राज्यको लाखौं लगानी बालुवामा पानी, रून्टीगढीको खेलमैदान अलपत्र

रोल्पाको रुन्टीगढी गाउँपालिकाले होलेरीको कोडारी डाँडामा निर्माण सुरु गरेको खेलकुद मैदान अल्पत्र अवस्थामा छाडेको छ। आर्थिक वर्ष २०७५/७६ मा प्रदेश सरकारको ३५ लाख र रुन्टीगढी गाउँपालिकाको ३५ लाख गरी ७० लाखको खेलकुद मैदान निर्माणको आयोजना रहेको थियो।

तत्कालीन बालाराम बुढा नेतृत्वको स्थानीय सरकारले आर्थिक वर्षको अन्त्यमा कामको सुरूवात गर्‍याे। यही विषयलाई लिएर तत्कालीन नेपाली काङ्ग्रेस रुन्टीगढी गाउँपालिका संयोजक जनक पुनले स्थानीय सरकार कमिसनको लोभमा रहेको भन्दै विभिन्न कारण देखाएर काम रोक्न सफल भए। पहिले व्यक्तिगत रुपमै विभिन्न निकायहरूमा खबरदारी गरेर तत्कालाई काम रोकेका पुनले पछि पार्टीबाट समेत खेलकुद निर्माण रोक्ने निर्णय गराए।

तत्कालीन स्थानीय सरकार र नेपाली काङ्ग्रेस रुन्टीगढीले खेलकुद मैदान निर्माणमालाई राजनीतिकरण नै गरे। तत्कालाई काम रोकियो। तर, पालिकाभित्र अर्को कुनै गतिलो खेलमैदान नहुँदा स्थानीय खेलाडीहरुलाई भने ठुलै मर्का परिरहेको थियो।

‘खेलकुद स्वास्थ्यका लागि, खेलकुद राष्ट्रका लागि’ भन्ने नारा र आफूहरुको खेल खेल्न पाउने अधिकारबाट बन्चित हुनु परेको भन्दै खेलाडीहरु आक्रोशितसमेत बनेका थिए। पछिल्लो वर्ष पालिकाले पुनः खेलकुद मैदान निर्माणलाई अगाडि बढायो। तर, राज्यकोषको लाखौं रुपैयाँ खर्चिएर निर्माण गरिएको खेल मैदान प्रयोगविहीन बनिरहेको छ। एउटै ठुलो र फराकिलो हुनुपर्ने खेल मैदान बारीको पाटाजस्तै दुई खण्डमा विभाजित गर्दा साँघुरो र भिरालो भएको हुँदा फुटबल, भलिबललगायत खेल खेल्न नसकिने स्थानीय खेलाडी गिरराज रावतले गुनासो गरे।

भलिबल खेल खेल्न कोर्ड निर्माण गर्न क्षेत्रफल पुगे पनि बल छरिने, बिचमा रहेका ढुङ्गाहरुले चोट लाग्ने लगायतका समस्याहरु रहेकाले खेल मैदान खेलाडीहरुका लागि प्रयोगमा नआएको उनले बताए। स्थानीय सरकारले आफूहरुको खेलकुद खेल्न पाउने अधिकारबाट बन्चित गर्दै आएको अर्का स्थानीय खेलाडी ईश्वर केसीको भनाइ रहेको छ। अहिले स्थानीय सरकार रुन्टीगढी गाउँपालिका युवा नेता जनक पुनको नेतृत्वमा छ। तर, उनी निर्वाचित भएको वर्ष दिन बित्न लाग्दासमेत खेलकुद मैदानको हविगत भने उस्तै छ। युवा नेतृत्वले पनि युवाहरुकै अधिकारलाई गुम्राहमा राखेको स्थानीय खेलाडीहरु गुनासो रहेको छ।

प्रकाशित मिति: : 2023-03-20 11:25:00

प्रतिकृया दिनुहोस्