संकटालाई दोश्रो पटक आहा राराको उपाधि

फाइल तस्बिर
फाइल तस्बिर

आहा रारा गोल्डकपको २२ औं संस्करणको उपाधि संकटा क्वलले जितेको छ। 

शनिबार पोखरा रंगशालामा भएको फाइनलमा भुटनिज क्लव अमेरिकालाई ३–२ गोल अन्तरले पराजीत गरि संकटाले आहा राराको उपाधि दोश्रो पटक उचालेको हो। 

खेलको सातौं मिनेटमा सुरजज्यू ठकुरीको गोलबाट अग्रता लिएको संकटालाई ३४औं मिनेटमा मेसुके ओलामाउले गोल गर्दै अग्रतालाई दोब्बर बनाए।

३७औं मिनेटमा रेने स्यान्टिलनले भुटनिजका लागि गोल गर्दै २–१ को अन्तरमा झारे।

पहिलो हाफको अन्तिम समयमा भुटनिजका विलिस ग्रिफिटले गोल गरे । दोश्रो हाफमा कुनैपनि टीमबाट गोल हुन सकेन। 

गोल गर्ने धेरै अवसर पाएपनि दुवैले गुमाए। निर्धारित समय २–२ को बराबरीमा रोकिएपछि खेल अतिरिक्त समयमा पुगेको थियो।

अतिरिक्त समयको २६औं मिनेटमा संकटाका क्याप्टेन सुनिल बलले गोल गर्दै टीमका लागि जित दिलाए। 

योसँगै आहारारामा संकटाले दोस्रो पटक उपाधि जितेको हो। यसअघि २०७७ को उपाधि पनि संकटाले जितेको थियो। 

संकटा हालसम्म २ पटक मात्रै फाइनल पुगेको छ भने दुवै पटक उपाधि जितेको छ। दुवै पटक विदेशी टीमलाई हराएको संकटाले २०७७ मा अफ्रिकन रुट्सलाई ट्राइब्रेकरमा पराजित गरेको थियो।

उपाधिसँगै संकटाले १२ लाख नगद प्राप्त गरेको छ भने भुटनिज टीमले ६ लाख पायो। यो वर्ष उपाधिमा २ ला र दोश्रो हुनेलाई १ लाख पुरस्कार थप गरिएको हो।

संकटाले यो टुर्नामेण्टमा उत्कृष्ट प्रशिक्षक, खेलाडी, गोल रक्षक, फरवार्ड, मिड फिल्डर पनि जितेको छ। 

संकटाका कप्तानसमेत रहेका सुनिल बल उत्कृष्ट खेलाडी घोषित भएका छन्। त्यस्तै, संकटाकै आयुष घलान उत्कृष्ट मिडफिल्डर तथा टीकेन्द्र थापा उत्कृष्ट गोल रक्षक र स्टेफन बिनोङ उत्कृष्ट फरवार्ड बने। 

संकटाकै सल्यान खड्की उत्कृष्ट प्रशिक्षक घोषित हुँदा फ्लेयर प्ले धरान फुटबल क्बल र उत्कृष्ट डिफेन्डरको उपाधि भुटनिजका हेक्टर ओर्टेगाले पाएका छन्।

आहा रारा पोखरा गोल्डकप मोफसलकै प्रतिष्ठित टुर्नामेण्टका रुपमा स्थापित छ। 

प्रकाशित मिति: : 2023-01-07 21:11:00

प्रतिकृया दिनुहोस्