टि– २० म्याच फिक्सिङ प्रकरण: क्यानले अनुसन्धानकाे लागि राखेपलाई डकुमेन्ट बुझायाे

नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल टि- २० लिगमा ‘म्याच फिक्सिङ’ भएकाे आशंकापछि राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले माग गरे अनुसार सम्पूर्ण कागजपत्र बुझाएकाे छ।

राखेपले २४ घण्टाभित्र आवश्यक सबै कागजपत्र उपलब्ध गराउन भन्दै क्यानलाई पत्र पठाएकाे थियाे। साेही अनुसार क्यानले राखेपलाई आइतबार सम्पूर्ण कागजपत्र बुझाएकाे राखेप कार्यदल समितिका संयाेजक एकेन्द्र कुँवरले बिएल नेपाली सेवालाई जानकारी दिए।

‘हामीले क्यानलाई यस सम्बन्धित कागजपत्र बुझाउन २४ घण्टे समय दिएका थियाैँ। हामीले मागेको सम्पूर्ण कागजपत्र क्यानले आइतबार नै बुझाएको छ,’ संयाेजक कुँवरले भने। क्यानले आइतबार सबै कागजपत्रहरु बुझाएपछि राखेपले मंगलबारबाट अनुसन्धान सुरु गरेकाे छ। अनुसन्धानकाे निष्कर्ष एक/दुई दिनमै सार्वजनिक हुने गरी काम भइरहेकाे कुँवरले जानकारी दिए।

अनुसन्धानलाई सहयाेग गर्ने गरी राखेपले मागेजति सबै कागजपत्रहरु उपलब्ध गराएकाे क्यानका कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लले बताएका छन्। कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा जारी लिगमा म्याच फिक्सिङ भएकाे भन्दै कमेन्टेटर र खेलाडीहरुले आराेप लगाएका छन्।

उनीहरुकाे आराेपछि राखेप, नेपाल प्रहरीकाे केन्द्रीय अनुसन्धान व्युराे (सिआइबी) र अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) गरी तीन निकायले अनुसन्धान गरिरहेका छन्। इतिहासमा पहिलाे पटक नेपालमा म्याच फिक्सिङकाे आशंका भएपछि अनुसन्धान गर्न नेपाल आएकाे आइसीसीकाे टाेलीले म्याच फिक्सिङबारे यथेष्ट प्रमाण नभेटिएपछि स्वदेश फिर्ता भएकाे क्यानकाे दाबी छ।

यता क्यानले म्याच फिक्सिङ नभएकाे दाबी गर्दै म्याच फिक्सिङबारे प्रमाण जुटाउन चुनाैति दिएकाे छ। अनुसन्धान गरिरहेका तीनै वटा निकायले पनि अहिलेसम्म म्याच फिक्सिङकाे प्रमाण नभेटिएकाे बताउँदै आएका छन्।

प्रकाशित मिति: : 2023-01-10 16:41:00

प्रतिकृया दिनुहोस्