यातायत अवरद्ध भएपछि घर फर्किन गाडी चढेका यात्रु एकैछिन अलमलमा परे। यातायात मजदुरले फागुन १ गते काठमाडौंको बालाजु, माछापोखरी, गोंगबुलगायत क्षेत्रमा विभिन्न माग राख्दै गाडी सडकमा तेर्साएका थिए।
एकाएक महोल तातै जाँदा यस क्षेत्र तनावग्रस्त बन्यो। प्रहरीका गाडी जले, प्रहरीका टाउँको फुटे, प्रहरीले पनि आन्दोलनकारीलाई लठ्ठी प्रहार गर्न थाल्यो। यतिकैमा भीड जम्मा हुन पुग्यो। गोगंबुको लोत्से मलमा तोडफोड भयो। तीन वटा मोबाइल पसलमा लुटपाल भयो। त्यही भीडमा गाडीमा बसेका यात्रुसमेत मिसिए। मोबाइल तथा अन्य सामान चोरी गर्न भ्याए। केही छिन अघिका यात्रु एकाएक मौका पाएपछि लुटेरा बने।
जिल्ला प्रहरी परिसर काठमाडौँले तत्कालै ४ जनलाई पक्राउ गर्न सफल भयो। दैलेख भगवती गाउँपालिका वडा नम्बर ३ का तारकेश्वर बस्ने वर्ष २४ की चिरन रेग्मी, काठमाडौं महानगरपालिका वडा नम्बर २६ सामाखुसी बस्ने वर्ष ३५ को नवीन खड्गी, रुपन्देही खैरेनी नगरपालिका– ५ स्थायी घर भई काठमाडौँ वडा २६ बस्ने सुजन खत्री र झापा शिवसताक्षी नगरपालिका वडा ४ घर भई हाल काठमाडौं वडा नम्बर १५ स्वयम्भु बस्ने प्रदीप बस्नेत रहेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौं, काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय, वृत्त महाजगञ्जको प्रहरी टोलीले घटनाको अनुसन्धान गरिरहेको छ। तीन वटै टोलीले अहिलेसम्म ४० जना भन्दा बढीलाई पक्राउ गरेको छ। जिल्ला अदालतबाट चोरी तथा डाँका मुद्दा र आपराधिक उपद्रव गर्न नहुने कसुरमा म्याद थप गरेर अनुसन्धान गरिरहेको छ।
यसरी पक्राउ पर्नेमा यात्रु मात्र होइन अब विभिन्न पेशा तथा वर्गका मानिस मुछिएको प्रहरीको अनुसन्धानमा देखिएको छ। सहचालक, मजदुर, यात्रु, अभियनता, विद्यार्थी र विभिन्न होटल तथा रेष्टुराँका कामदार लगायतलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ। चोरी गरेको मोबाइल कसैले बिक्री गरेको त कसैले उपहारसमेत दिएको अनुसन्धानमा देखिएको छ।
अर्जुन चालिसेले सञ्चालन गरेको एसीडीसी मोबाइल प्रा.लि., डायमन्ड मोबाइल प्रा.लि. र गजेन्द्र न्यौपानेले सञ्चालन गरेको काठमाडौं सुपर मार्केट प्रा.लि.मा तोडफोड गरी मोबाइल, चार्जर, रिचार्ज, एयरफोनलगायत सामग्री लुटपाट गरेका थिए। व्यवसायीको अनुसार ८ करोड रुपैयाँको मोबाइल तथा सामान चोरी भएको छ। प्रहरीले यसको स्वतन्त्र रुपमा पुष्टिसमेत गरिरहेको छ।
पछिल्लो समय प्रहरीले कृष्ण श्रीवास्तव नाम परेका युवालाई पक्राउ गरेको छ। उनी सामाजिक अभियन्तासमेत बताउँदै आएका थिए। घटना भएको दिनभर उनी बसपार्क क्षेत्रमा देखिन्छन। सुरुमा उनले आन्दोलनकारी र प्रहरी दुबैलाई संयम हुन अनुरोध गरेका थिए। आन्दोलनकारीलाई पनि गाडीमा तोडफोड नगर्न तथा ढुङ्गा मुढा नगर्ने अनुरोध गरेका थिए। त्यसपछि उनी आफैं लुटपाटमा संलग्न भएको देखिएको छ। उनले लगाएको पोशाक, हेलमेट लगायतको सहयातले उनलाई प्रहरीले पक्राउ गरेको हो। सामाजिक सञ्जालमा उनको लुट्नुभन्दा अगाडीको भूमिका र पछाडिको भूमिकाको भिडियोसमेत भाइरल भएको छ।
लुटपाटमा संलग्नलाई मुलुकी अपराधसंहिता (ऐन), २०७४ परिच्छेद २० चोरी तथा डाँकासम्बन्धी कसुरमा काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान गर्नाका साथै आगजानी तथा तोडफोड गर्नेलाई मुलुकी अपराधसंहिता (ऐन)को परिच्छेद २६ को दफा दुई सय ८५ बमोजिम आपराधिक उपद्रव गर्न नहुने कसुरमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता सिताराम रिजालले बताए।