एमालेकाे गलत प्रवृत्तिविरुद्ध झापाबाट विद्रोह गरेँ : हरि राना (अन्तर्वार्ता)

BreaknLinks
BreaknLinks

झापाको कम्युनिष्ट आन्दोलन र सामाजिक अभियानमा परिचित नाम हो, हरि राना। सानैदेखि राजनीतिप्रति लगाव राख्ने राना २०३७ सालबाट विद्यार्थी राजनीतिमा होमिएका थिए।

२०३९/०४० सालमा नेकपा मालेले गठन गरेको तीन सदस्यीय एजीमा उनी सेक्रेटरी भए। राजनीतिको सुरुवातदेखि नै राना नेतृत्व तहमा रहेर सक्रिय बने। ०४१/०४२ मा पीएजी गठन भएपश्चात बनेको पाँच सदस्यीय कमिटीमा दुर्गा अधिकारी, स्वर्गीय यादव सुवेदी, डम्बर बस्नेत, बिर्ख प्रधान र राना थिए। त्यस पीएजीको पनि उनी सेक्रेटरी भएर काम गरे। २०४३ सालमा प्रजातान्त्रिक राष्ट्रिय एकता मञ्चको सदस्य बनाएर पार्टीले उनलाई मोर्चामा पठाएको थियो।

प्रजातन्त्र आगमनपश्चात २०४८ सालमा राना नेकपा एमालेको जिल्ला कमिटी सदस्य बने। त्यसअघि उनी वडा सचिव भएर काम गरिरहेका थिए। २०४९ सालमा शनिश्चरेमा पार्टीले ११ सिटमध्ये अध्यक्ष र उपाध्यक्षसहित ३ सिट जितेको थियो। उनले गाविस अध्यक्षमा लिलक सिटौलालाई ५० मतले पराजित गरे।

फेरि २०५४ सालमा गाविस अध्यक्षका प्रतिद्वन्दी उनै लिलक सिटौलालाई १ हजार ८ सय १८ मतको फराकिलो अन्तरले रानाले पराजित गरेका थिए। रानाले पुनः ०५४ देखि ०५९ सम्म गाविस अध्यक्षको जिम्मेवारी निर्वाह गरे। यसरी उनी लगातार एक दशकसम्म शनिश्चरे गाविस अध्यक्ष भएर काम गरे। २०५४ सालमा एमाले विभाजन भयो। पार्टीले उनलाई मालेमा लागेको आरोप लगायो, उनी मालेतिर लागे।

२०५९ मा गाविस अध्यक्षको दोस्रो कार्यकाल सकेर करिब ५ वर्ष रानाले राजनीतिक जीवनबाट विश्राम लिए। राना पुनः २०६४ पछि सक्रिय राजनीतिमा फर्किए। २०६६/०६८ सम्म नेकपा एमालेको क्षेत्र नम्बर ४ को अध्यक्षको जिम्मेवारी सम्हाले। मुलुक संघीयतामा गएपश्चात अर्जुनधारा, शनिश्चरे र खुदुनाबारी गाविस मिलेर अर्जुनधारा नगरपालिका बन्यो। र, उनी नेकपा एमालेको तर्फबाट अर्जुनधारा नगरपालिकाको प्रमुखमा निर्वाचित भए।

त्यसैगरी ०७४ को चुनावमा उनी ४२ सय बढी मतान्तरले विजयी बने। लामो समय जनप्रतिनिधि भएर काम गरेका अनुभवी राना नेकपा एमालेबाट विद्रोह गरेर बाम लोकतान्त्रिक गठबन्धनको तर्फबाट झापा क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्यको उम्मेदवारका रुपमा चुनावी मैदानमा उत्रिएका छन्। प्रस्तुत छ उनै रानासंग गरिएको कुराकानीकाे सम्पादित अंश ः

लामो समय नेकपा एमालेको राजनीति गर्नुभयो। तर, किन निर्वाचनको मुखमा पार्टी छोड्नु भयो?

मेरो जीवनको उर्जाशील समय नेकपा एमालेको राजनीतिमा बित्यो। पार्टी संगठन विस्तारका लागि निरन्तर काम गरेँ। लामो समय जनप्रतिनिधि भएर पनि काम गरेँ। पछिल्लो समय विचारमा अनुबन्धित नेपाल कम्युनिष्ट पार्टी एमालेको वैचारिक आधार कमजोर बन्यो। राष्ट्रियताको सवालमा र जनजीविकाको सवालमा पनि पार्टीले यथेष्ट काम गर्न सकेन।

जनताको बहुदलीय जनवाद (जबज) मा चरम गुटगत प्रवृत्ति देखियो। झण्डै दुई तिहाई नजिक पुगेको कम्युनिष्ट पार्टीको सरकारले संविधानको रक्षा र संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास गर्नुको सट्टा संसद विघटन गरेर प्रतिगमन कदम चालेपछि लामो समय आबद्ध भएको पार्टीमा बस्नुभन्दा विद्रोह गरेर भएका परिवर्तनहरुलाई संस्थागत गर्ने कामको नेतृत्व झापाका सच्चा कम्युनिष्टहरुले गर्नुपर्छ भन्ने उद्देश्यले मैले एमाले छोडेको हुँ।

तपाईंले टिकट नपाएपछि पार्टी छोडेको भन्ने आरोप छ नि?

