टिम च्याम्पियन सोतोकान कराते टोलीलाई राखेप सदस्यसचिव घिसिङले दिए बधाई

File photo
File photo

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले ३१औं खुला अन्तर्राष्ट्रिय सोतो कप कराते प्रतियोगितामा टिम च्याम्पियन बन्न सफल नेपाली कराते टोलीलाई शुक्रबार बधाई दिएका छन्।

त्रिपुरेश्वरस्थित राखेपको बैठक कक्षमा आयोजित कार्यक्रममा सदस्यसचिव घिसिङले टोलीलाई सफलताका लागि बधाई दिएका हुन्।

भारतको कोलकातामा पुस २३ देखि २४ गतेसम्म भएको प्रतियोगितामा नेपाल २१ स्वर्ण, १२ रजत र ७ कास्यसहित टिम च्याम्पियन बन्न सफल भएको नेपाल सोतोकान कराते संघका प्रमुख प्रशिक्षक समेत रहेका महासचिव श्याम शेर्पाले जानकारी दिए।

प्रतियोगितामा नेपालसहित भारत, बंगलादेश र भुटान गरी ४ राष्ट्रका करिब ७ सय खेलाडी सहभागी थिए। महासचिव शेर्पाका अनुसार बंगलादेश दोस्रो तथा भारत तेस्रो भए।

सफल महर्जन, अभिषेक थिङ तामाङ, प्रदीप राई, विप्लव खड्का, प्रशान्त घले, अभिषेक तामाङ, अतित विक, आयुश लामा, रन्जित तामाङ, सुरज सुवेदी, अनिश पौडेल, निश्चल गोले, राजवीर चौधरी, सम्योक सेन्चुरी, सन्जिव तामाङ, नैना मानन्धर, सन्जना भुजेल, प्रवीका मानन्धर, समृद्धि थापा, श्रेया तामाङ र एन्जेला डंगोलले नेपाललाई स्वर्ण दिलाए।

अदिप लिम्बू, रोचक महर्जन, निश्चल सुनुवार, मविन बुढा मगर, मनोज घलान, कृतिश मानन्धर, सुमित धिमाल, आयुशा महर्जन, निर्भाना महर्जन, विभा पौडेल, आयुष्मा विष्ट र रोजिना योञ्जनले रजत जिते। प्रतियोगितामा नेपालबाट ५७ खेलाडीले विभिन्न स्पर्धामा प्रतिस्पर्धा गरेका थिए।

प्रकाशित मिति: : 2023-01-20 18:03:00

प्रतिकृया दिनुहोस्