अर्घाखाँची पुगेर केपी ओलीले भने– यहाँका पहाड र खाेलानालासँग मेराे गहिराे सम्बन्ध छ

बिएल संवाददाता

खन (अर्घाखाँची)

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली ‘मिशन ग्रासरुट’ अभियानकाे लागि अर्घाखाँची पुगेका छन। आइतबार बिहान बुटबल हुँदै अर्घाखाँची पुगेका ओली दिनभरका अर्घाखाँचीका प्रमुख धार्मिक तथा पर्यटकीयस्थलमा पुगेका थिए।

बिहान सुपादेउराली मन्दिरकाे दर्शन गरेर जिल्लाकाे अभियान सुरु गरेका ओलीले दिनभरिमा निर्माणाधीन अर्घा विमानस्थलकाे अवलाेकन गर्नुका साथै अर्घामै सारङ्गीसमेत रेटेर मनाेरञ्जन गरे। त्यति मात्रै नभएर उनले अर्घाकै मसुरपाटास्थित सेल्फीडाँडामा पुगेर श्रीमति राधिका शाक्यसँग फाेटाे पनि खिचाए।

यसरी उनी आइतबारकाे दिनभर बाेल्ने काम कम गरेर यहाँका प्राकृति स्राेत, मठमन्दिर तथा पहाडहरुमा रमाए। ओली अर्घाखाँचीमा पहिलाे पटक मात्रै गएका हाेइनन्, उनी १४ वर्षे जेलजीवन कटाएर निस्किएपछि २०४५ सालमा पार्टीकाे कामकाे लागि अर्घाखाँचीमा खटिएका थिए। यद्यपि, देश र उनकाे जीवनमा धेरै परिवर्तन आएपछि यहाँ आएका उनले अर्घखाँचीका सुन्दर पहाड, खाेलानाला, मानिस र वनस्पतिसँग गहिराे सम्बन्ध रहेकाे बताएका छन्।

अर्घाखाँचीमा घुमेका तस्बिरहरू सामाजिक सञ्जालमा पाेष्ट्याउँदै ओलीले लेखेका छन्,‘अर्घाको मसुरीपाटाको यो मनोरम ठाउँमा म ३४ वर्षपछि हिजो राधिकासँगै थिएँ। यहाँका सुन्दर पहाड, खोलानाला, मानिस र वनस्पतिसँग मेरो गहिरो सम्बन्ध छ।’

उनले अर्घाखाँचीका स्थापित पार्टीका नेता कार्यकर्ता र प्यारा नानीबाबूहरुसँगकाे भेटले मन आनन्दित भएकाे बताएका छन्। आइतबार अर्घाखाँची पुगेका ओली साेमबार खन, खनदहलगायतका नेता/कार्यकर्तासँग भेटवार्ता गरेर त्यतैबाट गुल्मी जाँदैछन्।

यसअघि माओवादीकाे लालकिल्ला मानिएकाे अर्घाखाँचीमा गत मंसिरमा भएकाे संघ र प्रदेशकाे निर्वाचनमा एमालेले क्लिन स्वीप गरेपछि यहाँ एमालेले राजनीतिक गतिबिधिलाई तीब्रता दिइरहेकाे छ। ग्रासरुट अन्तर्गतकाे अभियानमा एमालेका पाेलिटव्युराे सदस्य तथा प्युठानका प्रतिनिधिसभा सदस्य सूर्य थापा र एमाले सचिव एवम् अर्घाखाँचीबाट निर्वाचित प्रतिनिधिसभा सदस्य टाेपबहादुर रायमाझी खटिरहेका छन्।

प्रकाशित मिति: : 2023-03-27 13:40:00

प्रतिकृया दिनुहोस्