लोप हुदै गइरहेकाे प्राचिनकाल प्रतिस्पर्धात्मक खेल कुस्तीमा रुपन्देहीको रोहिणी गाउँपालिकाले संरक्षणमा चासो दिएको छ। कुस्ती खेलको संरक्षण, खेलकुद क्षेत्रको विकास, स्थानीय पहलमानहरु उत्पादन गरी युवाहरुलाई प्रोत्साहन गर्नका लागि गाउँपालिकाले प्रतियोगिता आयोजना गरेको गाउँपालिका अध्यक्ष विद्या प्रसाद यादवले बताए।
रोहिणी–३ स्थित रामनरेश माविको खेल मैदानमा भएको २ दिने प्रतियोगितामा भारत दिल्लीका विनोद पहलमान प्रथम स्थान ल्याई १ लाख १ हजार १ सय ११ नगद पुरस्कारबाट पुरस्कृत भए।
भारतकै पठानकोटका बब्बी पहलमानलाई पराजित गरेका थिए। त्यस्तै भारत गोरखपुरका जितेन्द्र पहलमानले दोस्रामा चित्त बुझाए। उनले भारत हरियाणाका भीम पहलमानलाई पराजित गर्दै ५० हजार ५ सय ५५ रुपैया नगद पुरस्कार जित्न सफल भए।
प्रतियोगितामा भारतकै हरियाणाका मुन्ना पहलवान तेस्रो भएका छन्। मुन्नाले हरियाणाकै गोपी पहलमानलाई हराएका थिए। प्रतियोगितामा भारत पनियराका गुड्डु पहलमानले सान्त्वना स्थान हासिल गरेका थिए। प्रतियोगितामा तेस्रोलाई २५ हजार २ सय २५ रुपैयाँ र सान्त्वना हुनेलाई रु. १५ हजार १ सय २५ रुपैयाँ प्रदान गरिएको गाउँपालिकाका प्रवक्ता वीर बहादुर क्षेत्रीले बताए। त्यस्तै निर्णायकको निर्णयअनुसार पहलमानहरुलाई प्रोत्साहनवापत साइकल र टेलिभिजन प्रदान गरिएको क्षेत्रीले जानकारी दिए।
तराई–मधेशमा लोकप्रिय कुस्तीको संरक्षण र युवाहरुलाई प्रोत्साहन गर्ने उद्देश्यले गाउँपालिकाबाट पाँच लाख बजेट विनियोजन गरी प्रतियोगिता आयोजना गरिएको अध्यक्ष यादवले जानकारी दिए। कुस्ती प्रतियोगितामार्फत स्थानीय पहलमानहरु उत्पादन गर्ने उद्देश्य समेत रहेको उनले बताए। आगामी दिनमा पनि कुस्ती प्रतियोगितालाई निरन्तरता दिने उनको भनाइ छ। दुई दिनसम्म सञ्चालन भएको प्रतियोगितामा नेपाल र भारतका विभिन्न स्थानका पहलमानहरुको सहभागिता रहेको गाउँपालिकाका योजना शाखा प्रमुख राजकुमार मिश्रले जानकारी दिए।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्री प्रसाद गौतमले गाउँपालिकाले कुस्तीसहित अन्य खेलको संरक्षणका लागि बजेट बिनियोजन गरेको बताए। उनले आगामी दिनमा पनि कुस्ती लगायत अन्य खेलकुद प्रतियोगिता सञ्चालन गरिने बताए। उनले भने, ‘खेलकुद क्षेत्रको विकासका लागि गाउँपालिका अघि बढेको छ।’