गफ हाँक्दैमा कर्णालीले दोहोरो अंकमा स्वर्ण जित्दैन

अबको दुई वर्षमा दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णाली प्रदेशमा आयोजना हुँदैछ। कर्णालीमा आयोजना गर्न खोजिएको यो पहिलो राष्ट्रिय खेलकुद प्रतियोगिता हो। यो प्रतियोगिता २०८१ मंसिर २ देखि ९ गतेसम्म संचालन हुने भएको छ। यही विषयलाई लिएर रातोपाटीमा दशौं राष्ट्रिय खेलकुद प्रतियोगितामा दोहोरो अंकमा स्वर्ण जित्ने कर्णालीको योजना भनेर एउटा समाचार प्रकाश भएको रहेछ।

यो समाचार हेर्दा निकै खुसी लागेर आयो। खेलाडी कुनै जादुको छडी होइन, छुमन्तर गर्दैमा स्वर्ण पदक दिने। म्याराथन धावक हरिबहादुर रोकायले पनि विद्यालयस्तरमा संचालन हुने वीरेन्द्र रनिङशिल्ड हुँदै २७ वर्षको लामो दौड यात्रामा एभरेष्ट म्याराथन दौड प्रतियोगितामा विश्व कीर्तिमानी गिनिज बुक अफ द वर्ल्ड रेकर्ड कायम गरेका हुन। त्यसैले यतिकै पदक जित्न सजिलो छैन। पदक जित्नका लागि त खेलाडीहरु नियमित प्रशिक्षणमा छन् कि छैनन् ? डाइटिङ छ कि छैन ? मेडिकल के कस्तो छ ? खेलकुद सामग्री छ कि छैन ? ड्रेस पर्याप्त छ कि छैन ? र कहिलेदेखि प्रशिक्षण गराइरहेका छौं ? भन्ने कुराले निर्धारण गर्दछ। कर्णाली खेलकुद परिषदले जतिको भौतिक संरचनालाई प्राथमिकता दिएको छ, त्यति नै खेलाडीलाई पनि प्राथमिकता दिनुपर्दछ। तब मात्र पदक जित्न सकिन्छ। फ्रिको गफ हान्दैमा दोहोरो अंकमा स्वर्ण जितिदैन।

संसारमा जति पनि खेलाडीहरु छन्। उनीहरुले धेरै मेहेनत र कडा परिश्रमका बाबजुद सफलता पाप्त गर्ने गर्दछन्। संसारका सफल खेलाडीहरुको नाम त मैले भनिरहन पर्छ, जस्ताे लाग्दैन। किनकि, तपाईं पनि कुनै सफल खेलाडीको ठुलो फ्यान हुनुहुन्छ होला। लाखौं खेलाडीहरु थुप्रै समस्या र संकटका बाबजुद पनि त्यही स्वर्ण पदक चुम्नकै लागि दिनरात, घामपानी नभनि अभ्यास गरिरहेका हुन्छन्। संसारको कुरा छोडौं अब कुरा गरौं आफ्नै देश अनि प्रदेशको।

हामी खेलकुद कर्म गर्छौं। विश्व कीर्तिमानी धावक हरिबहादुर रोकायको स्वदेशमै खेलाडी उत्पादन गर्ने सपनालाई साकार बनाउन २०६४ सालदेखि जुम्लामा कर्णाली खेलकुद क्लब स्थापना गरियको थियो। यस क्लबले विशेषगरी एथलेटिक्स विधामा आफूलाई अब्बल सावित गर्दै आएको छ। आर्थिक, सामाजिक, भौतिक, राजनैतिक थुप्रै समस्याका बाबजुद पनि खेलाडीहरुलाई अभ्यास गराई खेलाडी उत्पादन गरी राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरको प्रतियोगिताहरुमा सहभागी गराउने कार्य निरन्तर गरिरहेको छ। त्यही सफलताका प्रतीक मानिने खेलाडीहरु राजन रोकाया, विश्वरुपा बुढा, पूर्णलक्ष्मी न्यौपाने, विष्णु बुढा, डिल्ली भण्डारी राजपुरा पछाइ, सुनमाया बुढा, राममाया बुढा, बन्दना बुढा, सीता न्यौपाने, मधुराज न्यौपाने, प्रेम भण्डारी, जयलाल बुढा, गोविन्द अधिकारी लगायतका थुप्रै खेलाडीहरु आफ्नो जीविकाेपार्जन गर्नका लागि पलायन भएका छन्।

