पुष्पलालका सहयात्री हर्षको देहान्त !

कमल प्रभात

काठमाडौं
BreaknLinks
BreaknLinks

नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठका सहयात्री हर्ष स्याङ्बोको निधन भएको छ। स्याङ्बोको बुधबार कागेश्वरी मनोहरास्थित सुकुम्बासी वस्तीमा ९६ वर्षको उमेरमा निधन भएको हो।

नेपालमा कम्युनिस्ट आन्दाेलनकाे सुरुवातीदेखि नै उनले याेगदाग पुर्‍याउँदै आएका थिए। सिन्धुपाल्चाेकमा जन्मिएर धादिङ हुँदै २००६ मा काठमाडाैँ प्रवेश गरेका उनले ठमेल क्षेत्रमा बसेर पुष्पलाल श्रेष्ठकाे सहयात्रीकाे रुपमा काम गर्दै आएका थिए। कम्युनिस्ट पार्टी स्थापनाकाे मान्यूटमा उनकाे नाम समावेश नरहे पनि पार्टी स्थापनामा उनकाे महत्पूर्ण याेगदान गरेकाे पुष्पलाल प्रतिष्ठानका पदाधिकारी बताउँछन्।

उनले काठमाडाैँबाट तनहुँकाे बन्दिपुर पुगेर शिक्षण पेसा अपनाएका थिए। साेही स्थानमा रहेर उनले पश्चिम नेपालमा कम्युनिस्टकाे गढ बनाउनकाे लागि महत्वपूर्ण याेगदान गरेकाे नागरिक अगुवा डा.मथुराप्रसाद श्रेष्ठ बताउँछन्।

‘काठमाडौँमा आएर उहाँ धर्मराज थापाको घर ठमेलमा बस्नुभयो, हामी पनि त्यहाँ पार्टीको बारेमा सिक्न जान्थ्यौँ। त्यहाँबाट उहाँ शिक्षक बनेर बन्दीपुर जानुभयो,’ उनले भने,‘उहाँले गोरखा, पोखरा, बागलुङ, मुस्ताङ, मनाङ, धादिङमा समेत रहेर पार्टीको कामहरु गर्नुभयो। उहाँले नै पश्चिमञ्चल क्षेत्रमा पार्टीको गढ बनाएको हो।’

लामाे समय गण्डक क्षेत्रमा रहेर भूमिगत रुपमा कम्युनिस्ट विस्तारकाे लागि काम गरेर उनी काठमाडाैँ आएर व्यापारमा लागेकाे श्रेष्ठ बताउँछन्। ‘०१७ सालपछि उहाँलाई पराराष्ट्र मन्त्री सैलेन्द्रकुमार उपाध्यायले व्यापारमा सामामेल गराउनुभयो। तर, व्यापार डुब्यो, जोडेको सबै सम्पत्ति लिलामी भयो,’ श्रेष्ठले बिएल नेपाली सेवासँग भने।

लामाे समयकाे कम्युनिस्ट आन्दाेलनमा सक्रियतासँगै व्यापारमा लागेका उनले साहित्य क्षेत्रमा पनि अतुलनीय याेगदान गरेका छन्। उनले नेपालीसहित तामाङ भाषामा पनि कृति सार्वजनिक गरेका छन्।

‘मैले उहाँलाई साहित्यिक कार्यक्रमा भेटिएकी हुँ। त्यतिबेला उहाँको कविता वाचन गरेकी थिएँ। उहाँ कम्युनिस्ट आन्दोलनसँगै लेखनमा सक्रिय रहनुभएको थियो,’ बूढानीलकण्ठ नगरपालिकाकी उपमेयर अनिता लामा बताउँछिन्।

उनकाअनुसार स्याङ्रबाेका आधा दर्जन बढी कृति प्रकशित छन्। उनले जीवनभर लेखनमा लामाे समय बिताएका छन्। उनले तयार गरेका अधिकांश पाण्डुलिपी आगालागीमा जलेकाे लामा बताउँछिन्।

लुकिलुकी राजनीति, लुकिलुकी पिरती

स्याङ्बाे धादिङबाट काठमाडाैँ आएपछि ठमेलस्थित धर्मराज थापकाे घरमा बस्थे। त्यहीबाट उनकाे कम्युनिस्ट आन्दाेलन लगाव बढेकाे थियाे। त्यहाँ रहँदा उनी पुष्पलालसँगै अध्ययन र छलफलमा सहभागी भइरहे। त्यतिबेलै उनकाे जर्नेलकी छाेरी विद्या राणासँग प्रेम परेकाे थियाे। त्यही प्रेम विवाहमा परिणत गर्न लागि उनले लामाे समय भूमिगत जीवन बिताउनु परेकाे नागरिक अगुवा डा. मथुरा श्रेष्ठ बताउँछन्।

