दर्शकले किन रुचाएनन् ए डिभिजन लिग ?

BreaknLinks
BreaknLinks

फुटबलको मेरुदण्ड मानिने डिभिजन लिगको खेलमा दर्शकको कम उपस्थितिले फुटबलको रौनक घटेको छ।

राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिग सकिन अब केही दिन मात्र बाँकी छ। गत वर्ष फागुन १९ गतेबाट सुरु भएको ए डिभिजन लिग फुटबल प्रतियोगिताको फाइनल आगामी जेठ २७ गते हुँदैछ।

यस वर्षदेखि डबल राउन्ड रोविन फम्यार्टमा भइरहेको लिगको शीर्ष स्थानमा ३३ अंकसहित चर्च ब्वाइज युनाईटेड छ भने खुमलटार युथ क्लब १७ अंकसहित लिगको अन्तिममा रहेको छ।

यस वर्षको नवप्रवेशी क्लब चर्च ब्वाइज युनाईटेड एउटा आशालाग्दो क्लब बनेको छ। यता, आठ पटक च्याम्पियन बनेकाे मनाङ मर्स्याङ्दी क्लबले भने आफ्नो खेलको स्तर गुमाएर राम्रो प्रदर्शनी दिन सकेको छैन।

त्यस्तै, लगातार दुई पटक ए डिभिजन लिगकाे च्याम्पियन बनेकाे मच्छिन्द्र क्लबले लिगको सुरुवाती खेलमा लय गुमाएकाे थियाे तर पछिल्लो केही खेलमा भने पुन: लयमा  लिएकाे छ।

यस वर्ष निकै रोमाञ्चक बनिरहेको डिभिजन लिगको खेलमा भने केही रौनकता छैन। डबल राउन्ड रोविन फम्यार्टमा भइरहेको खेलमा दर्शकको दरिलो साथ पाउन सकेको छैन। नेपालमा फुटबल भन्नासाथ रंगशाला पुग्ने दर्शक ए डिभिजन लिगको खेल जारी रहँदा पनि दर्शककाे उपस्थिति न्यून छ।

पटकपटक हुने गरेकाे अखिल नेपाल फुटबल संघ (एन्फा) विवादको प्रत्यक्ष असर लिगमा परेकाे प्रस्ट रुपमा देखिन्छ। लिगमा सोचेको जस्तो दर्शकको उपस्थिति नभएको एन्फाका सह-महासचिव बद्री भट्टराई बताउँछन्।

‘ए डिभिजन लिगमा सोचेको जस्तो दर्शकको उपस्थिति छैन। अहिले लिगको खेलमा दर्शक जाँदैनन् भन्ने कुरा पनि सत्य हो’, उनले बिएल नेपाली सेवासँग भने, ‘अहिले लिगमा दर्शक नआउनुको कारण भनेको राम्रो म्यानजमेन्ट नभएर हो। दर्शक तान्ने भनेको मार्केटिङले हो, मार्केटिङकै कुरामा मुख्य समस्या भएपछि लिगमा सोचेको जस्तो दर्शक पाउन सकिएको छैन।’

हालको अवस्थामा हेर्ने हो भने रंगशालामा क्लबका केही पदाधिकारी र केहीकेही समर्थकबाहेक अरु देखा पर्दैनन्। एन्फा पटकपटक विवादमा परेको कारणले गर्दा लिगमा दर्शकको उपस्थिति कम रहेको थ्री स्टार क्लबका प्रशिक्षक मेघराज केसी बताउँछन्।

‘एन्फा पटकपटक विवादमा परिरहेको हुन्छ, यो नै मुख्य कारण हो’, उनी भन्छन्, ‘नेपालमा एउटा गुणस्तरीय खेलहरुको आयोजना गर्नुपर्छ, जसले गर्दा फुटबलको एउटा स्ट्यान्डर्ड मेन्टेन्ट हुन्छ।’

०००

नेपाली फुटबलको पछिल्लो तथ्यांक हेर्न हो भने विगत एक वर्षमा राम्रो छवि बनाएका ४० जनाभन्दा बढी फुटबल खेलाडीहरु विदेशिएका छन्। नेपाली खेलाडी विदेशिएपछि यसपटकको लिग विदेशी खेलाडीको भरमै सञ्चालन गरिएकाे छ। जारी लिगमा त्रिभुवन आर्मी फुटबल क्लबबाहेक बाँकी १३ क्लबमा अधिकांश विदेशी खेलाडीहरुलाई अनुबन्धित गरिएकाे छ।

नेपाली खेलाडीकाे संख्या कम भएकाे कारणले गर्दा चाेटपटक लागेकाे अवस्थामा पनि खेल्न बाध्य छन्। ए डिभिजन लिगमा आफूलाई मनपर्ने खेलाडी नभएपछि दर्शकहरु लिगबाट अलि टाढा भएको आर्मी फुटबल क्लबका खेलाडी जगजीत श्रेष्ठको भनाई छ।

