निर्माण सम्पन्न नहुँदै चर्किएको कालिकाेट-जुम्ला जाेड्ने पुल पुनर्निर्माण हुँदै

निर्माण कार्य सम्पन्न भइसकेपछि चर्किएको कालीकाेट जुम्ला जाेड्ने नाग्मकाे पक्की पुलको पुनर्निर्माण थालिएको छ। जुम्ला–कालिकोट जोड्ने सिंजाखोला पक्की पुल निर्माण नसकिँदै चर्किएको थियो।

गत वर्ष असार पहिलो सातातिर पुलको अन्तिम निर्माण कार्य चलिरहँदा पुल एक्कासी चर्किएपछि काम रोकिएको थियो। पुल चर्किएको केही महिनामै पुनर्निर्माण थालिने भनिए पनि ठेकेदारले फागुन महिनादेखि पुनर्निर्माणको काम अघि बढाएको छ।

पक्की पुलबाट यात्रा गर्न उत्साहित भएका नागरिक पुल निर्माण नसकिँदै चर्किंदा निराश भएका थिए। २०६१/०६२ सालबाट सञ्चालित जीर्ण बेलिब्रिजबाटै ठुला/साना सवारी जोखिमपूर्ण यात्रा गरिरहेका छन्।

यस वर्षको असार महिनाभित्रै पुलमा गाडी गुडाउने तयारी भए पनि अन्तिम समयमा चर्किएकाे थियाे। हाल पुलको पुनर्निर्माण कार्य थालिएको सडक डिभिजन सुर्खेतले जनाएको छ।

उक्त पुल उच्च प्रविधियुक्त अर्थात् (प्रि–स्ट्रेस) प्रविधिको कर्णालीकै दोस्रो पुल हो। कमसल सामग्रीको प्रयोग नभई फाइनल स्ट्रेसिङ गर्दा समस्या आएको साइट इन्जिनियर अशोक चौधरीकाे भनाइ छ।

यद्यपि, निर्माण कम्पनीले उही लागतमा पुनः पुल निर्माण गरी सम्पन्न गर्नुपर्ने सम्झौतामा उल्लेख छ। विगत साढे ६ वर्षदेखि निर्माण थालिएको उक्त पुल यो वर्षको असारमै सकिने गरी म्याद थपिएको थियो।

तर, पुल नै चर्किएपछि निर्माणको कामसमेत अनिश्चित बनेको पुलको पुनर्निर्माणका लागि भत्काउनै लामो समय लाग्ने देखिएको छ। अब पुललाई ग्राउटिङ गरेर पुन पिस्ट्रेसिङ गरिने भएको छ। विगत तीन सातादेखि ढलान उक्काउने काम जारी रहे पनि सकिएको छैन।

प्रिस्ट्रेस गर्दा पुल निर्माण तथा पुन:निर्माण, फेरि ग्राउटिङ गर्न नेपालमा उपकरण र जनशक्ति छैनन्। भारतबाट विज्ञ र टेक्नोलोजी ल्याएपछि मात्रै काम अघि बढ्ने बताइएको छ। साउन पहिलो सातामै भारतबाट विज्ञको टोली आएर पुनर्निर्माण गरी दसैंमा पुल सञ्चालनमा ल्याउने भनिए पनि भर्खर काम सुरु भएको छ।

अहिलेसम्म उक्त पुलको तीन पटक म्याद थपिसकिएको छ। तर, निर्माण कम्पनीको ढिलासुस्ती र कोभिडले निर्माण भएन। पुलको लम्बाइ ४० मिटर र चौडाइ ११ मिटर रहेकाे छ भने पेलकाे लाेड क्षमता ५० टन छ।

‘प्रिस्ट्रेस पुल भएकोले निर्माण गर्न आफैमा जोखिम हो। पुल निर्माण सकिँदै गर्दा लडा तान्दा पुल चर्किएको हो,’ साइट इन्जिनियर अशोक चौधरीले भने, ‘गाडी गुड्ने माथिको पार्टको पुरै ढलान फुटाएर नयाँ ढलान हाली पुनः लडा तानेपछि सफल भएपछि मात्रै ठेकेदारले भुक्तानी पाउने छ। पुलका पिल्लरमा कुनै समस्या छैन।’

उनकाअनुसार गाडी गुड्ने पुलको माथिल्लो भागमै समस्या रहेकोले ४० मिटर लामो पक्की पुलको पूरै ढलान फुटाउनु परेको छ। स्टिमेटअनुसार ठेकेदारले काम नसकाएसम्म कुनै पनि भुक्तानी नहुने र पुनर्निर्माणको सबै काम ठेकेदारले आफ्नो खर्चमा गर्नु पर्नेछ। आउने असारसम्म पुनर्निर्माणको कामलाई सकाउने लक्षअनुसार जनशक्ति परिचालन भइरहेको छ। सूर्य कन्ट्रक्सन प्रा.लि. सुर्खेतले अब आफ्नै निजी खर्चमा पुल निर्माण गर्नेछ।

प्रकाशित मिति: : 2023-03-14 10:48:00

प्रतिकृया दिनुहोस्