झारफुक गर्दा कुटपिटबाट बालिकाको मृत्यु, माता पक्राउ

सांकेतिक फाेटाे
सांकेतिक फाेटाे

रुपन्देहीमा झारफुक गर्दा माताको कुटपिटबाट एक बालिकाको मृत्यु भएको छ।

मृत्यु हुनेमा सैनामैना नगरपालिका– १० की १४ वर्षीया सीता ज्ञवाली रहेकी छिन्। उनलाई कुटपिट गर्ने सैनामैना– १० कै माता भनिने २२ वर्षीया सोनिया रेश्मी रहेकी छिन्।

सोनियाले सितालाई झारफुक गर्ने भन्दै शरीरमाथि टेक्ने, रुद्राक्षको मालाले शरीरको विभिन्न भागमा हान्ने, टाउको र घाँटीमा खुट्टाले टेक्ने, पटक–पटक जगले नाक मुखमा पानी खन्याउने, कपालमा समाई टाउको बटारी दिने, खरानी खुवाइदिने  र लछारपछार गर्दै कुटपिट गरेको प्रहरीले जनाएको छ।

कुटपिट गरेको भिडियो सामाजिक सञ्जाल फेसबुकमाफर्त फागनु २१ गते सार्वजनिक भएको थियो। त्यसपछि ईलाका प्रहरी कार्यालय सालझण्डीबाट प्रहरी निरीक्षक जगन्नाथ मरासिनी नेतृत्वमा अनुसन्धान भएको थियो।

अनुसन्धानबाट माता भनिने सोनियाले बालिका सितालाई आफ्नै घरमा रोग निको बनाउने भन्दै कुटपिट गर्दा बालिकाको झारफुक गर्ने समयमा नै मृत्यु भएको खुलेको छ। प्रहरीले घटना मामाजिक सञ्जालबाट घटना बाहिरिएपछि सोनियालाई पक्राउ गरेको छ।

उनलाई पक्राउ गरी अहिले अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय सालझण्डी रुपन्देहीले जानकारी दिएको छ।

प्रकाशित मिति: : 2023-03-06 20:06:00

प्रतिकृया दिनुहोस्