मन्त्रालयमै अड्कियाे राष्ट्रिय क्रिकेट टाेलीकाे प्रशिक्षक नियुक्ति प्रक्रिया

मैदानमा प्रशिक्षक, मन्त्रालयमा फाइल

नेपाल क्रिकेट संघ (क्यान)मा विगत दुई वर्षको अवधिमा चार प्रशिक्षक फेरिए। उनीहरु चार जनाकाे कार्यकाल सुखद बन्न सकेन, उनीहरुले अनेकाैँ बहाना बनाएर बीचमै राजीनामा दिए। जाे आउँछन्, बीचमै छाडेर जान्छन्, यही प्रवृत्तिले आक्रान्त क्यानले लामाे समयदेखि राष्ट्रिय क्रिकेट टाेलीमा प्रशिक्षक नियुक्ति गर्न सकेकाे छैन।

गत मसिंर २८ गते तत्कालीन प्रशिक्षक मनोज प्रभाकारले राजीनमा दिएपछि अहिले नेपाली राष्ट्रिय क्रिकेटमा नयाँ प्रशिक्षककाे नियुक्ति भएकाे छैन। राष्ट्रिय टाेलीमा नयाँ प्रशिक्षक भित्र्याउने कसरतमा रहेकाे क्यानले भारतका मोन्टी देसाईकाे नियुक्तिकाे लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप)मा पठाएकाे पत्र अहिलेसम्म स्वीकृत भएकाे छैन।

यता, नेपालले आगामाी फागुन २ देखि ७ गतेसम्म त्रिदेशीय प्रतियोगिता आयोजना गर्दैछ। घरेलु मैदानमा हुने यस प्रतियोगिताका लागि क्यानले २८ खेलाडीलाई बन्द प्रशिक्षणमा समावेश गरिसकेकाे छ। क्यानको बैठकलले नियुक्त गरेका प्रशिक्षक देसाईले औपचारिक रुपमा नियुक्त हुनुअघि प्रशिक्षण दिन थालिसकेका छन्।

आवेदन दिएका प्रशिक्षकहरुमध्ये क्यानले प्रमुख पाँच जनालाई छनोट सूचीमा राखेकाे थियाे, जसमध्ये देसाईलाई औपचारिक पत्र पठाएर नियुक्ति प्रक्रिया अगाडि बढाएकाे छ।

लामाे समयदेखि प्रशिक्षक नियुक्ति गर्न नसक्दा अहिले क्यान नेतृत्वमाथि नै अनेकाैँ गलत टिकाटिप्पणी भइरहेका छन्। दुई वर्षमा चार प्रशिक्षक फेरिएको क्रिकेट टोलीमा कतै नयाँ नियुक्त भएका प्रशिक्षक पनि बिचमै राजीनामा दिएर जाने त हाेइनन ? याे ठुलाे आशंकाकाे विषय बनेकाे छ।

माघ ९ मै राखेपमा क्यानकाे पत्र

त्रिदेशीय लिग नजिकिएसँगै माघ ९ मै प्रशिक्षक नियुक्तिकाे लागि क्यानले औपचारिक बैठक डाँकेकाे थियाे। पाँच जना मुख्य प्रशिक्षकमध्ये क्यानको बोर्ड बैठकले भारतका मोन्टी देसाईलाई नियुक्त गर्ने निर्णय गर्‍याे।

क्यानले देसाईलाई नियुक्त गर्ने निर्णय गरेसँगै गत माघ ९ मै प्रशिक्षक नियुक्तको लागि राखेपलाई पत्र लेखेकाे थियाे।

‘९ गतेकाे बैठकमै भारतका माेन्टी देसाईलाई प्रशिक्षकमा नियुक्ति गर्ने निर्णय गरेकाे हाे। निर्णय हुने बित्तिक्कै राखेपालाई आवश्यक सबै कागजातहरु बुझाएका थियाैँ। तर, राखेपले अहिलेसम्म स्वीकृत नदिँदा औपचारिक नियुक्ति राकिएकाे छ,’ क्यानका महाप्रबन्धक वृतान्त खनालले बिएल नेपाली सेवासँग भने।

राखेपले पठाएका कागजात मन्त्रालयमा

प्रशिक्षक नियुक्ति प्रक्रियाकाे लागि क्यानले पठाएका कागजात राखेपले खेलकुद मन्त्रालयमा पठाए पनि अहिलेसम्म प्रक्रिया अगाडि बढ्न सकेकाे छैन।

मन्त्रालयमा पुगेका सबै कागजात अध्ययन गरेर मन्त्रिपरिषद्काे बैठकबाट लैजानुपर्ने हुन्छ। तर, अहिले युवा तथा खेलकुद मन्त्रालय विभागीय मन्त्रीविहीन रहेकाेले स्वत: प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्हालेका छन्।

प्रशिक्षक नियुक्ति प्रक्रियाकाे लागि खेलकुद मन्त्रालयमा सचिवस्तरीय टाेलीले कागजात अध्ययन गरिरहेकाे मन्त्रालयले जनाएकाे छ। प्रक्रिया छिट्टै पूरा गरेर मन्त्रिपरिषद् बैठकमा लैजाने वा खेलकुद मन्त्रालयकाे जिम्मेवारी सम्हालेका प्रधानमन्त्री प्रचण्डले नियुक्ति गर्ने टुङ्गाे नलागेकाे मन्त्रालय स्राेतले जनाएकाे छ।

‘क्रिकेट टाेलीमा प्रशिक्षक नियुक्तिकाे लागि अहिले डकुमेन्ट जाँच गर्ने काम भइरहेकाे छ। नियुक्ति प्रक्रिया क्याविनेटमा पुगेपछि काम पूरा हाेला। क्यानले रिफासिस गरेका व्यक्ति विदेशी हुन्, त्यसैले उनी नेपालमा रहने गरी थप कानुनी प्रक्रियाहरु पनि पूरा गर्नुपर्ने भएकाेले समय लागेकाे हाे,’ मन्त्रालय स्राेतले भन्याे।

प्रकाशित मिति: : 2023-02-06 13:33:00

प्रतिकृया दिनुहोस्