भेट हुँदाको खुसी, मरेपछिको माया र छुट्टिएपछिको झ्वाँक यो स्वाभाविक हो। अहिले मलाई यस्तै आरोप छ। तर, साथीहरुले यस्तो आरोप लगाए पनि आम मतदाताले यसलाई गलत सावित गर्नेछन्। आन्दोलन, बलिदानी र त्यागले नेपालमा राजनीतिक परिवर्तन भएको छ। अब त्यसलाई संस्थागत गर्दै मुलुकको समृद्धिको अभियानमा लाग्नु पर्ने छ।

लामो समय म आबद्ध भएको पार्टीले नारामा समृद्धिका कुरा गर्ने, काम नगर्ने, मान पदवी प्रतिष्ठा बहुमत र सत्ताका निमित्त जस्तोसुकै कदम चाल्ने, मार्क्सवादी दर्शनमा भए–नभएका कुरा गर्ने, आम जनताका समस्या नबुझ्ने, आफू निकट भए दुर्जन पनि सज्जन हुने, आफू निकट नभए सज्जन पनि दुर्जन हुने भएपछि मैले पार्टी छोडेको हो। मैले अवसर खोजेको होइन, विद्रोहले अवसर लिने ठाउँमा पुर्याएको हो। हरि रानालाई अवसरवादीका रुपमा नबुझ्न म आम नागरिकलाई आग्रह गर्दछु। मैले पद्धतिविरुद्ध झापाबाट विद्रोह बोलेको हुँ, जुन जीवन्त पार्टीका लागि आवश्यक हुन्छ।

तपाईं गठबन्धनका तर्फबाट साझा उम्मेदवारका रुपमा चुनावमा होमिनु भएको छ। चुनाव जित्ने आधार के हुन् ?

मैले चुनाव जित्ने आधारहरु निकै छन्। विगतमा साविक शनिश्चरे गाउँ विकास समितिको दुई पटक र अर्जुनधारा नगरपालिकाको एकपटक प्रमुख भएर काम गर्दा मैले पक्षपतापूर्ण काम गरिनँ। हरेक पार्टीका कार्यकर्ता र आम नागरिकलाई समान रुपले सेवा/सुविधा प्रवाह गरेँ। मलाई सबै नागरिकले माया गरेर अहिलेसम्म मत दिइरहेका छन्।

२०४९ सालमा पहिलो पटक शनिश्चरे गा.वि.स अध्यक्षमा चुनाव लड्दा मैले ५० मतको अन्तरले चुनाव जितेँ। २०५४ सालमा १८१८ मत अन्तर भयो भने २०७४ मा अर्जुनधारा नगरपालिका प्रमुखमा प्रतिष्पर्धा गर्दा ४२ सय बढी मत अन्तरले चुनाव जितेँ। यसले हरि रानाले गरेको कामको मूल्यांकनका आधारमा नागरिकले निरन्तर हरि रानालाई रुचाएका छन् भन्ने कुराको पुष्टि गर्छ।

हिजो नगरपालिकामा हुँदा मैले आम नागरिकका घर दलानमा पुगेर सेवा प्रदान गरेको छु। मैले अझ बढी नागरिकको सेवा गर्नको लागि झापाको क्षेत्र नं.२ बाट स्वतन्त्र रुपमा गठबन्धनको साझा उम्मेदवार बनेर चुनावी मैदानमा उत्रिएको छु। अहिले मुलरुपमा २ नं. निर्वाचन क्षेत्रमा अलग–अलग गठबन्धन बनेका छन्।

म परिवर्तन पक्षधर बाम लोकतान्त्रिक गठबन्धनको साझा उम्मेदवार बनेको छु। जित्ने बलियो आधार त्यो पनि हो। मेरो उम्मेदवारीसँगै यस क्षेत्रका मतदातामा उत्साह र उर्जा आएको छ। मलाई स्वतन्त्र नागरिकको पनि समर्थन छ। यी यावत कारणले मेरो जितको आधार दर्बिलो बनेको छ।

तपाईंको एजेण्डा के के छन्?

