काठमाडाैँकाे बूढानीलकण्ठ नगरपालिकाले आयोजना गरेको दोस्रो ‘बूढानीलकण्ठ मेयर कप फुटसल’काे उपाधि रेभिन्स क्लबले जितेको छ।
शनिबार बूढानीलकण्ठस्थित पासिकोटमा आयोजना भएको प्रतियोगितमा रेभिन्स क्लबले शिवपुरी नवजागृति क्लबलाई ३-२ ले पराजित गरेको हो।
उक्त प्रतियोगितमा ३२ टिमको सहभागिता रहेकाे थियो। खेल दुई दिनसम्म चलेको थियो।
सेमिफाइनलमा रेभिन्स क्लबले दीप मण्डला क्लबलाई ४-१ ले र शिवपुरी नवजागृति क्लबले बिएम युवा क्लबलाई ४- १ ले पराजित गरेर फाइनल पुगेका थिए।
सो प्रतियोगितामा साथ दिन बूढानीलकण्ठका मेयर मिठाराम अधिकारी, उपमेयर अनिता लामा, वडा अध्ययक्ष तथा नगरपालिका जनप्रतिनिधिहरुको उपस्थिति थियो। यस प्रकारको खेल सधैँ र सबैमा आवश्यक रहेको मेयर अधिकारीले बताए।
यस प्रकारको खेल अब निरन्तर हुने र बूढानीलकण्ठका खेलाडीलाई अन्तर्राष्ट्रियस्तरमा पुर्याउने अधिकारीको भनाइ छ। यस्तो प्रकारको खेलको आयोजना हुँदा खेलप्रति मोह भएका व्यक्तिलाई मनोबल दिने उनी बताउँछन्। सो नगरपालिकाले कोरोना महामारीको अघि आफ्नाे प्रथम मेयर कपको आयोजना गरेको थियो। प्रथम मेयर कपको उपाधि शिवपुरी नवजागृति क्लबले जित्न सफल भएको थियो।
उपमेयर लामाले यस्ताे प्रतियोगिता अब हरेक वर्ष हुने बताइन्। ‘यस्तो खालको प्रतियोगिता आयोजना गर्दा खेलाडीको खेलप्रतिको मोह कहिले कमी हुन र आगामी वर्ष फुटसलबाहेक अन्य अरु खेलकुदको आयोजना गर्नेछाैँ,’ उपमेयर लामाले भनिन्।
प्रतियोगिताकाे प्रथम विजेतालाई नगद रु. ६० हजार ६ सय ६० रुपैयाँ र मेडेल तथा मायाको चिनो प्रदान गरिएको थियो भने उपविजेतालाई ३० हजार ३० सय ३० रुपैयाँ र मेडेल तथा मायाको चिनो प्रदान गरिएको छ।
प्रतियाेगिताकाे म्यान अफ द म्याच रेभिन्स क्लबका कबिर तामाङ बने भने उत्कृष्ट गोलरक्षक सोही क्लबका गोलकिपर सन्जीव तामाङ बने। उनीहरु दुवैले मेडेल, मायाको चिनोसहित नगद ५-५ हजार हात पारे।
नगरपालिकाले आयोजना गरेको सो प्रतियोगिताको व्यवस्थापन भने शिवपुरी नवजागृति क्लब गरेकाे थियाे।