दमकमा पनि पहिचान पक्षधर र प्रहरीबीच झडप, नगरपालिकामा तालाबन्दी

झापाको दमक नगरपालिकामा पनि कोशी प्रदेशको नामकरण खारेजीको माग गर्दै आन्दोलन गरिरहेका पहिचान पक्षधरले तालाबन्दी गरेका छन्। मंगलबार बिहान दमक नगरपालिका कार्यालय पुगेर उनीहरुले ताला लगाएका हुन्।

ताला लगाउने क्रममा पहिचान पक्षधर र प्रहरीबीच झडपसमेत भएको छ। झडपमा परी पहिचान पक्षधरका केही प्रदर्शनकारीहरू सामान्य घाइते भएको बताइएको छ।

पहिचानवादीहरुले नगरपालिकामा ताला लगाएर फर्किएपछि प्रहरीले ताला फुटाएको थियो। प्रहरीले ताला फुटाएपछि पहिचान पक्षधरहरू पुनः ताला लगाउन नगरपालिका प्रवेश गरेपछि दुई पक्षबीच झडप भएको हो।

प्रहरीले रोक्न खोज्दा प्रदर्शनकारीहरूले ढुङ्गामुढा प्रहार गर्दा नगरपालिकाको झ्यालका सिसाहरू फुटेको छ।

जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालका अनुसार अहिले दमक नगरपालिकामा सुरक्षा व्यवस्था कडा पारिएको र स्थिति सामान्य भएको छ।

यसअघि प्रदर्शनकारीहरुले मोरङको उर्लाबारी नगरपालिकाको प्रवेशद्वारमा पनि तालाबन्दी गर्दै एक जना वडाध्यक्षमाथि कुटपिट गरेका थिए।

आजै कोशी प्रदेशको राजधानी विराटनगरमा पनि पहिचानवादी र प्रहरीबीच झडप हुँदा एक दर्जन बढी घाइते भएका छन्।

पहिचान पक्षधर र सुरक्षाकर्मीबीच झडप हुँदा एक दर्जन घाइते, तीन दर्जन अश्रुग्यास प्रहार

प्रकाशित मिति: : 2023-03-28 15:36:00

प्रतिकृया दिनुहोस्