लामो समय स्थानीय तहको नेतृत्व गरेको कारण समृद्धिको कुरा बुझेको छु। यहाँको प्राकृतिक स्रोत जल, जमिन र जंगललाई कसरी परिचालन गर्नुपर्छ भन्ने कुराको राम्रो अनुभव मसँग छ। लामो समय राजनीतिक संक्रमण हुँदा र दरिलो सरकार बन्न नसक्दा आर्थिक समृद्धि हुन सकेको छैन।

हामीले प्राकृतिक स्रोतलाई सही ढंगले परिचालन गर्न सके आर्थिक समृद्धिका लागि कसैको मुख ताक्नु पर्दैन। नेपालको सबै पानी पिउन लायक छ। पानीको व्यवस्थापन गर्न स्वदेशी स्रोत (रेमिट्यान्स) को ५० प्रतिशत राष्ट्रिय गौरवको योजनामा लगानी गर्नुपर्छ र दीर्घकालीन योजना बनाएर त्यहाँ सेयर खुल्ला गर्नुपर्छ र लगानी गर्नेहरु विदेशबाट फर्किएर आएपछि त्यहीँ रोजगारी दिनुपर्छ।

प्रचुर सम्भावना भएको चुरे बर्षेनि भत्किएर बंगालको खाडीमा पुग्छ। चुरेलाई खानीमा परिणत गरेर ढुंगा, गिटी विदेश निर्यात गर्ने हो भने वैदेशिक अनुदानको मुख ताक्नु पर्दैन। हाम्रो जंगल विनाश हुँदै गएको छ। पर्यावरण जोगाउन सकिएन भने भावी पुस्ताले अक्सिजन नपाउन सक्छन्। जंगलको संरक्षणमा सबैले जुट्नु पर्छ।

नेपालको उर्वरभूमि बलौटेकरण भइरहेको छ। यसलाई समुचित ढंगले व्यवस्थापन गर्न सकिएन भने ५० वर्षपछि खेतीबारी होइन, सबै घरबारी हुनेछन्। जमिनमुनिको पानी सकिनेछ। यसो भएको कारण अब नीति निर्माणको तहमा पुग्नेहरुले यस्ता कुरामा विशेष ध्यान दिनुपर्छ। ठुला–ठुला कुरा गरेर नागरिकलाई झुटा आश्वासन मात्र बाँड्ने होइन। भएका प्राकृतिक स्रोतको उच्चतम् प्रयोग गर्दै आमनागरिकको जीवन परिवर्तन गर्ने मेरो संकल्प र एजेण्डा हो।

तपाईंको निर्वाचन क्षेत्रमा विकास निर्माणका कामलाई कसरी अगाडि बढाउनु हुन्छ ?

झापाका पाँच वटा निर्वाचन क्षेत्र मध्ये सबैभन्दा महत्वपूर्ण २ नम्बर निर्वाचन क्षेत्र हो। यस क्षेत्रमा पूर्वकै महत्वपूर्ण व्यापारिक सहर विर्तामोड, झापाको पुरानो बजार र धार्मिक स्थलका रुपमा परिचित अर्जुनधारा र कनकाई नगरपालिकाको केही भूगोल पर्छन्। यस निर्वाचन क्षेत्रका समस्यालाई मैले लामो समय जनप्रतिनिधि हुँदा नजिकबाट नियालेको छु। आज पनि फोहोरको सही व्यवस्थापन गर्न नसक्दा बिर्तामोड कुरुप बन्दै गएको छ।

निर्वाचन जितेपछिको मेरो पहिलो काम यस निर्वाचन क्षेत्रको फोहोरको समस्यालाई दीर्घकालीन रुपमा समाधान गर्ने योजना छ। बढ्दो शहरीकरणसँगै पार्किङ समस्या पेचिलो बन्दै गएको छ। यसलाई समाधान गर्ने र बिर्तामोडलगायतका मुख्य सहरमा आकाशे पुल निर्माण गर्ने, यस क्षेत्रको नदी कटानलाई नियन्त्रण गर्ने, यस क्षेत्रमा रहेका सुकुम्बासीहरुको समस्या समाधान गर्ने लगायतका थुप्रै योजनाहरु पूरा गर्नु पर्नेछ। त्यसका निमित्त म सदैव लागिपर्नेछु।

तपाईंले चुनावी प्रतिस्पर्धालाई कसरी लिनुभएको छ?

मैले चुनावी प्रतिस्पर्धालाई गहन रुपमा रुपमा लिएको छु। यद्यपि, हरि रानाले अहिलेसम्म चुनाव हारेको रेकर्ड छैन। यसपटक पनि मेरो जित सुनिश्चित छ। हिजो एउटा दलबाट चुनाव लड्दा पटक–पटक मतदाताको रोजाइमा परेको हरि राना अहिले तीनवटा प्रमुख दलको समर्थनमा साझा उम्मेदवारको रुपमा मैदानमा उत्रिएको छ। लामो समय म आबद्ध पार्टीले गरेको गलत निर्णयविरुद्ध झापाबाट विद्रोह गर्ने मैले जुन निर्णय गरेँ, त्यसले गर्दा पनि आम मतदाताको रोजाइमा परेको छु। चुनावी प्रतिपस्पर्धा स्वच्छ र स्वस्थ हुन्छ। परिणाम बाम लोकतान्त्रिक गठबन्धनको पक्षमा आउनेमा म ढुक्क छु।

प्रकाशित मिति: : 2022-10-22 19:15:00

प्रतिकृया दिनुहोस्