युनिभ मोर्डनयरा कलेजले मोरङ जिल्लास्तरीय अन्तरकलेज भलिबल प्रतियोगिताको उपाधि हात पारेको छ।
विराटनगरको पुष्पलाल चौकको खेल मैदानमा आइतबार भएको फाइनल खेलमा मोर्डनयराले इडनबर्ग कलेजलाई ३–० को सोझो सेटमा पराजित गरेको हो। सुरुवाती दुई सेटमा सहजै जीत निकालेको मोर्डनयराले तेस्रो सेटमा भने कठिन जीत निकालेको थियो।
मोर्डनयराले २५–१३, २५–१४ र २५–२३ को सोझो सेटमा जीत निकाल्दै विजेता बनेको हो। जीतसँग मोर्डनयरा कलेजले नगद ३१ हजार रुपैयाँसहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। यस्तै उवविजेता बनेको इडनबर्ग कलेजले नगद २१ हजारमा चित्त बुझाएको छ। प्रतियोगिताको विजेता टिमलाई कार्यक्रमका प्रमुखअतिथि तथा कोशी प्रदेशका खानेपानी सिचाइ तथा उर्जामन्त्री तीलकुमार मेन्याङ्वोले पुरस्कार तथा शिल्ड हस्तान्तरण गरेका थिए।
यस्तै उपविजेता टिमलाई नेकपा एमाले विराटनगर महानगर कमिटीका अध्यक्ष तथा मदन भण्डारी स्पोर्ट्स एकेडेमी कोशी प्रदेशका पूर्व अध्यक्ष सागर थापाले पुरस्कार तथा शिल्ड हस्तान्तरण गरेका थिए। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी चुनिएका मोर्डनयराका रविन गौतमले नगद १० हजार प्राप्त गरेका छन्।
यस्तै उत्कृष्ट स्पाइकरमा इडनबर्गका सुमन बुढाथोकी, उत्कृष्ट सेटरमा मोर्डनयराका दमन खवास, उत्कृष्ट सर्बरमा मोर्डनयराका पुकार तामाङ, उत्कृष्ट लिब्रोमा मोर्डनयराका योगेश राई, उत्कृष्ट ब्लकरमा इडनबर्गका विराज थापा र उदयमान खेलाडीमा इडनबर्गका सुसन धिमाललाई पुरस्कृत गरिएको थियो।
उनीहरुले जनही ५–५ हजार प्राप्त गरेका छन्। मदन भण्डारी स्पोटर्स एकेडेमी विराटनगर महानगर कमिटीको आयोजनामा गत बिहीबारबाट सञ्चालन भएको प्रतियोगितामा ९ टिमले सहभागीत जनाएको खेल संयोजक नवराज नेपालले जानकारी दिए।