अन्तरविद्यालय क्रिकेटः लुम्बिनी शिक्षा निकेतन र साइग्लोबल विजयी  

रुपन्देही सदरमुकाम भैरहवामा जारी स्वर्गीय शेरबहादुर सेन्चुरी मेमोरियल अन्तरविद्यालय स्तरीय टी–२० क्रिकेट प्रतियोगितअन्तर्गत बुधबारको खेलमा लुम्बिनी शिक्षा निकेतन, मायादेवी र साइग्लोबल स्कूल, भैरहवा विजयी भएका छन्।

लुम्बिनीले न्यू होराइजन इङ्गलिस बोर्डिङ स्कूल, बुटवललाई ७१ रन र साइग्लोबलले होराइजन जीबीएस स्कूल, बुटवललाई १ विकेटले पराजित गरेको हो। सिद्धार्थ रंगशालामा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको लुम्बिनीले निर्धारित खेलमा ३ विकेटको क्षतिमा १ सय ४० रनको योगफल बनायो। जसमा एजाजुल हकले ६१, संदिप बानियाँले २४ र विन्दराम यादवले १४ रन जोडे। बलिङमा न्यू होराइजनका कमरन खाँनले १ विकेट लिए।

प्रतिउत्तरमा न्यु होराइजन १४.४ ओभरमा अलआउट हुँदै ६९ रनमै समेटियो। उसका लागि राहुल भण्डारीले २१ र रितेश ज्ञवालीले १४ रन बनाए पनि अन्य ब्याट्सम्यानले दोहोरो अंक बटुल्न सकेनन्। उसलाई सस्तैमा रोक्न बलिङमा लुम्बिनीका अब्दुल हविवले ३ तथा सविर आलम, अमन यादव र अब्दुल नदिम शेखले समान २–२ विकेट लिए। लुम्बिनीका एजाजुल हक म्यान अफ द म्याच भइ पाँच सय रुपैयाँबाट पुरस्कृत भए।

दोस्रो खेलमा होराइजन जीवीएसबाट जितका लागि पाएको ९२ रनको लक्ष्य साइग्लोबलले १५.३ ओभरमा ९ विकेटको क्षतिमा ९३ रन बनाउँदै पूरा गर्‍यो। उसको जितमा श्यामु पासवानले ४१ र मैत्रुवा रहमानले १३  रनको योगदान दिए। बलिङमा होराइजन जीवीएसका कुशल पौडेल र सुदन कँडेलले ३–३ तथा निखिल पराजुलीले २ विकेट लिए।

यसअघि टस जितेर ब्याटिङ गरेको होराइजन जीवीएसले निर्धारित खेलमा ८ विकेटको नोक्सानीमा ९२ रनको सामान्य योगफल बनाएको थियो। उसका लागि सुभम खनालले १३ र रोहन गिरीले नटआउट १२ रन बनाए पनि अन्य ब्याट्सम्यानले दोहोरो अंक बटुल्न सकेनन्। बलिङमा साइग्लोबलका ओसामा शेख र श्यामु पासवानले समान ३–३ तथा विकास बरई र गुल्जार खाँनले १–१ विकेट लिए। खेलमा साइग्लोबलका श्यामु पासवान म्यान अफ द म्याच भई पाँच सय रुपैयाँ प्राप्त गरे।

रुपन्देही क्रिकेट संघको आयोजनामा जारी प्रतियोगिताको बिजेता टिमले नगद ३० र उपबिजेताले १५ हजार रुपैयाँ र ट्रफी प्राप्त गर्नेछन्। यस्तै, म्यान अफ द सिरिजलाई ५ हजार, उत्कृष्ट बलर र ब्याट्सम्यानलाई दुई हजार ५ सय, प्रत्येक खेलको म्यान अफ द म्याचलाई ५ सय रुपैयाँ प्रदान गरिने छ।

प्रतियोगिताको अन्तिममा अनुशासित खेल प्रदर्शन गर्ने एक टिमलाई पनि पुरस्कृत गरिने छ। निजी र संस्थागत गरी १३ विद्यालय सहभागी प्रतियोगिता मंसिर २४ गतेसम्म संचालन हुनेछ। प्रतियोगिताको मुख्य प्रायोजकमा पर्वत ज्वेलर्स, भैरहवा छ।

प्रकाशित मिति: : 2022-12-07 21:19:00

प्रतिकृया दिनुहोस्