जारी प्रधानमन्त्री कप महिला टी–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल एपीएफ क्लब लगातार दोस्रो जित निकाल्दा मधेस प्रदेशले पहिलो जित हात पारेको छ।
इटहरी स्थित जनता क्रिकेट पार्कमा जारी प्रतियोगितामा लगातार दोस्रो जित निकाल्ने क्रममा एपीएफले आज बागमती प्रदेशमाथि ५३ रनको जित निकालेको हो। यो जित सँगै एपीएफ एक खेल अगावै सेमिफाइनल प्रवेश गरेको छ।
एपीएफले दिएको १ सय ३७ रनको लक्ष्य पछ्याएको बागमती २० ओभरमा ९ विकेट गुमाएर ८३ रनमा समेटियो।
बागमतीका लागि ओपनर हेलिशा गुरुङले सर्वाधिक २२ रन बनाउँदा सोनी पाख्रिनले १३ रन बनाइन्।
यस्तै कन्चन श्रेष्ठले ११ तथा कप्तान अस्मिना कर्माचार्यले १० रन जोडिन्। एपीएफका लागि निशा भट्टले ३ तथा कप्तान सिता राना मगरले ३ विकेट लिइन्।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको एपीएफले २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ३६ रन बनाएको थियो। पहिलो विकेटका लागि ज्योति पाण्डे तथा कप्तान सिताराना मगरले ५४ रनको साझेदारी गरेका थिए।
प्लेयर अफ द म्याच समेत बनेकी कप्तान राना मगरले २९ बलमा ३६ रन बनाउँदा पाण्डेले १५ रन बनाइन्। इन्दु बर्माले २७ बलमा ३८ रन बनाउँदा नेरि थापा १९ रनमा अविजित रहिन्।
बागमतीका लागि अस्मिना कर्माचार्य, मनीषा उपाध्याय, खुसी डङ्गोल र सोनी पाख्रिनले समान १÷१ विकेट लिए। दोस्रो खेलमा दोस्रो जित हात पारेको एपीएफ ४ अङ्कका साथ समूह ‘ए’ को शीर्ष स्थानमा उक्लिएको छ।
यसअघि एपीएफले आफ्नो पहिलो खेलमा हिजो गण्डकी प्रदेशलाई पराजित गरेको थियो। दुई खेलमा लगातार हार ब्यहोरेको बागमती प्रदेश अङ्कविहीन रहँदै समूह ‘ए’ को अन्तिममा रहेको छ। सुदूरपश्चिम दोस्रो स्थानमा रहँदा गण्डकी तेस्रो स्थानमा छ।
आजै सम्पन्न दोस्रो खेलमा मधेस प्रदेशले पहिलो जित निकालेको छ। पहिलो जित निकाल्ने क्रममा मदेसले कर्णाली प्रदेशमाथि ८ विकेटको जित निकालेको हो। प्रतियोगितामा कर्णालीको यो लगातार दोस्रो हार हो।
यसअघि पहिलो खेलमा हिजो शनिवार लुम्बिनी प्रदेशसँग कर्णालीले ९८ रनको हार ब्योहोरेको थियो।
आज भएको दोस्रो खेलमा कर्णालीले दिएको ८० रनको लक्ष्य मदेसले १०.२ बलमा २ विकेट गुमाएर पूरा गर्यो।
मधेसको जितमा ओपनर अनुराधा चौधरीले ३५ बलमा अविजित ३८ रन बनाइन्। प्रतिमा शाहले अविजित १८ रन जोडिन्।
पहिलो खेलमा लुम्बिनीलाई ४७ अतिरिक्त रन दिएको कर्णालीले आज मधेस प्रदेशलाई २२ रन अतिरिक्तमा दिएको थियो।
कर्णालीका लागि बिना थापाले २ विकेट लिइन्।
इटहरी स्थित जनता क्रिकेट पार्कमा त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको कर्णालीले २० ओभरमा ६ विकेट गुमाएर ७९ रन बनाएको थियो।
सुखद सुरुवात गरेको कर्णालीले २३ रनमा पहिलो विकेट गुमाएको थियो। त्यसपछि बाकी ५ विकेट गुमाएर कर्णालीले ५६ रन मात्र जोड्न सक्दा लगातार दोस्रो हार ब्योहोर्नु पर्यो। कर्णालीका लागि तिर्सना विश्वकर्माले १५ रन बनाइन्।
अन्जु गुरुङले अविजित १३ रन बनाउँदा किरन कुँवर १३ रनमा आउट भइन्। कर्णालीका अन्य ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन्। मधेस प्रदेशका लागि भूमि सिंहले ४ तथा अमिरान निशाले २ विकेट लिए।
दोस्रो खेलमा पहिलो जित हात पारेको मधेस २ अङ्कका साथ समूह ‘बी’ को तेस्रो स्थानमा रहेको छ। उक्त समूहमा लुम्बिनी शीर्ष स्थानमा रहँदा प्रदेश एक दोस्रो स्थानमा छ। कर्णाली प्रदेश दुई खेल खेल्दै अङ्कविहीन रहँदै पुछारमा रहेको छ।
प्रतियोगिता अन्तर्गत भोलि सोमबार हुने पहिलो खेलमा प्रदेश नम्बर एक र लुम्बिनी बिच प्रतिस्पर्धा हुँदा दोस्रो खेलमा गण्डकी र सुदूरपश्चिम प्रदेश बिच प्रतिस्पर्धा हुनेछ।