धमाधम अधिकृतहरू थुन्दै जंगीअड्डा

जीवन डाँगी

काठमाडाैं

व्यक्तिगत रिसिइबी साँध्न एक जना मेजर जनरल प्रेम शाहीलाई थुनेपछि चर्को आलोचना खेपिरहेका प्रधानसेनापति प्रभुराम शर्माले थप दुई जना कानुन विवाकका दुई अब्बल सैन्य अधिकारीहरूलाई पनि हिरासतमा लिएका छन्।

महासेनानी महेन्द्रजंग शाह र प्रमुख सेनानी कुलदिप तिमिल्सिनालाई सैनिक प्रहरीले दुई दिनअघि आफ्नो हिरासतमा लिएको हो।

शाहीमाथि ‘कारबाही’ सुरु हुनुअघि नै शर्माले छानिबिन गर्न भन्दै खटाएको सैनिक टोलीले यी दुई अधिकारीहरूमाथि कडा निगरानी गरिरहेको थियो। जंगी अड्डाबाटै प्रेम शाहीलाई गिरफ्तार गरेको दुई महिनापछि अरू दुई जना अधिकृतहरूलाई पनि सैनिक प्रहरीले नियन्त्रणमा लिएको सैन्य अधिकारीहरू बताउँछन्।  

रिसिइबी साँध्दै प्रधानसेनापति

उपरथी शाहीको जन्ममिति विवाद थियो। खासमा शाहीको चारित्रिक प्रमाणपत्रमा जन्ममिति वि.सं. २०२२ साल २० पुस छ भने नागरिकता र अन्य प्रमाणपत्रमा २०२३ पुस २२ उल्लेख भएको फेला परेको थियो। त्यसअनुसार उनको चारित्रिक प्रमाणपत्रलाई मुख्यालयले आधिकारिक मान्यो।

त्यहीअनुसार जंगी अड्डाले उमेरहद देखाएर गत पुस ४ गते शाहीलाई अवकास दिएको थियो। उनी ५७ वर्ष पुगिसकेका थिए र त्यो बेला निरीक्षणाधिकृत विभागमा कार्यरत थिए। 

त्यसपछि उनी अदालतमा गए र अदालतले त्यो अवकाश पत्र कार्यान्वयन नगर्न पुस १३ मा सर्वोच्चका न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासले जंगी अड्डालाई आदेश दियो।

त्यही आदेशअनुसार उनी फेरि हाजिर हुन जंगी अड्डा पुगेका थिए। तर, सैनिक प्रहरीले त्यहीँबाट हिरासतमा लियो र अहिलेसम्म उनको कुनै पनि अवस्था सार्वजनिक गरेको छैन।

सैनिक प्रवक्ता कृष्णप्रसाद भण्डारी भन्छन्, ‘छानिबिन सकिएको छैन।’

उनीमाथि छानबिन गर्न सेनाले बनाएको ‘सैनिक अदालत’ दुई दिनअघि अरू पनि दुई जना अधिकृत थुनेपछि प्रधानसेनापति शर्माको झन् आलोचना बढ्न थालेको छ।

उनीहरू सबैमाथि सेनाले ‘आर्थिक अनियमितता’ र अनुशासनको आरोप लगाएको छ। तर, सेनाले उनीहरूलाई उपस्थित हुन आउने पत्रमा भने ‘सैनिक विद्रोह’को पत्र थमाइदिएको थियो।

दुई दिनअघि सेनाले हिरासतमा लिएका महासेनानी शाह मानव अधिकार निर्देशनालयमा प्रमुख भइसकेका हुन्। र, प्रमुख सेनानी तिमिल्सिना प्राड विवाकमा कार्यरत थिए। सैन्य प्रवक्ताका अनुसार यी दुई अधिकारीमाथि सैनिक अनुशासन उल्लंघनको आरोप लागेको छ। त्यसैको अनुसन्धानका लागि उनीहरूलाई बोलाएको हो।

