अञ्जन विष्टको गोलमा पाकिस्तानविरुद्ध नेपाल विजयी

अन्तराष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा नेपालले पाकिस्तानलाई पराजित गरेको छ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा नेपालले पाकिस्तानलाई १–० गोअन्तरले पराजित गर्दै विजयी भएको हो।

यस जितसँगै नेपालले दशरथ रङ्गशालामा ५०औँ खेल पूरा गर्‍यो। यसअघि दशरथ रङ्गशालामा सन् १९८४ मा आयोजना भएको पहिलो दक्षिण एसियाली खेलकुद प्रतियोगितामा नेपालले औपचारिक खेल खेलको थियो।

नेपालको जितमा अन्जन विष्ट नायक बने। उनले खेलको ८२औँ मिनेटमा गरेको एक गोल नै नेपालको लागि निर्णायक गोल सावित भयो। सुनिल बलको पासलाई सदुपयोग गर्दै अन्जनले गोल गरेका थिए।

पाकिस्तान विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) को निलम्बन फुकुवा भएपछि पहिलो अन्तर्राष्ट्रिय खेल खेल्न नेपाल आएको हो।

नेपालले पछिल्लो पटक पाकिस्तानसँग सन् २०१८ मा खेलेको थियो। बङ्गलादेशको ढाकामा भएको साफ च्याम्पियनसिपमा नेपाल पाकिस्तानसँग २–१ गोलअन्तरले पराजित भएको थियो।

प्रकाशित मिति: : 2022-11-16 19:00:00

प्रतिकृया दिनुहोस्