‘उहाँ ठमेलमा बस्दा विद्या राणासँग प्रेम रहिछ। राणा पावरफूल जर्नेलकी छोरी थिइन। राणाको विवाह अन्तै गर्ने कुरा भयाे। बन्दिपुरमा रहनुभएका उहाँ पुष्पलालकी बहिनीकाे सम्पर्कमा काठमाडाैँ आउनुभयाे। पुष्पलालीकी बहिनीले नै उहाँहरुकाे लुकाएर बिहे गर्दिनुभएकाे हाे,’ उनी भन्छन्,‘उहाँलाई राणाले त्यतिबेला भेटेकाे भए सिंधै मार्थे। त्यतिबेला इन्द्रचाेकका सबै घरमा खानतलासी भएकाे थियाे। उहाँहरु (स्याङ्बाे दम्पती) बन्दिपुरतिर जानु भयाे।’

उनले बिहे गरेर मनाङ, मुस्ताङ, पाेखरा, बागलुङ र गाेरखाका विभिन्न ठाउँमा बसेर भूमिगत राजनीति गरेका थिए। त्यसपछि काठमाडाैँ आएर व्यापारमा लागेकाे श्रेष्ठ बताउँछन्।

पुष्पाललकाे निधनपछि उनकाे नाममा प्रतिष्ठान खाेल्न स्याङ्बाेले ठुलाे भूमिका खेले। उनी संस्थापक रहेर पुष्पलाल प्रतिष्ठानकाे स्थापना भएकाे थियाे।

‘उहाँले आफ्नो जीवनमा कुनै पनि तल/बितल नगरी कम्युनिष्ट आन्दोलनको मूल्य मान्यता र आदर्शको लागि ठुलो योगदानमा भयाे। उहाँ पुष्पालाल स्मृतिको संस्थापक हो। पुष्पालाल स्मृति स्थापान हुँदा उहाँ अत्यन्त सुखी हुनु भएको थियो,’ नेकपा एमालेका नवनिर्वाचित सांसद तथा पूर्व मन्त्री कृष्णगाेपाल श्रेष्ठले भने।

स्याङ्बाेले लामाे समय पुष्पालाल प्रतिष्ठानमा बसेर काम पनि गरेका थिए।

सुकुम्बासी वस्तीमा बास

स्याङ्बाे ठेक्का पट्टाकाे काम गर्दा गर्दै ठुलाे आर्थिक संकटमा परे। व्यापारमा डुबेर सबै सम्पत्ति लिलामी भएपछि उनी २०६६ सालतिर कागेश्वरी मनाेहरास्थित सुकुम्बासी वस्तीमा पुगेका थिए। त्यहाँ उनकी छाेरी कमला तामाङले रेखदेख गर्थिन्। कमल स्याङ्बाेकी धर्म छाेरी हुन्।

‘सुकुम्बासी बस्तीमा रहँदा उहाँकाे शारिरिक अवस्था कमजाेर बन्दै गएकाे थियाे। मैले बेला–बेलामा उहाँकाेमा गएर स्वास्थ्य उपचारकाे लागि पहल गर्थे,’ उपमेयर लामाले भनिन्।

अधुरै रह्याे स्नेहकाे सपना

कवि स्नेह सायमिले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रमुख अथिति बनाएर स्याङ्बाेकाे याेगदानलाई कदर गर्दै सम्मान गर्ने याेजना बनाइरहेका थिए। तर, त्याे याेजना भने सफल हुन सकेन। चुनावअघि ओली व्यस्त रहेकाे र चुनावपछि कार्यक्रम गर्ने याेजना थियाे तर चुनावी चटाराे नसकिँदै स्याङ्बाेले अन्तिम सास फेरे।

‘हामीले उहाँ जीवित रहँदै सम्मान गर्न सकेनाैँ,’ स्याङ्बाेलाई श्रदाञ्जली अर्पण गर्दै कवि सायमिले भने,‘तर, अब हामीले जीवनभर उहाँकाे सम्मानकाे लागि काम गर्नेछाैँ।’ सायमिले स्याङ्बाेका अप्रकाशित कृति प्रकाशसन गरिने बताए।

जीवनभर कम्युनिस्ट आन्दाेलनमा सक्रिय रहेका उनलाई राज्य र पार्टीले सम्मान गर्न नसकेकाे र अवस्था कमजाेर भएर सुकुम्बासी वस्तीमा पुग्दा समेत कसैले वास्ता नगरेर भन्दै उपमेयर लामा आक्राेशित भइन्। ‘उहाँ एउटा कान्तिकारी बुबा हुनुहुन्थ्याे। उहाँले जीवनमा धेरै दुख पाउनुभयाे तर पनि सकैप्रति गुनासाे गर्नु भएन। उहाँले जीवनभर कम्युनिस्ट आन्दाेलनमै समर्पित हुने र कम्युनिस्ट भएर मर्ने बताउनुहुन्थ्याे तर पार्टीले सम्मान गरेन।’

स्याङ्बाे जीवित रहँदै केपी शर्मा ओलीलाई प्रमुख अतिथि बनाएर सम्मान गर्ने नसके पनि निधनपछि पनि अन्तरहृदयदेखि सम्मान गर्ने र उनले चाहेअनुसारकाे समाज बनाउन अन्तिमसम्म प्रयास गर्ने सांसद कृष्णगाेपाल श्रेष्ठले बताए।

भिडियाे:

प्रकाशित मिति: : 2022-11-24 17:12:00

प्रतिकृया दिनुहोस्