महासेनानी शाहका आफन्तहरूका अनुसार उनीहरूलाई महिनौंदेखि जंगी अड्डाले कडा निगरानीमा राख्दै आएको थियो। आन्तरिक रूपमा सरुवादेखि लिएर उनीहरूलाई विभिन्न मानसिक यातनासमेत दिँदै आएको थियो। त्यही सिलसिलामा जंगी अड्डाले शाहलाई सुदूरपश्चिमा खटाएको थियो र तिमिल्सिनालाई इटहरी पठाएको थियो।

जंगी अड्डाको कार्यादेश अनुसार फिल्डमा जाने क्रममा महासेनानी शाहको फोन पनि खोसिएको थियो। स्रोतका अनुसार माथिको आदेश भन्दै बुटवल ब्यारेकमा बोलाएर जबरजस्ती व्यक्तिगत मोबाइल पनि खोसियो। त्यस्तै कार्यादेश अनुसार बझाङ पुगेका शाहलाई रातारात जंगी अड्डा बोलाइयो।

र, जंगी अड्डा पुगेका शाह र तिमिल्सिनालाई त्यहीबाट गिरफ्तार गरेर हिरासतमा राखियो।

‘उपरथी शाहीमाथि छानबिन गरिरहेको समरी जनरल सैनिक अदालतले नै उहाँहरू (हिरासतमा रहेका)लाई पनि बयान लिनका लागि बोलाएको हो,’ सैन्य प्रवक्ता भण्डारी भन्छन्, ‘कसैलाई हिरासतमा लिइएको भन्ने कुरा होइन।’

तर, आफन्तका अनुसार उनीहरूलाई भेट्नसमेत दिइएको छैन। आफ्ना पतिका बारेमा बुझ्न जंगी अड्डा पुगेकी महासेनानी महेन्द्रजंग शाहकी पत्नी शोभा कार्कीलाई गेटबाट भित्रै छिर्न दिइएन।

श्रीमानलाई जंगीअड्डाबाटै ‘वेपत्ता’ पारिएपछि अन्तत: पत्नी कार्की सर्वोच्चसम्मै पुगिन्।

कार्कीले दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीश हरिप्रसाद फुँयालको एकल इजलासले तीन दिनभित्र सैनिक हिरासतमा राखिएका शाह र तिमिल्सिनालाई अदालतमा उपस्थित गराउन आदेश दिएको छ।

अदालतको आदेश अनुसार उनीहरूमा लगाइएको आरोपहरूको ‘सक्कल पत्र’सहित तीन दिनभित्र जंगी अड्डाले उनीहरूलाई अदालतमा उपस्थित गराउनुपर्नेछ।

तर, सैन्य प्रवक्ता भण्डारी भन्छन्, ‘सर्वोच्चको आदेशबारे मलाई केही जानकारी छैन।’

सर्वोच्चले आरोपपत्रहरूको सक्कल प्रमाण झिकाउनुको एउटा कारण उनीहरूमाथिको वास्तविक आरोप र बाहिर नेपाली सेनाले नै प्रचार गर्दै आएको आरोपको तथ्य प्रमाणित गर्नुपनि हो।

सेनाले सबै सञ्चार माध्यमहरूमा ‘उनीहरूमाथि आर्थिक अनियमितता र सम्पत्ति छानबिन भइरहेको’ भन्दै आएका छन्। तर, उनीहरूका आफन्तहरूका अनुसार भने सेनाले उनीहरूमाथि ‘सैनिक विद्रोह’को आरोप लगाएको छ।

त्यो आरोपपत्र भने सेनाले बाहिर सार्वजनिक गरेको छैन तर उनीहरूलाई हिरासतमा ल्याउँदा र बयान लिँदा भने ‘सैनिक विद्रोह’को आरोपपत्र थमाइएको थियो। नेपाली सेनाले भने यो कुरा स्वीकार गरेको छैन।

