‘जुम्ला रारा अल्ट्रा म्याराथन’मा नयाँ कीर्तिमान

चाैंथाे जुम्ला रारा अल्ट्रा म्याराथनको उपाधि दलबहादुर कुँवर र मञ्जु रावतले चुमे। विजयकाे डाेरी छुने बेलाकाे सयम हेर्दा उनीहरु दुबै जनाले अघिल्ला रेकर्ड ब्रेक गरेका छन्।

४९ किलोमिटरकाे दुरी पार गर्न दलबहादुरले ४ घण्टा ५४ मिनेट १० सेकेन्ड लगाए। उनले यसअघि तीन पटकसम्म उपाधि उचालेका अन्तर्राष्ट्रियस्तरमा ख्याति प्राप्त धावक दुर्गबहादुर बुढाकाे नाममा रहेकाे रेकर्ड ताेडेका हुन्।

बुढाले ४९ किलोमिटरकाे दुरी ५ घण्टा दुई मिनेट २० सेकेन्डमा पार गरेका थिए। तेस्रो जुम्ला-रारा म्याराथनमा द्वितीय भएका कुँवर जुम्लाको तातोपानी– ७ निवासी हुन्।

महिलातर्फ प्रथम भएकी मञ्जुले ६ घण्टा ६ मिनेट २४ सेकेन्डमा ४९ किलाेमिटरकाे दुरी पार गरिन्। उनी कनकासुन्दरी गाउँपालिकाकी हुन्।

तेस्रो जुम्ला रारा अल्ट्रा म्याराथनमा प्रथम भएकी शारदा भण्डारीले ६ घण्टा ३४ मिनेट ४१ सेकेन्ड लगाएर प्रथम भएकी थिइन्। यसअघि शारदाकाे नाममा भएकाे रेकर्ड मञ्जुले ताेडेकी हुन।

पुरुषतर्फ द्वितीय स्थान धिरबहादुर बुढा र तृतीय स्थान शेरबहादुर बुढाले ओगटेका छन्। उनीहरुले क्रमश: ४ घण्टा ५७ मिनेट ५७ सेकेण्ड र ५ घण्टा ८ मिनेट ४१ सेकेन्डमा तोकिएको दुरी पार गरेका थिए।

यसैबीच ५ घण्टा २६ मिनेट ५५ सेकेन्ड लगाएर लालचन्द्र रावत चौंथो, ५ घण्टा ३३ मिनेट ८ सेकेन्डमा दुरी पार गर्दै सोमबहादुर रावतले पाँचौ स्थान प्राप्त गरेका छन्।

महिलातर्फ ६ घण्टा ५४ मिनेट २७ सेकेन्डमा दुरी पार गर्दै गंगा भण्डारी द्वितीय र ७ घण्टा ५ मिनेट ४६ सेकेन्ड लगाएएर अनिता बुढा तृतीय भएको आयोजक कर्णाली स्पोर्ट्स क्लब जुम्लाले जनाएको छ।

७ घण्टा ५५ मिनेट ३९ सेकेन्ड लगाएर उमाकली बुढा चौंथो र ७ घण्टा ५९ सेकेन्ड १५ मिनेटको दुरी पार गर्दै कुशा बुढा रोकायाले पाँचौ स्थान प्राप्त गरिन्। म्याराथनमा उपाधि जित्ने पुरुष, महिला सबै जुम्लाका हुन्।

जुम्ला-रारा अल्ट्रा म्याराथनमा महिला पुरुष दुवैतर्फका प्रथम, द्वितीय र तृतीय हुने खेलाडीले क्रमशः नगद १ लाख, ७५ हजार ५० र चौंथो र पाँचौ हुने खेलाडीले २०/२० हजार नगदसहित प्रमाणपत्र र मेडल प्राप्त गरेका छन्।

२५ प्रतिशत कर कट्टी गरेर खेलाडीलाई पुरस्कार प्रदान गरिएको क्लबका सचिव मधुराज न्यौपानेले जानकारी दिए।

जुम्लाको चन्दननाथ मन्दिर अगाडिबाट सुरु भएको जुम्ला रारा अल्ट्रा म्याराथन रारा तालको हुटुमा पुगेर सकिएको थियो। उनीहरुलाई रारा तालमा औपचारिक कार्यक्रम गरेर पुरस्कार प्रदान गरिएको आयाेजक कर्णाली स्पाेर्ट क्लबका अध्यक्ष सरोज शाहीले जानकारी दिए।

‘म्याराथनमा ४९ किलोमिटरमा ७० जनाले नाम दर्ता गराएकोमा ५१ जना मात्रै दौडमा सहभागी थिए,’ उनले भने, ‘अमेरिकाका २, भारतका १, आयरल्यान्डका १ र बेलायतका १ जना खेलाडीले भाग लिएका थिए।’

शाहीका अनुसार यस प्रतियोगिताले कर्णालीको पर्यटन प्रवर्द्धनका साथै पर्यटकीय क्षेत्रको प्रचारप्रसारमा टेवा पुग्ने उद्देश्यसहित हरेक वर्ष कर्णाली खेलकुद क्लबले म्याराथनको आयोजना गर्दै आएको छ।

विश्वकाे फरक भाैगाेलिक विशेषता र रुटकाे विविधता भएकाे जुम्ला रारा म्याराथन कर्णालीकाे पर्यटन प्रवर्द्धन गर्ने उत्कृष्ट माध्यम बनेकाे छ।

अध्यक्ष शाहीले थपे, ‘२३ सय मिटरकाे उचाइबाट सुरु भएकाे यात्रा ३७ सय मिटरमाथि पुगेपछि ओरालाे झर्छ। फेरि २३ सयबाट उकालाे लाग्याे भने ४१ सय मिटरकाे उचाइसम्म दाैडिनुपर्छ।’

म्याराथनको उद्घाटन कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले गरेका थिए। डिभिजन वन कार्यालय जुम्लाको आर्थिक सहयोगमा जुम्ला रारा अल्ट्रा म्याराथनको आयोजना गरिएको थियो।

कर्णालीकाे अथाह सम्भावना रहेकाे पर्यटन क्षेत्रकाे प्रवर्द्धनका निम्ति हरेक वर्ष आयाेजन हुँदै आएकाे प्रतियोगिताकाे चाैंथाे संस्करण सफलतापूर्वक सम्पन्न भएकाे अध्यक्ष शाहीले बताए।

उनले भने,‘एक जना रमा चाैधरी नामकी खेलाडी हराउनु भयाे। रातभर तनाव भयाे। उहाँ रातभर वडारमा बस्नु भएछ। बाँकी सबैजना खेलाडी सकुशल पुग्नुभयाे। प्रतियोगिता सफलतापूर्वक सम्पन्न भयाे।’

प्रकाशित मिति: : 2023-04-26 16:15:00

प्रतिकृया दिनुहोस्