‘आवेगमा गरिएका निर्णयहरु आत्मघाती हुन सक्छन्’

BreaknLinks
BreaknLinks

तिहारको दुई दिन पछाडिको कुरा हो, हाम्रो घरमा नेदरल्याण्डका एक सरल र साहित्यप्रेमी हरि पौडेल दाजु हल्याण्डबाट आउनुभयो। उहाँले आफ्नो अपमान र चोट सुनाउन एक सञ्चारकर्मी खोज्दै मसँग आउनुभएको रहेछ। घर आइसकेपछि उहाँलाई एनआरएनए नेदरल्याण्डले प्रमुख संरक्षकबाट बर्खास्त गरेको रहेछ भन्ने थाहा भयाे। त्यो कुरा उहाँको मुखबाट सुन्दा दुख लाग्यो र जिज्ञासा राखेँ, 'के त्यस्तो अपराध गर्नुभयो र तपाईंलाई त्यो सर्वाेच्च संवैधानिक पदबाट बर्खास्त गरियो?'

उहाँमा एक प्रकारको ठुलै पीडाबोध रहेछ। केही गमेझैँ गर्दै भन्नुभयो, 'भाइ मलाई त्यो प्रमुख संरक्षक पदमा जान मन नै थिएन। साथीहरुले मेरो मन्जुरी नलिइ उक्त पदमा राख्नुभएछ। मैले आफ्ना केही रिजर्भेशनहरु भएकोले त्यसमा समझदारी नभई म त्यो पदमा बस्दिनँ भनेको मात्र नभई १३ मे मा इमेलमार्फत जानकारी गराएको हुँ। उनीहरुले ती शर्तहरु स्वीकार गरेको जानकारी गराएकाले 'साथीहरुले आग्रह गर्दछन् भने ठिकै छ' भन्ने लागेको थियो। तर एक्कासी २४ सेप्टेम्बर २०२२ मा मलाई प्रमुख संरक्षकबाट बर्खास्त गरेको कुरा सामाजिक सञ्जालमार्फत थाहा पाएँ। यो अत्यन्त दुर्भाग्यपूर्ण कुरा भयो।' उहाँको कुरा र कारण सुनेर यो पंतिकार अचम्मित भयो।

हो, मानिसको आफ्नो व्यक्तिगत स्वाभिमान र सामाजिक क्यारियर हुन्छ। साथीहरुले पनि सामाजिक वा कानुनी रुपमा कसैको पनि आत्मस्वाभिमानलाई ध्वस्त बनाउने नियतले यस्तो हर्कत गर्न हुँदैनथ्यो। सबै संगठनभित्र अनुशासनका आ-आफ्ना वैधानिक नियमहरु होलान्, कसैलाई निकाल्नु वा थप्नु परे त्यसको संवैधानिक बाटो होला। कसैले गल्ती नै गरेपनि त्यसलाई बिना स्पष्टीकरण, बिना निलम्बन एकै पटक बर्खास्ती गरिने, त्यो विधि त एनआरएनए जस्तो प्रजातान्त्रिक पद्दतिलाई आत्मसात गर्ने संगठनमा नहुनु पर्ने हो। दुश्मनलाई पनि स्पष्टीकरण सोधिने हाम्रो परम्परा र संस्कार हो।

अर्को कुरा, जसले उहाँलाई बर्खास्त गर्ने प्रस्ताव लग्नुभयो, उहाँका आफ्नै अविभावक पनि होलान्। नभए अलिक परका त पक्कै होलान्। ती अविभावकहरुको मर्यादा र स्वाभिमानमा यसैगरी बन्चरो चलाउँदा कतै त्यो नजिरले भविष्यमा उहाँलाई पनि नाङ्गेझार पार्ने त हैन? त्यो सम्भव छ, किनकि हरि पौडेल नेदरल्याण्डका एक बयोवृद्ध अविभावक सरह हुनुहुन्छ।

उहाँको प्रक्रिया नमिलेको बर्खास्तीले कसैले किन र कसरी आनन्द लिए होलान्, अचम्म लाग्छ। ठिकै छ, स्पष्टीकरण सोधेर निलम्बन गरिसकेपछि उहाँले आँफै पो राजीनामा दिनुहुन्थ्यो कि! विकल्प थिए नि अरु पनि, तर एक बयोवृद्धमाथि छापामार शैलीमा पदच्युत गर्दा एक पटक त सोच्नुपर्ने थियो नि मित्रहरुले! अब चौबाटोमा भेट हुँदा वा कुनै कारणबस उहाँको सहयोग माग्दा ती बयोवृद्धका सात्विक आँखासंग आँखा जुधाएर कसरी कुरा गर्ने?