‘अहिले प्रतिवादी बनाउँदा पनि प्रेम शाहीसँग प्रतिवादी बनाइएको छ। जुन विषयमा उजुरी परेकोले छानबिन सुरु गरिएको भनिएको हो सो विषय नै छानबिनबाट कायम नदेखिएपछि पुनः मेरो पति असम्बन्धित व्यक्तिलाई समेत जबर्जस्ती मुछेर अर्कै उद्देश्य हासिल गर्न कसुर परिवर्तन गरिएको स्थापित छ,’ महासेनानी शाहकी पत्नी कार्कीले अदालतमा दायर गरेको रिटमा भनेकी छन्, ‘छानबिन र प्रतिरक्षा नै गर्न नदिइएको विषयमा मुद्दा चलाउनु र मुद्दाको कुनै पनि कागजात नदिनु तथा आफूले रोजेको कानुन व्यवसायीबाट प्रतिरक्षा गर्न नदिनु बन्दीहरूको मौलिक हकको उल्लंघन हो।’

तर, सैन्य प्रवक्ता भन्छन्, ‘त्यो आरोपका बारेमा पनि मलाई केही थाहा छैन। उहाँहरूमाथि सैनिक अदालतले नै छानबिन गरिरहेको छ। त्यही बयान लिने क्रममा उहाँहरूलाई बोलाइएको हो।’

यसअघिका धेरै प्रधानसेनापतिहरूसँग कानुनी सहायतामा निकै महत्वपूर्ण भूमिका निभाउँदै आएका महासेनानी शाह सैन्य कानुनमा एक मात्र पिएजडीधारी हुन्। उनी नेपाली सेनाभित्र मात्र नभएर कानुनको क्षेत्रमा समेत विज्ञका रुपमा चिनिँदै आएका छन्।

यसअघिका पूर्वप्रधानसेनापति पूर्णचन्द्र थापाको नजिक भएकाे भन्दै उनीमाथि अहिलेका प्रधानसेनापति प्रभुराम शर्मा सुरुदेखि नै नकारात्मक थिए। वरिष्ठताको आधारमा प्राड सहायक रथीमा बढुवा हुन पाउने अब एक मात्रै उम्मेदवार महासेनानी शाह नै हुन्। आगामी २०८० असोज २८ गतेदेखि अवकाश पाउने भए पनि उनको कार्यसम्पादनको आधारमा म्याद थपिने निश्चित छ।

उनलाई झुटा मुद्दामा फसाएपछि उपरथी ताराध्वज पाण्डेको अध्यक्षतामा गठन भएको सैन्य अदालतभन्दा अघि छानबिन गर्ने एउटा बोर्डको प्रमुख भने शाहभन्दा जुनियर ओमबहादुर भट्ट नै त्यो पदका लागि बढुवा हुने छन्।

शाह र तिमिल्सिनालाई कारबाही चलाउँदा सैनिक अदालत नियमावलीको प्रक्रिया पनि पूरा गरिएको छैन। बयान लिन बोलाउँदा बोर्डले कुन कसुर गरेकोले बयान लिन वा छानबिन गर्न लागेको हो भनेर केही जानकारी दिएको छैन। बोर्डले बयान लिँदा प्रेम शाहीसम्बन्धी विषय र अन्य अप्रासङ्गिक तथा गोपनीयताको हकविरुद्ध हुने विषयमा प्रश्नहरू गरिएको पारिवारिक स्रोत बताउँछ।

संविधान तथा कानुनअनुसार पाएको सुविधाको दावी गर्दा थुनामा राख्ने धम्की दिँदै आफूलाई बयान दिन बाध्य पारिएको महासेनानी शाहले यसअघि आफन्तलाई सुनाएका थिए।

जनरल शाहीमाथि छानबिन सुरु गरेसँगै उनीहरूलाई पनि लामो समयदेखि यी दुई सैनिक अधिकारीहरूलाई जंगी अड्डाले मानसिक तनाव दिइरहेको थियो। उनीहरूले सम्हाल्दै आएको जिम्मेवारीदेखि जुनियर अधिकृतहरूलाई खटाउने काममा समेत उनीहरूलाई पठाइएको थियो।

प्रकाशित मिति: : 2023-03-02 16:00:00

प्रतिकृया दिनुहोस्