नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत बिहीबारदेखि हक्की खेल सुरु गर्ने तालिका थियो। तर खेल्ने मैदान नै टुंगिएन। जसकारण खेल स्थगित भएको छ।
बिहीबार हुने खेलको मैदान बुधबारदेखि तयारी थालियो। आवश्यक व्यवस्थापन समयमा पूरा नभएपछि बिहान ७ बजे गर्ने भनिएको महिला हक्कीको खेल अनिश्चित भयो। आजै ९ बजे सुरु गर्ने भनिएको खेल खेलाडीले जर्सी नपाएर पुनः १ बजेसम्मका लागि स्थगित गरिएको छ। ‘अहिलेसम्म खेलाडीले जर्सी पाएका छैनन्।
जर्सी पाएपछि मात्रै खेलाडी मैदान जान्छन्,’ नेपाल हक्की एसोसिएसनका निर्देशक अशिम श्रेष्ठले भने, ‘खेलकुद निकै फितलो भइरहेको छ। व्यवस्थापन चुस्त छैन।
'हक्की मात्रै होइन, फेन्सिङ खेलको पनि उस्तै दुर्दशा भयो। सोमबारदेखि सुरु भएको फेन्सिङ खेल सामग्री समयमा नपाएकै कारण प्रभावित भयो। पोखरा रंगशाला परिसरभित्रको ब्याड्मिन्टन हलमा सोमबारबाट फेन्सिङको प्रतियोगिता अत्यन्तै अस्तव्यस्त रूपमा सुरु भयो।
बिहानै गर्ने भनिएको प्रतियोगिता खेलाउने ठाउँ नपाएर ढिलो गरी सन्चालन गरिएको थियो। ‘ब्याड्मिन्टनको हलमा प्रतियोगिता गर्न भनियो। न ब्यानर छ, न खेलाडीलाई सामग्री छ,’ फेन्सिङ संघका पदाधिकारीले भने, ‘मिनेटैपिच्छे बत्ती गयो। जेनेरेटर पनि छैन।’ शुक्रबारदेखि नवौं राष्ट्रिय खेलकुदको औपचारिक उद्घाटन हुँदै छ।
तर अधिकांश खेलकुदका लागि सामग्री पाएका छैनन्। खेलाडीले खेल्ने ठाउँ र जर्सीसमेत पाउन नसकेको गुनासो गरेका छन्।