दुवै खुट्टा गुमाएका पूर्व गोर्खा सैनिक हरिले दोहोर्‍याए मेरा पिक आरोहण

सगरमाथा आरोहण अगाडि अनुकूलनको लागि मेरा पिक आरोहण गरी हरि बुढाको टोली सगरमाथा आधार शिविर पुगेका छन्।बाल्यकालको सपना पछ्याउँदै विश्वका सबैभन्दा अग्लो चुचुरो सगरमाथा चढ्न उनी टोलीसहित अप्रिलको पहिलो हप्ता लुक्लातर्फ उडेका थिए। साहस र सकारात्मक सोचका धनी हरिले सगरमाथा चढेर विश्वका अपाङ्गता भएकाहरुले पनि गर्न सक्छन् भन्ने सन्देश दिन चाहन्छन्।


अफगानिस्तानको लडाइँमा दुवै खुट्टा गुमाएका पूर्व गोर्खा सैनिक हरिबहादुर बुढा मगर दोस्रो पटक मेरा पिक चढेका छन्। उनले १६ अप्रिलका दिन बिहान ९:३० बजे ६ हजार ४७६ मिटर अग्लो मेरा चुचुरो आरोहण गरेका हुन्।

दुई पटक मेरा पिक चढिसकेपछि खुशी व्यक्त गर्दै उनले भने, 'मैले यो सुन्दर हिमालको दोस्रो पटक आरोहण गरेको हुँ। कुनै पनि दोहोरो एम्प्युटीले यो पिक आरोहण गरेको छ जस्तो मलाई लाग्दैन।' आफ्नो टोली एचएस्टी एड्भेञ्चर परिवार, साथीहरू र विश्वभरका सबै समर्थकहरूलाई धन्यवाद दिँदै उनले भने, 'उहाँहरु बिना यो सम्भव हुने थिएन।'

मेरा पिक आरोहणको कुनै योजना नभएको बताउँदै उनले सगरमाथाको यात्राअघि ६ हजार मिटरसम्मको उचाइलाई अनुकूल बनाउने एक प्रकृया भएकाे बताए। 'केवल ७६ मिटरको उचाइ प्राप्त गर्न हामीले केही रातहरूका लागि ६ हजार ४०० मिटरमा क्याम्प खडा गर्‍यौँ। मौसम अत्यन्तै राम्रो थियो, त्यसैले हामी शिखर चढ्यौं', उनले थप्दै भने, 'यसको मतलब हामीले सगरमाथा क्याम्प २ सम्म अभ्यस्त भइसकेका छौं।'

अहिले हरिको आरोहण टोली सगरमाथा आधार शिविर पुगेको छ। 'क्याम्प-२ भन्दा माथि आरोहण रुट आखुला भएपछि खुम्बु आइसफल हुँदै सगरमाथाको आरोहण अगाडि बढ्ने छ। म धेरै बलियो र आशावादी महसुस गर्दैछु,' उनले भने।

युद्धमा दुबै खुट्टा गुमाएका पूर्वगोर्खा सैनिकको सगरमाथा चुचुरो चुम्ने सपना

सगरमाथा आधार शिविरमा 'पिलग्रिम ब्यान्डिट्स' च्यारिटी टोलीले उनलाई भेट गरेका थिए। टोलीसँग भेट्न पाउँदा उनी निकै खुशी भएको महसुस गरे। परोपकारी संस्थाले हरिको अभियानमा सहयोग गर्न २० जना अपाङ्गता भएका व्यक्तिहरूलाई ल्याएको थियो।

'उनीहरुलाई भेट्दा खुशी लाग्यो, जुन मेरो लागि ठूलो सम्मान हो,' हरिले भने, 'म यति धेरै व्यक्ति, परोपकारी, समुदाय र सहयोगबाट समर्थन पाउँदा विशेषाधिकार पाएको महसुस गरेको छु।'

बाल्यकालकाे सपना पछ्याउँदै विश्वका अग्लो चुचुरो सगरमाथा चढ्न उनी टोलीसहित अप्रिलको पहिलो हप्ता लुक्लातर्फ उडेका थिए। यसअघि उनले ६ हजार मिटरका हिमालहरु चढिसकेका छन्, योसँगै उनी विभिन्न साहसिक गतिविधिमा समेत सहभागी भएर विश्व किर्तिमानी राखिसकका छन्।

निकै साहस र सकारात्मक भएका हरिले सगरमाथा चढेर विश्वका अपाङ्गता भएकाहरुले पनि गर्न सक्छन् भन्ने सन्देश दिन चाहन्छन्। ५ वर्ष अगावै सगरमाथा चढ्ने योजना बनाएका उनी यो वर्ष सगरमाथाको चुचुरा पुगेर अंगविच्छेदन व्यक्तिको किर्तिमान राख्ने लक्ष्य लिएका छन्।

प्रकाशित मिति: : 2023-04-21 19:02:00

प्रतिकृया दिनुहोस्