एक वर्षमा ४० बढी फुटबरले देश छाडे, एन्फा भन्छ– सरकारकाे खेलाडीलाई हेर्ने नजर राम्राे भएन

नेपाली फुटबल जगतमा उत्कृष्ट छवि बनाएका र राम्राे सम्भावना भएका खेलाडीहरुले यतिबेला धमाधम देश छाडिरहेका छन्। पछिल्लाे पटक सार्वजनिक तथ्यांकअनुसार नेपाली फुटबल क्षेत्रमा भविष्य राम्राे नभएकाे गुनासाे गर्दै राष्ट्रिय टाेलीबाट खेलेका करिब दुई दर्जन फुटबरहरुले देश छाडेका छन्। जसमा धेरै जस्ताे खेलाडीहरु अष्ट्रेलिया गएका छन्।

गत चैत १० गते नेपाली फुटबल टोलीका दुई महत्वपूर्ण खेलाडी सुजल श्रेष्ठ र रञ्जित धिमाल पनि सुन्दर भविष्यकाे खाेजीमा अष्ट्रेलिया प्रस्थान गरेका छन्। उनीहरु दुई जना त केही दिन अगाडि मात्रै देश छाडेका फुटबलर हुन। याे क्रम अहिलेदेखि मात्रै भने चलेकाे हाेइन, यसकाे लामाे लाइन (ताँती) छ। पछिल्लाे एक वर्षकाे तथ्यांकलाई मात्रै हेर्ने हाे भने ४० जनाभन्दा बढी फुटबलरले देश छाडेका छन्। अर्थात्, एक महिनामा औसत तीन देखि चार जना फुटबलरले देश छाडिरहेका छन्। समग्र नेपाली फुटबल र खेल जगतकाे लागि याे एकदमै डरलाग्दाे तथ्यांक हाे।

खेलाडीहरुकाे बढ्दाे पलायनले आफूहरु चिन्तित बनेकाे अखिल नेपाल फुटबल संघ (एन्फा)का सह-महासचिव दामाेदर बद्री भट्टराई बताउँछन्। ‘दिनहुँ जस्तो नेपाली फुटबल खेलाडीहरु विदेशिनु एकदम दु:खकाे कुरा हाे, याे खुसीकाे कुरै हाेइन। यसकाे अझ बढी असर एन्फामा परेकाे छ,’ उनले भने।

खेलाडी पलायनकाे प्रत्यक्ष असर जारी लिगमा देखिएकाे एन्फा पदाधिकारीहरु बताउँछन्। जसकाे परिणाम स्वरुप लिगकाे लागि केही विदेशी खेलाडीहरुसमेत भित्र्याउनु परेकाे छ। नेपालमा फुटबल खेलाडी पर्याप्त नभएपछि एन्फाले ए डिभिजन लिगकाे १४ वटै क्लबले पाँच–पाँच जना विदेशी खेलाडी अनुबन्धन गर्न स्वीकृति दिएकाे थियाे।

अहिले देशमा ए डिभिजन लिग फुटबल जारी रहँदा केही खेलाडीहरु बेवास्ता गर्दै जहाज चडिरहेका छन्। उनीहरु पैसाकाे खाेजीमा मात्रै नभएर अवसरकाे खाेजीमा पनि संसार भाैतारिरहेका छन्। नेपालमा नियमित रुपमा लिगहरु नहुनुका कारण पनि खेलाडीहरुले देश छाडेकाे सह-सचिव भट्टराई बताउँछन्।

सात वर्षअघि अष्ट्रेलिया गएका फुटबर जगजित श्रेष्ठ पनि नेपालमा खेलहरु नै नहुनु मुख्य समस्या रहेका बताउँछन्। ‘दुई/तीन वर्षसम्म पनि लिग सञ्चालन नहुनु र फुटबल खेल्ने वातावरण नै नबन्नु यहाँकाे समस्या हाे,’ श्रेष्ठ ले भने।

खेलाडी पलायन राेक्न सरकारले पनि ध्यान दिनुपर्ने भट्टराई बताउँछन्। ‘खेलाडीहरु पलायन हुनुमा एन्फा मात्रै नभएर नेपाल सरकारलकाे खेलकुद नीति, व्यवहार, बजेटजस्ता कुराहरुमा पनि समस्या छ। अन्य जस्तै क्रिकेट, मार्लसआर्टलगायतका खेलाडीहरु पनि विदेशिएका छन्। त्यसैले सरकारले नै खेलाडीहरुलाई ध्यान दिनुपर्छ,’ भट्टराईले भने। एन्फाले बजेटकाे लागि सरकारसँग पहल गरिरहेकाे बताए।

खेलाडीहरुलाई विदेशिनबाट राेक्न के गर्नुपर्ला ? भन्ने प्रश्नमा भट्टराई भन्छन्– ‘अहिले सबैभन्दा ठुलो भ्रम के फैलिरहेको छ भने एन्फामा नयाँ नेतृत्व आएपछि धेरै खेलाडीहरु विदेशीएका छन। यो कुरा एकदम गलत हो। अहिले एन्फाले खेलाडीहरुलाई कसरी व्यस्त राख्ने भन्ने कुरामा प्रयास गरिरहेको छ। विदेश जानबाट रोक्नका लागि लिगका खेलहरु सञ्चालनमा ल्याउने, टुर्नामेन्टहरुको आयोजना गर्ने र खेलाडीहरुकाे फाइनान्सियल पक्षलाई पनि प्राथमिकता दिनुपर्छ।’ त्यससँगै एन्फामा हुने बढ्दाे राजनीतिकरणले पनि यसमा प्रभाव पारेकाे उनकाे भनाइ छ।

फुटबल खेलाडीहरु अत्याधिक पलायन हुन थालेपछि अब जनवरीमै ए डिभिजन लिग फुटबल आयाेजना गरिने याेजना रहेकाे एन्फा महासचिव किरण राई बताउँछन्। उनले विदेशिएका खेलाडीहरुलाई फर्काउनकाे लागि प्रयास गरिरहेकाे बताए।

प्रकाशित मिति: : 2023-03-31 20:50:00

प्रतिकृया दिनुहोस्