन अवस्थामा छन्।
राष्ट्रिय खेलकुदमा तीन सय ९२ स्वर्ण, तीन सय ९२ रजत र छ सय कास्य गरी एक हजार तीन सय ८४ पदकका लागि सात प्रदेश, तीन विभागीय टोली र एनआएरएनको टोलीबीच प्रतिस्पर्धा हुँदैछ।