साडियो मानेले चोट बोक्दै मैदान छाडेको खेलमा बायर्न म्युनिखले वेर्डर ब्रेमनालाई ६-१ अन्तरले पराजित गरेको छ।
मंगलबार रातिको जितसँगै बायर्नले शीर्षस्थानमा चार अंकको अग्रता बनाएको छ। १४ खेल खेलेको बायर्नको ३१ अंक छ। दोस्रो स्थानको फ्रेइबर्गको १३ खेलबाट २७ अंक छ।
बायर्नको जितमा सर्जी जिनाब्रीले ह्याट्रिक गरे। यसैगरि, जमल मुस्लाला, लिओन गोरेट्जा, माथिस टलले एक एक गोल गरे। पराजित वेर्डरको लागि एन्थोनी जङले एक गोल गरे।
खेलको २०औं मिनेटमा मानेले घुँडाको चोट बोकेपछि मैदान छाडेका थिए । उनको स्थानमा लेरोय साने मैदान प्रवेश गरेका थिए।
माने सम्मिलित सेनेगलले १३ दिनपछि विश्वकपमा पहिलो खेल नेदरल्यान्डस्विरुद्ध खेल्दैछ। मानेको चोटसँगै सेनेगल दवावमा स्वतः पर्ने देखिन्छ।
माने दुई पटक अफ्रिकन फुटबल वर्ष खेलाडी बनिसकेका छन्। मानेको उत्कृष्ट प्रदर्शनमा सेनेगलले इजिप्टलाई पराजित गर्दै पहिलो पटक अफ्रिका कपको उपाधि जितेको थियो।