विवादै विवादबीच आजदेखि ए डिभिजन लिग सुरु हुँदै

पटक–पटक सरेकाे बहुप्रतीक्षित फुटबल प्रतियाेगिता ए डिभिजन लिगकाे तयारी अन्तिम चरणमा थियाे। अन्तिम तयारी स्वरुप बुधबार बिहान आयाेजक अखिल नेपाल फुटबल संघ (एन्फा)काे कार्यसमिति बैठक बस्याे। सबैकाे अपेक्षा थियाे, बैठकले हुनै लागिकाे प्रतियाेगिताकाे लागि नयाँ रणनीति बनाउने छ। तर, बैठक सामान्य रुपमा साेचेकाे जस्ताे भएन। बिहान बसेकाे बैठक दिउँसाेसम्म आइपुग्दा हानाहानकाे अवस्था पुग्याे।

एन्फाका तीन उपाध्यक्षसहित १२ जनाले आफ्नाे माग पूरा नगरेको भन्दै बैठकबाट बाहिरेका थिए। बहुमत सदस्यले एन्फा महासचिव किरण राई र कोषाध्यक्ष रवीन्द्र जोशीलाई बर्खात गर्नुपर्ने मागसहित अध्यक्ष पकंज विक्रम नेम्वाङलाई निवेदन दिएका थिए। तर, अध्यक्ष नेम्वाङले उनीहरुको माग सिधैं अस्वीकार गरेपछि बैठकमा विवाद सुरु भएकाे थियाे।

बुधबारको विवादपछि एन्फाका सदस्यहरुले महासचिव तथा कोषाध्यक्षजस्तो गरिमाया पदमा बसेको व्यक्तिहरुले एन्फकाे हितमा काम नगरेकाे भन्दै बर्खास्त गर्न माग गरेका थिए।

विवादपछि करिब दई घण्टा बैठक राेकियाे। बहुमत सदस्यले बैठक बाहिष्कार गरे पनि एन्फाले २० वटा निर्णय सार्वजनिक गर्‍याे।

एन्फाले भव्य रुपमा आयोजना गर्न लागेकाे ए डिभिजन लिग सुरु हुनै लाग्दा यस्ताे विवाद उत्पन्न हुनुले एन्फा विवादकाे जालमा फसेकाे स्पष्ट लेख्न सकिन्छ। अनेकाैँ विवादका कारण फागुन १९ गते गर्ने भनिए पनि अन्तिम चरणमा आएर सारिएकाे थियाे। यद्यपि, अनेकाैँ विवादका बीच ए डिभिजन लिग आजदेखि सुरु हुँदैछ।

नेपाली फुटबल जगतको अभिभावक हो। तर, पटक-पटक विवादमा परिरहँदा नेपाली फुटबल जगतको भविष्य कस्तो होला ? खेलाडी, एन्फा पदाधिकारी र खेलप्रेमीहरुमा चिन्ताकाे विषय बनेकाे छ। बुधबार बैठक बाहिष्कार गरेका सदस्यहरुले एन्फका पदअधिकारीहिरुलाई पटक-पटक सचेत गराउँदा र यस्तो गम्भीर आरोपलाई वेवास्त गरेपछि उनीहरुले बैठक बाहिस्कार गरेका हुन्।

गत असारमा निर्वाचित भएर आएका एन्फा अध्यक्ष तथा महासचिव सुरुदेखि नै विवास्पद बन्न पुगेका थिए। विवाद नै विवादमा अल्झिएको एन्फाका कारण नेपाली फुटबल जगत अहिले कहालीलाग्दो अवस्थामा छ। नेपालले पाएको विश्वकप टिकटदेखि खेलाडी विदेश पलायनसम्मको आरोप यति बेला एन्फालले खेपिरहेको छ।

ए डिभिजन लिग सुरु हुनु दुई दिनअघि एन्फाको बैठकले नेपाली राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकमा इटालीका भेन रेन्जो अल्बर्टो एनेस नियुक्त गर्‍याे। नेपाली फुटबल टोली लामाे समयदेखि प्रशिक्षकविहीन थियाे, कुवेतका अबदुल्ला अलमुतारीले प्रशिक्षकबाट राजीनमा दिएपछि लामो समयपछि बुधबार एन्फाले प्रशिक्षक नियुक्त गर्न सफल भयो।

यता, पटक-पटक स्थगित भएर आयोजना हुन लागेको ए डिभिजन लिग प्रतियोगिताकमा बुधबार भएको एन्फाको लफडाले केही असर पार्न हो कि भन्ने अहिले चासोको विषय बन्न पुगेको छ।

अनेकाैँ विवाद र तनावकाबीच आज (शुक्रबार)देखि नयाँ सिजनकाे ए डिभिजन लिग सुरु हुँदैछ।

लिगको पहिलो खेलमा नवप्रवेशी एफसी खुमलटार र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा हुनेछ। दशरथ रंगशालामा हुने पहिलो खेल साँझ ५:३० बजे सुरु हुनेछ।

प्रकाशित मिति: : 2023-03-03 09:01:00

प्रतिकृया दिनुहोस्