‘दर्शकहरु आफूलाई मनपर्ने खेलाडीको खेल्न हेर्न आउनुहुन्छ तर आफ्नाे रूचिअनुसारकाे खेलाडी नभएपछि उपस्थिति घट्छ’, उनी भन्छन्, ‘विगतको वर्षमा नाम चलेको फुटबलरहरु ए डिभिजन लिगमा हुनुहुन्थ्याे, अहिले धेरै खेलाडीहरु विदेशिएका छन्। आफूलाई मनपर्ने खेलाडी नभएपछि दर्शकहरु खासै खेल हेर्न आउन रुचाउँदैनन्।’

ए डिभिजन लिगलाई एन्फाले फुटबलको पर्वको रुपमा सञ्चालन गर्ने प्रतिबद्धता जनाएको थियो। तर, नेपालकै टप डिभिजनमा रहेको लिगमा केही रौनकता नआएपछि नेपाली फुटबलको स्तर घटिरहेको बताइन्छ।

‘नेपालको अन्तर्राष्टिय स्तरहरुको खेलमा दर्शकको उपस्थिति उल्लेखनीय हुन्छ, नेपाली फुटबलले एउटा स्ट्यान्डर्ड मेन्टेन्ट गर्न सकेको छैन। यस्तै खालको स-साना प्रतियोगिताहरुलाई गुणस्तरीय ढंगले आयोजना गर्यो भने दर्शकहरुकाे मोह बढदै जान्छ। अहिले ए डिभिजन लिग पनि पटकपटक स्थगित भएपछि व्यवस्थापन गतिलो नभएको कारणले लिगको खेल यसपटक दर्शकहरुको रुचिमा परेन’, प्रशिक्षक मेघराज केसीले भने।

विगतका वर्षहरूमा आफ्नो क्लबलाई हौसला दिन मैदानमै पुग्ने दर्शकहरु पछिल्लाे घटिरहेका छन्। एन्फाको नेतृत्व र बढ्दो खेलाडी पलायनले ए डिभिजन लिगको महत्व गुमाउने अवस्थामा पुगेकाे छ।

‘पहिला खेल हेर्न दर्शकहरु रंगशालाा नै आउने गर्दथे तर अहिले मानिसको हातहातमा मोबाइलमा छ, जसका कारण दर्शकहरु रंगशाला आउन खासै रुचाउनु भएको छैन’, एन्फाका प्रवक्ता सुरेश साह भन्छन्, ‘लिगका खेलहरुलाई उकास्न फ्यान क्लबले ठूलो प्रभाव पार्छ। विगतको वर्षमा मार्केटिङ र एन्फाले दर्शकहरुलाई केही अफर ल्याउँथ्यो, तर यसपटक केही अफर नभएको कारणले गर्दा पनि हामीले ए डिभिजन लिगमा सोचेको जस्तो दर्शकको उपस्थिति पाएका छैनौँ।’

दर्शक मात्र नभई ए डिभिजन लिगमा एन्फाका पदाधिकारी मैदानमा देखा नपरेको कुराले पनि यतिबेला चर्चा पाइरहेको छ। ए डिभिजन लिगमा एन्फाका पदाधिकारीहरु देखा नपरेको एन्फामाथि आरोप छ नि भन्ने बिएल नेपाली सेवाको प्रश्नमा सह-महासचिव भटराई भन्छन्, ‘यो कुरा एकदम गलत हो। अब एन्फाका पदाधिकारी हरेक खेलमा गएर बस्ने कुरा हुँदैन।’

उनले एन्फाका केन्दीय सदस्यहरु हरेक खेलमा उपस्थिति भइरखेकाे बताए। उनी भन्छन्, ‘एन्फाका केन्दीय सदस्यहरु हरेक खेलमा उपस्थिति भइरख्नुभएको छ। एन्फाका अधिकारीहरु पनि खेलमा पुगी नै रहनुभएको छ। अब एन्फाका अध्यक्ष, महासचिव देखा नपर्नु त्यो छुट्टै कुरा हो, उहाँहरु आफ्नै काममा व्यस्त हुनुहुन्छ।’

त्यस्तै, सोही प्रश्नमा एन्फका प्रवक्ता शाहा भन्छन्, ‘यो चाहिँ गलत हो, म आफैँ हरेक खेल मैदानमा पुगिरहेको हुन्छु। एन्फाको लिग व्यवस्थापन कमिटीका सदस्यहरु सधैँ नै मैदानमा पुगिरहनुहुन्छ।’

प्रकाशित मिति: : 2023-05-20 06:50:00

प्रतिकृया दिनुहोस्