साकेलामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

File photo
File photo

साकेला गाउँपालिकामा पालिकास्तरीय पाँचौ अन्तरमाध्यमिक विद्यालय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ।

त्रिहत्तरौैँ प्रजातन्त्र दिवसका अवसरमा आयोजना गरिएको उक्त प्रतियोगिता वडा नं ४ मात्तिमस्थित नौलाखर्क खेलमैदानमा सुरु भएको हो।

गाउँपालिकाका अध्यक्ष रविप्रकाश राईले प्रतियोगिता  शुभारम्भ गर्दै  आफ्नो क्षेत्रभित्र विकासका आयोजनालाई समयभित्रै सक्न र गुणस्तरीय बनाउन पटक–पटक खबरदारी गरिरहेको बताए। 'खेलकुद क्षेत्रलाई व्यावसायिकरूपमा अघि बढाउन गाउँपालिकाले यस प्रतियोगितालगायत विभिन्न कार्यक्रम गर्दै आएको छ', उनले भने 'छनोट भएका खेलाडीलाई जिल्लास्तरमा हुने खेलमा सहभागी हुन पठाइने छ।

प्रतियोगितामा विभिन्न छवटा विधाका ५४ पदकका लागि विद्यार्थीले प्रतिस्पर्धा गर्ने भएका छन्। प्रतियोगितामा भलिबल, हाईजम्प,  लङजम्प, सटफुट, रिले दौड १०० मिटर, २०० मिटर, ४०० मिटर र ८०० मिटरलगायत  प्रतियोगितामा  छात्रछात्रा छात्र तथा छात्राको सहभागिता भएको  जनाइएको थियो।

प्रतियोगितामा १८ वटा इभेन्टमा स्वर्ण, रजत र कास्य पदकका लागि प्रतिस्पर्धा हुने र सबै विद्यामा विजेता विद्यालयलाई रनिङ शिल्ड दिइने भएको छ। प्रतियोगिता सञ्चालन गर्न सङ्घीय खेलकुद मन्त्रालयले रु एक लाख उपलब्ध गराएकामा नपुग रकम  गाउँपालिकाले उपलब्ध गराएको थियो।

गाउँपालिकाले प्रतियोगितास्थल आउन–जान तथा अन्य व्यवस्थापन खर्चका लागि दूरीका हिसावले प्रत्येक विद्यालयलाई रु ३० हजारसम्म  उपलब्ध गराएको थियो।

प्रकाशित मिति: : 2023-02-20 15:36:00

प्रतिकृया दिनुहोस्