शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा सातदोबाटो युथ क्लब विजयी भएको छ।
सातदोबाटोस्थित च्यासल रङ्गशालामा आज भएको खेलमा सातदोबाटोले न्युरोड टिम (एनआरटी) लाई २–१ गोल अन्तरले हराउँदै विजयी भएको हो।
सातदोबाटोको जितमा दीपकराज ठकुरीले दुई गोल गरे। यता एनआरटीका लागि भने निकोलस सङले एक गोल फर्काए। खेलको ४५औँ मिनेटमा दीपकले गोल गर्दै सातदोबाटोलाई सुरुआती अग्रता दिलाएका थिए।
त्यस्तै खेलको पहिलो हाफको इन्जुरी समयमा एनआरटीका निकोलसले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए। त्यसपछि खेलको ८४औँ मिनेटमा दीपकले व्यक्तिगत दोस्रो गोल गर्दै सातदोबाटोलाई २–१ को जित दिलाए।
यस जितसँगै सातदोबाटोले पहिलो खेलमै ३ अङ्क जोडेको छ। एनआरटीले भने हारबाट प्रतियोगिताको सुरुआत गरेको छ। यसैगरी, त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आजै भएको अर्को खेलमा त्रिभुवन आर्मी क्लब र सङ्कटा क्लबले गोलरहित बराबरी खेलेका छन्। यस बराबरीमा सँगै दुवै टोलीले पहिलो खेलमा १–१ अङ्क बाँडेका छन्।
नेपाललाई दुई स्वर्ण
तेस्रो अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा नेपालले २ स्वर्ण र २ रजत पदक जितेको छ। श्रीलङ्काको रतनापुरा इन्डोर स्टेडियममा भएको उक्त प्रतियोगितामा नेपालका पाँच खेलाडी सहभागी थिए। नेपालका लागि नौ वर्ष उमेर समूहमा संयम कँडेल तथा ७५ केजीमा कमरुद्दीन अलीले स्वर्ण पदक जिते।
पुरुषोत्तम पोखरेल र शोभाखर पन्थ रजत पदकमा सीमित भए। प्रतियोगितामा नेपाल, भारत, बङ्गलादेश, पाकिस्तान र श्रीलङ्कासहित पाँच राष्ट्रको सहभागिता रहेको थियो। नेपाली कराते टोलीको नेतृत्व नेपाल कराते महासङ्घ महासचिव एवं दक्षिण एसियाली वादोरियो कराते महासङ्घका अध्यक्ष हरिशरण केसीले गरेका थिए।