आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनको तयारीका क्रममा रुकुम पूर्वको भूमे गाउँपालिकामा नमुना मतदान गरिएको छ।
उक्त मतदानमा आँकलनभन्दा बढी मत बदर भएको निर्वाचन आयोगले जनाएको छ।
भूमे गाउँपालिकाको कार्यालय प्राङ्गणमा आयोजित नमुना मतदानमा २१ मत खसेकोमा ४ मत बदर भएको छ।
जिल्ला निर्वाचन कार्यालय, रुकुम पूर्वको पहलमा भएको नमुना मतदानमा गाउँपालिकाका प्रमुख होम प्रकाश श्रेष्ठ, प्रशासन प्रमुख चन्द्रसिंह श्रेष्ठ, पालिकाका कर्मचारी, सुरक्षा निकायलगायत सर्वसाधारणहरु पनि सहभागी भएका थिए।
गाउँपालिकाका प्रमुख श्रेष्ठले नमुना मतदानको अभ्यासलाई निरन्तरता दिन सकेमा आसन्न निर्वाचनमा बदर मत संख्या घट्ने बताए।
निर्वाचन कार्यालयका निमित्त प्रमुख तेजकुमार वलीले निर्वाचनमा बदर मत घटाउने र मतदातालाई शिक्षा दिने उद्देश्यले नमुना मतदान गरिएको बताए। उनले निर्वाचनमा मतदान गर्ने तरिकालगायतका विषयमा प्रकाश पारेका थिए।