शरणार्थी प्रकरणमा ओली- पूर्वाग्रहपूर्ण ढंगले निर्दोषलाई फसाउने प्रयास भइरहेको छ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नै पार्टीका जोसुकै संलग्न भए पनि कारबाही हुनुपर्ने बताएका छन्।

बिहीबारदेखि पार्टी मुख्यालयमा सुरू भएको एमाले केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्ताे बताएका हुन्।

‘नक्कली शरणार्थी प्रकरणमा हाम्रै पार्टीका साथीहरुको पनि नाम आएको छ। हिजो हाम्रै सरकारमा रहेका साथीहरुको पनि आएको छ। यसमा म के भन्न चाहन्छु भने हाम्रै पार्टीका जोसुकै संलग्न भए पनि दोषीलाई कारबाही हुनुपर्छ’, उनले भने, ‘तर जबसम्म मान्छे दोषी ठहर हुँदैन, त्यतिबेलासम्म हामीले त्यस्तो आरोप लागेको व्यक्तिलाई दोषी करार गरिहाल्नु हुँदैन।’

उनले अनुसन्धानलाई अर्कोतिर लैजाने र अनावश्यक रूपमा पूर्वाग्रहपूर्ण ढंगले निर्दोषलाई फसाउने प्रयास भइरहेको आरोप लगाए।

‘दोषीलाई समातेर कठघरामा ल्याउनुपर्छ। तर कसैलाई फसाउनका लागि अनुसन्धानलाई कतातिर लैजाने भनेर चलखेल भएको, षड्यन्त्र भएको भन्ने प्रयास हुन्छ भने त्यो स्वीकार्य हुँदैन,’ ओलीले भने, ‘पूर्वाग्रहपूर्ण ढंगले, निराधार ढंगले आरोप लगाउने र फसाउने, एमालेविरुद्ध लगातार वैमनस्यता प्रकट हुँदै आएको छ। यस्ता कुरामा हामी सजग हुनुपर्दछ।’

प्रकाशित मिति: : 2023-05-11 12:43:00

प्रतिकृया दिनुहोस्