दियुशको हत्याबाट उर्लाबारी शोकमग्न, हत्यामा संलग्न आठैजना पक्राउ

BreaknLinks
BreaknLinks

मोरङको उर्लाबारी नगरपालिका–७ स्थित मावा खोलामा आयोजित छठ पर्व हेर्न आएका १४ वर्षीय किशोर दियुस श्रेष्ठको हत्या आरोपमा आठजना पक्राउ परेका छन् । उनीहरूलाई ईलाका प्रहरी कार्यालय उर्लाबारी र जिल्ला प्रहरी कार्यायल मोरङको टोलीले पक्राउ गरेको हो। 

पक्राउ पर्नेमा उर्लाबारी नगरपालिका–६ चन्द्रमा चौक बस्ने सरोज बस्नेत, सोही वडाको वानडाँडा सन्देश खवास, विकास तामाङ, पानी ट्याङकी बस्ने मन्जिल माझी, तरुण चौक सपन खत्री, प्रतिक बराइली, सरोज परियार र सनिस याक्खा रहेको ईलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरिक्षक मिलनजंग थापाले बताए।

घटनामा संलग्न ८ जना मध्ये ५ जनालाई ईलाका प्रहरी कार्यालय उर्लाबारी र जिल्ला प्रहरी कार्यालयको टोलीले दिउँसै पक्राउ गरेको थियो भने थप २ जनालाई साँझ र एक जनालाई धनकुटाबाट पक्राउ गरिएको जनाइएको छ ।

झापाको दमक नगरपालिका–१० नलबारी बस्ने १४ वर्षीय दियुस कामको सिलसिलामा उर्लाबारीमा बस्दै आएको खुलेको प्रहरीले जनाएको छ।

आइतबार राति अन्दाजी १०ः३० बजेको समयमा छठपर्वको रात्रिकालीन रमझम हेर्न गएका श्रेष्ठ र हत्यामा संलग्न किशोरहरूको समूहबीच जम्काभेट हुँदा उनीमाथि पुरानो रिसइवी साँध्न छुरा प्रहार गरी गम्भीर घाइते बनाएको प्रहरी अनुसन्धानले देखाएको छ ।

छुरा प्रहारबाट गम्भीर घाइते भई लडिरहेका श्रेष्ठलाई उनका अर्का साथी र स्थानीयको सहयोगमा उपचारका लागि उर्लाबारीस्थित गोदावरी अस्पतालमा भर्ना गरिएको थियो ।  त्यहाँ उपचार सम्भव नभएपछि झापाको बिएन्डसी अस्पतालमा भर्ना गरिएका उनको उपचारकै क्रममा सोमबार विहान करिव ४ः५० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले बताए।

हत्या गरिएका दियुस र हत्यामा संलग्नबीच विगतमा पनि झैझगडा हुने गरेको अनुसन्धानबाट खुलेको छ।

पुरानो रिसिइबीकै कारण दियुसको हत्या भएको प्रहरीले जनाएको छ। पक्राउ परेकाविरुद्ध कर्तव्य ज्यान मुद्दा चलाउने प्रहरीको तयारी छ। दियुशको निधनबाट गाउँ नै शोकमा डुबेको छ। आफन्त र छिमेकीहरूको घरमा भीड लागेको छ।

प्रकाशित मिति: : 2022-10-31 22:21:00

प्रतिकृया दिनुहोस्