ओली र माधवको भेट: के माधवलाई राष्ट्रपति बन्न अफर आएको हो ?

राष्ट्रपतिको उम्मेदवार मनोनय दर्ताको समय नजिकिँदै गर्दा दलहरु तीब्र छलफलमा छन्। फागनु २५ गते हुने राष्ट्रपति निर्वाचनका लागि चार दिनपछि फागनु १३ गते मनोनयन दर्ता हुँदैछ।

सरकारको नेतृत्व गरेको नेकपा (माओवादी केन्द्र)ले राष्ट्रिय सहमतिमा राष्ट्रपति बनाउने बताउँदै आएको छ। तर, सत्तारुढ दलको मुख्य घटक नेकपा (एमाले)ले भने सरकार गठनका समयमा भएको सहमतिअनुसार राष्ट्रपति आफ्नो दलबाट उठाउनुपर्ने दाबी गरिरहेको छ।

त्यसका लागि प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमालेलाई राष्ट्रपति दिन सहमत भइरहेका छैनन्। कुन दलबाट राष्ट्रपति बनाउने भन्नेमा कुनै टुंगो लाग्न नसकेपछि राजनीति थप रोचक बनिरहेको छ।

माओवादीले राष्ट्रिय सहमति भनेपछि एमालेले नेकपा (एकिकृत समाजवादी) दलका अध्यक्ष माधव नेपाललाई राष्ट्रपतिको उम्मेदवार बनाउने कुरा बाहिर आइरहेको छ। जसका लागि उनलाई उम्मेदवार हुन सोमबार एमाले अध्यक्ष केपी शर्मा ओलीले आग्रह गरेको बताइएको छ।

ओलीले माधवलाई राष्ट्रपतिको उम्मेदवार बन्नका लागि आग्रह गरेका हुन ? एकिृकत समाजवादीका उपमहासचिव तथा प्रवक्ता जगन्नाथ खतिवडाले आफूहरुले पनि सुनेको मात्र बताए। ‘मैले पनि मिडियाबाटै सुनेको हो। पार्टी अध्यक्षसँग कुरा भएको छैन,’ उनले बिएल नेपाली सेवासँग भने,‘आज अध्यक्षज्यू पार्टीको कार्यक्रममा लुम्बिनीमा हुनुहुन्छ। उहाँ आएपछि कुरा के हो थाहा हुन्छ।’

खतिवडाले आफ्नो पार्टीबाट राष्ट्रपतिका लागि दाबी रहेको बताए। ‘राष्ट्रिय सहमति भएमा काँग्रेसले मात्र पाउनुपर्ने भन्ने होइन। उसले काँग्रेसबाट नै उम्मेदवार हुनुपर्छ भनेर गरिरहेको दाबी छाड्नुपर्छ,’ उनले भने, राष्ट्रिय सहमति पनि भन्ने अनि काँग्रेसले पाउनुपर्छ भन्ने त होइन नि। हाम्रो पनि राष्ट्रपतिमा दाबी छ।’

प्रवक्ता खतिवडाले अहिले भनिरहेको राष्ट्रिय सहमति कि अधिकतम सहमति भनेर प्रष्ट नभएको बताए। उनले संसदीय व्यवस्थामा राष्ट्रिय सहमति हुन नसक्ने बताए।

एमाले र नेकपा एकिकृत समाजवादीबीच एकता हुन्छ ? भन्ने प्रश्नमा त्यो सम्भव नरहेको बताए।

प्रकाशित मिति: : 2023-02-21 20:05:00

प्रतिकृया दिनुहोस्