गत चैत्र २७ गते ए डिभिजन लिगअन्तर्गत मनाङ मर्स्याङ्दी क्लब र थ्री स्टार क्लबबीच खेल भएको थियो। १-१ को बराबरीमा रोकिएको खेलमा एउटा विवाद सिर्जना भयो। च्यासल फुटबल मैदानमा चैतको प्रचण्ड गर्मीमा खेल खेलिरहेका खेलाडीहरुले पानी माग्दा उपलब्ध भएन।
मागेकाे समयमा पानी उपलब्ध नभएपछि थ्री स्टार क्लबका प्रशिक्षक मेघराज केसीले एन्फाप्रति असन्तृष्टि जनाएका थिए। खेलाडीहरुले पानी माग्दा उपलब्ध गराउन नसक्नु एन्फाकाे लापर्वाही रहेको प्रशिक्षक केसीले बताए।
‘दुई क्लबबीच भएको पहिलो हाफको खेलपछि खेलाडीहरुले पानी मागेका थिए तर पाएनन्। स्टकमा राखेको पानी सकिएको रहेछ’, प्रशिक्षक केसीले बिएल नेपाली सेवासँग भने, ‘स्टकमा पानी छ कि छैन, त्योबारे नहेर्नु त एउटा लापर्वाही नै हो।’
उनी भन्छन्, ‘हामीले खेलपछि यसबारेमा त्यहाँको अधिकारीहरुलाई कम्प्लेन गरेका छौँ। काठमाडौँमा जारी रहेको ए डिभिजन लिगका खेलहरु बारम्बार विवादमा परिरहेका छन्।’
पानीकै विषयलाई बाहिर अनावश्यक हल्ला भए पनि याे कुरा सामान्य रहेकाे प्रशिक्षक केसीले बताए। ‘अहिले यस विषयमा बाहिर जस्तो हल्ला आएपनि यो ठूलो विषय होइन। यस्ता कुराहरु फुटबलमा भइरहेको नै हुन्छ’, उनले भने।
सोही खेलपछिको पत्रकार सम्मलेनमा उनले एन्फाले लिगप्रति गरेको व्यवहारप्रति असुन्तष्टि जनाएका थिए। राष्ट्रियस्तरको खेलप्रति एन्फा गैरजिम्मेवार रहेको र एन्फा चरम आर्थिक संकटबाट गुज्रिएको विषयमा आफू जानकार भएको बताएका थिए।
यता, एन्फाका महासचिव किरण राईले एन्फाबारे असम्बन्धित र अमर्यादित टिप्पणी गरेको भन्दै प्रशिक्षक केसीलाई ३ दिनको लिखित जवाफ माग गरेका छन्।
प्रशिक्षक केसी भन्छन्, ‘एन्फाले आफ्नो संस्थाबारे नकारात्मक कुरा आएपछि स्पष्टीकरण माग्नु स्वभाविक नै हो। उहाँहरुले हिजो मगंलबार मलाई इमेलमार्फत ३ दिनको समय राखेर स्पष्टीकरण माग्नुभएको छ। बिहीबार मेरो क्लबको खेल भएको कारणले गर्दा म शुक्रबार इमेलमार्फत नै एन्फालाई स्पष्टीकरण दिन्छु र सोही स्पष्टीकरण म पत्रकारहरुलाई पनि दिन्छु।’