सोध्न मन लाग्छ, नारायण जी अनि त्यहाँका स्थानीय अन्य मित्रहरुलाई। के हरि दाइमाथि त्यो प्रकारको निर्ममता न्यायसंगत थियो त? उहाँको असन्तुष्टि त खाली माथिका साथीहरुले खेलेका खेल, लुछाचुँडीसंग थियो। त्यो उहाँको मात्र असन्तुष्टि थिएन। उहाँले सबै भुइँ एनआरएनहरुको प्रतिनिधित्व गरेर असन्तुष्टिहरुको प्रतिनिधित्व गर्नुभएको थियो।

हरि पौडेलले मे १३, २०२२ मा नेदरल्याण्डको कार्य समितिले प्रदान गरेको संरक्षकको पद सशर्त स्वीकार गरेको मेल मैले पनि हेरेँ। त्यो मेलमा उहाँले आफ्नै भाषामा केन्द्रमा ३ वटा अध्यक्ष भएको एनआरएनएको जम्बो टीमलाई आफ्नो समर्थन नरहने कुरा स्पष्ट रुपमा उल्लेख गर्नुभएको रहेछ। उहाँले उक्त मेल परिषदको कार्य समितिका महासचिवको nl.generalsecretary@nrna.org इमेलमा पठाएको कुरा उहाँकै इमेल रेकर्डमा भेटियो। उहाँका शर्तहरुलाई कार्य समितिको बैठकले अनुमोदन गरेको कुरा पनि उहाँसंगको भेटपश्चात अवगत भयो।

हो नि ! स्वाभिमानी मान्छेले आफ्नो रिजर्ब मत मित्रहरुसंग राख्नु अपराध हो र? यदि हो भने उहाँलाई पदमा राख्ने हुन्नथ्यो। पदमा हुनुभन्दा अगाडिदेखि नै उहाँको फरक मत रहेछ। नियुक्तिको बेला उहाँले समितिलाई पठाएको इमेलले त्यसको पुष्टि गर्छ।

स्थानीय रुपमा संस्थागत एकता कायम गर्दै उदाहरणीय कार्य गर्न सबैसँग हातेमालो गर्नुको सट्टा एनआरएनएभित्र गुटबन्दी हुँदै आएको कुरा हरि दाइले मात्रै हैन, नेन्दरल्याण्डबासी गैरआवासीय नेपालीसहित सबैतिरबाट आइरहेको छ। यिनै कारणले अघिल्लो पटक एनआरएनए नै एक हिसाबले विभाजन भएकै हो र यस्तै तरिकाले यो अवस्था अझै रोकिनेवाला पनि देखिँदैन। यसरी एकपछि अर्को विवादास्पद निर्णयहरु नियोजित ढंगले गर्दै जाँदा डायस्पोराको नेपाली समाज अझै विवादमा रुमलिने निश्चित छ।

मलाई लाग्छ, एक सात्विक अविभावक हरि दाइमाथिको यो आक्रमणले एनआरएनए-नेदरल्याण्डको गरिमा पनि निश्चित रुपमा पूर्ववत रहने छैन। सबैको आत्मस्वाभिमान बराबर हुन्छ र त्यसमा चोट लाग्दा दीर्घकालीन चोट पुग्दछ। मानिसको वैयक्तिक स्वतन्त्रतामा यस्ता कुराले आँच पुर्याउने मात्र नभएर संगठनले गरेका आन्तरिक कारवाही सबै सार्वजनिक सञ्जालमा राख्ने नजिरले संगठनमा पनि अराजकताको स्थिति पैदा गर्दछ। सार्वजनिक अपराध बिना फरक मत राखेकै भरमा कसैले पनि कसैको मानहानी गर्नु हुँदैन।

कार्य समितिले आदरणीय अग्रज दाजुसमक्ष बेलैमा क्षमा याचना गर्दै यस्ता विवादहरुलाई विवेकशीलता पूर्वक नसच्याएको खण्डमा एनआरएनए-नेदरल्याण्डको गरिमालाई अझ क्षति पुर्याउने छ र भविष्यमा समाज गुट-उपगुटमा टुक्राटुक्रा भएर गलत नजिरको लागि त्यो घाउ सधैँभरी उदाहरण बनिरहने छ। आवेगमा गरिएका निर्णयहरु सच्याउन र आफू सच्चिन सिकौँ। चेतना भया !

प्रकाशित मिति: : 2022-11-05 12:35:00

प्रतिकृया दिनुहोस्