कोही नेपालकै त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब लगायतका विभागीय टिममा छन् भने कोही निजामती कर्मचारी भएका छन्। केही खेलाडी रोजगारिका लागि खाडी मुलुकलगायत विभिन्न देशहरुमा पलायन भएका छन् भने कोही भारतीय सेनामा भर्ती भइ हालसम्म भारतको प्रतिनिधित्व गर्दै धेरै अन्तर्राष्ट्रियस्तरको खेलहरुमा सहभागी भइ विभिन्न पदकहरु हासिल गरिरहेका छन्।

हालसालै पोखरामा सम्पन्न नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक जित्ने धेरै खेलाडीहरु जन्मको आधारमा कर्णालीका हुन। उनीहरु जीविकोपार्जन गर्न विभिन्न ठाउँमा रोजगारीको लागि आवद्ध भएका हुन। हामीले हाम्रा खेलाडीहरुलाई व्यवसायिक खेलकुदसँग जोड्न खोजीरहेका छौँ। यसका लागि संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारले व्यवसायिक खेलकुदको वातावरणको सिर्जना गर्नुपर्दछ। जुन वातावरणले खेलाडीहरुलाई पलायन हुनबाट रोक्नसक्छ। जसका लागि कर्णालीमा ठुला–ठुला खेलकुद प्रतियोगिताको आयोजना गर्ने, सही खेलाडीहरुको पहिचान गर्ने, खेलाडीहरुलाई करार सम्पर्कमा ल्याएर बन्द प्रशिक्षणमा राख्ने गर्न सकिन्छ। जसले खेलाडीहरुलाई व्यवसायिक बनाउन सकिनुका साथै खेलाडीहरुलाई  ठुलो ऊर्जा र प्रेरणा दिनेछ।

खेलकुदलाई राजनीतिकरण गरिनु हुँदैन। जबसम्म खेलकुदसँग सम्बन्ध राख्ने संघ संस्था र सार्वजनिक निकायहरुमा खेलकुदलाई नबुझेको अयोग्य ब्यक्तिलाई राजनीति नियुक्ति दिने गर्दछौँ, तबसम्म खेलकुद क्षेत्र सुधार हुन निकै कठिन छ। नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णाली प्रदेशबाट विभिन्न पदक जित्ने खेलाडीहरुलाई प्रोत्साहनका लागि दिने भनिएको स्वर्ण, रजत र काँस्य पदको क्रमश २ लाख, १ लाख ५० हजार, १ लाख रकम आजसम्म दिन नसक्ने खेलकुदको जिम्मेवार निकाएको कुर्सीमा बसेका व्यक्तिहरुले नै विभिन्न उत्सव, बहस र बैठकहरुमा सजिलै दोहोरो अंकमा स्वर्ण जित्ने घमण्डको गफ हान्दै हिँडेको देख्दैछु।

यसरी विभिन्न उत्सव, बहस, बैठकहरुमा गफिनुभन्दा हाम्रो कर्णालीका जिल्लाहरुमा आज पनि विभिन्न विधाका प्रशिक्षकहरु छैनन्। प्रशिक्षक भए पनि भौतिक संरचनाहरु छैनन्। त्यही कारणले खेलाडीहरु नियमित प्रशिक्षणमा छैनन्। यदि खेलाडीहरुले प्रशिक्षण गरिरहेका छन भने पनि दिनमा ५० रुपैयाँको डाइट खान पाएका छैनन्। भौतिक संरचना पर्याप्त छ कि छैन ? वर्षको एकपटक पनि स्वास्थ्य परीक्षण गराउन पाएका छैनन्। खेलकुद सामाग्री छुन पाएका छैनन्। ड्रेस के हो ? भन्ने कुराको अनुभूति गर्न पाएका छैनन् र हामीले कहिलेदेखि प्रशिक्षण गराइरहेका छौँ ? भन्ने कुरालाई ध्यानमा राखी अगाडि बढेमा पक्कै पनि दोहोरो अंकमा स्वर्ण जित्न सकिन्छ। नत्र गफै त हुन।

प्रकाशित मिति: : 2023-03-13 19:45:00

प्रतिकृया दिनुहोस्