प्यारालाइसिस भएका दीपेन्द्रको आग्रह : रेखा थापालाई जिताइदिनुस् 

वैदेशिक रोजगारीका क्रममा मलेसिया गरेका दीपेन्द्र मगर (नाम परिवर्तन) ३ वर्षअघि आफ्नो एक हात र एक खुट्टा गुमाएर घर फर्किए। युवा जोस र कमाउने हुटहुटी बोकेका उनी नेपालमा रोजगारी पाउने वातावरण कहिल्यै नभएकाले विदेश जानुपरेको बताउँछन्।

विदेशी भूमिमा काम गर्दा गर्दै उनी सामान्य बिरामी भएका थिए। कोभिड भएको हो कि भन्ने आशङ्का गरियो तर उनलाई बिस्तारै पक्षाघातले थला बसायो। परिवारको सहारा बन्न विदेश गएका हुनी आफैँ अरूको सहारामा जिउनुपर्ने अवस्थामा पुगे।

बुधबार घरदैलो कार्यक्रम बेलबारी एक पुगेकी राप्रपाकी उम्मेदवार रेखा थापा दीपेन्द्रको विषयमा थाहा पाउने बित्तिकै उनको घरमा पुगिन्। दीपेन्द्रसँग दोहोरो संवाद गरिन्। दीपेन्द्रले आफू मलेसियामा हुँदा थापाले विभिन्न व्यक्तिलाई सहयोग गरेको, अलपत्र परेका शव स्वदेश फर्काउन मदत गरेको स्मरण गरे। दीपेन्द्रसँगको संवाद पछि त्यहाँ उपस्थित भीडतर्फ हेर्दै रेखाले भनिन्, ‘मैले किन मेरा दाजुभाइ विदेश जान रोक्नुपर्छ भनिरहेको छु बुझ्नुभयो नि ? यही अवस्था नहोस् भनेर म मैदानमा  लड्न आएको छु। विभिन्न देशमा कार्यक्रमहरू हुँदा त्यस ठाउँमा नेपाली दाजुभाइहरूको अवस्था देखेको छु। स्वदेशमा रोजगारीको अवसर सिर्जन नगराउने, रेमिटेन्सले देश धान्ने, भएका कलकारखाना बन्द गर्ने अनि आयातमुखी नीति बनाउने पुरानो नेतृत्वदेखि दिक्दार भएर अति भयो भनेर आएकी हुँ। मलाई के कमी थियो र ? खान लाउन देश विदेश डुल्न पुगेकै छ। घर जमिन गाडी जोड्न बाँकी छैन। अझ यो जीवनमा कसैले मेटाउन नसक्ने गरेर इज्जतसहित नाम बनाएको छु। राजनीतिमा आएर मलाई भएको नाम बदनाम गराउन छैन। जनताले मलाई दिने माया दिइसक्नु भयो अब उहाँहरूलाई मैले लडेर खोसेर दिन सक्ने सबै कुरा दिन आएको छु। म त्यो गरेर देखाउँछु।’

उनले थपिन, ‘त्यसो त नेपालको जनसङ्ख्याको करिब एक तिहाइ जनसङ्ख्या बाहिर छ। स्वदेशमा रोजगारी मात्रै हाेइन व्यवसाय गर्ने किसिमको नीतिसमेत छैन। कुनै वस्तु बनाउने कच्चा पदार्थ आयात गरेर स्वदसमै कारखाना खोल्ने र तयारी बस्तु बनाउने किसिमको वातावरण समेत छैन। किनकि कच्चा पदार्थमा कर अत्याधिक बढाएर महँगो पारिएको छ। तयारी बस्तु आयात हुन्छ। त्यी आयातकर्ता नातावाद र कृपावादभित्र पर्ने व्यक्ति छन्। अनि कलकारखाना नभएपछि नेपाली युवाहरू कहाँ जान्छन् ? यसकोविरुद्धमा लड्न आज देश भर युवाहरूले विद्रोह गरेका छन्। अबको निर्वाचन पहिलेको जस्तो निर्वाचन मात्रै हाेइन। युवा पुस्ता कि पुरानै नेतृत्व भन्ने जनमत सङ्ग्रह पनि हो।’

दीपेन्द्रले पनि पुराना दलहरूसँग गुनासो पोखेका छन्। दलहरूले देश बेच्ने किसिमका राष्ट्रघाती सम्झौता गरेको। युवा पुस्तालाई विदेशीन बाध्य बनाएको भन्ने आरोप दीपेन्द्रको थियो। उनले भने ‘काँग्रेस कम्युनिस्टले के गरे ? साँच्चै विकास गर्न चाहने हो भने विकासको गति यही हो ? म त पशुपतिनाथसँग प्रार्थना गर्छु रेखा दिदीले जित्नुहोस्। विदेशमा हुँदा क्याम्पमा बसेका युवाहरूलाई कति सहयोग गर्नुभएको छ। उहाँले यो क्षेत्रको लागि काम गर्न सक्नुहुन्छ। म त सबैले मतदान गरेर जिताउनु भन्छु।’

उनले थपे, ‘हात खुट्टा नहुँदा त झनै गरीब हुने रहेछ। हुँदा त केही न केही गरेर खाँदै थिए। म जत्तिको अवस्थामा पुगेकालाई हेर्न नसक्ने राजनीति गर्नुपर्दैन भयो अब नयाँ पुस्तालाई पालो दिऔँ। म सक्ने हुँदा रेमिटेन्सबाटले देश पाले। मैले नसक्दा देशले मलाई पाल्दैन रहेछ।’

दीपेन्द्रको अवस्था देखेर रेखा थापाले चुनावपछि व्यक्तिगत रूपमा सहयोग गर्ने बताउँदै भनिन्,‘अहिले नै गर्नु भने पनि म सक्छु तर ऐले चुनावमा मत किनेको जस्तो गर्नु छैन। त्यसरी मत किन्न आउनेको विरुद्धमा छु अनि मैले पनि त्यही गर्ने त  मेरै नैतिकताले दिँदैन।’

प्रकाशित मिति: : 2022-11-10 09:40:00

प्रतिकृया दिनुहोस्