सर्वोच्चकाे फैसलाको पूर्णपाठ नआउँदासम्म प्रधानमन्त्रीले गृहमन्त्रीबारे निर्णय नगर्ने

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दाको सर्वोच्च अदालतबाट फैसलाको पूर्णपाठ नआएसम्म गृह मन्त्रालयबारे निर्णय नगर्ने भएका छन्।

पार्टी कार्यालय पेरिसडाँडामा मंगलबार बसेको माओवादी पदाधिकारी बैठकमा प्रधानमन्त्री प्रचण्डले यस्ताे बताएका हुन्।

उपाध्यक्ष कृष्णबहादुर महराले बैठकमा प्रधानमन्त्री प्रचण्डले सर्वोच्चको फैसालको पूर्णपाठ नआएसम्म गृह मन्त्रालय आफैंले राख्ने बताएको जानकारी दिए।

‘अदालतबाट फैसलाको पूर्णपाठ आउन बाँकी छ। पूर्णपाठ नआउँदासम्म गृह मन्त्रालयबारे थप निर्णय हुँदैन, प्रधानमन्त्रीसँगै रहन्छ’, उपाध्यक्ष महराले भने।

गत शुक्रबार सर्वाेच्च अदालतको संवैधानिक इजलासले रवि लामिछानेको नागरिकता अवैधानिक रहेको ठहर गर्दै उनलाई सांसद र उपप्रधान तथा गृहमन्त्रीबाट पदमुक्त गरेको थियो। आइतबार पुन: नेपाली नागरिकता लिएका लामिछानेलाई गृहमन्त्री बनाउनुपर्ने प्रधानमन्त्री प्रचण्डमाथि दबाब बढिरहेकाे छ।

तर, माओवादी पदाधिकारी बैठकमा प्रचण्डले फैसलाको पूर्णपाठ नआउँदासम्म गृहमन्त्री कसैलाई पनि नबनाउने स्पष्ट पारेका हुन्। बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डलाई तत्काल कसैलाई गृहमन्त्री नबनाउन नेताहरुले सुझाव पनि दिएका छन्। 

प्रकाशित मिति: : 2023-01-31 15:20:00

प्रतिकृया दिनुहोस्