भू-माफियासँग मिलेर वडाध्यक्षले बेचे सिंगो गाउँ

पछिल्लो समय भू–माफियाहरू सलबलाउन थालेको पाइएको छ।

भू–माफियाहरूसंगको मिलेमत्तोमा वडाध्यक्षले सिंगो गाउँ नै उनीहरूका नाममा पास गरिदिएपछि यसको रहस्य खुलेको हो। अध्यक्षले माफियासँग मिलेर गाउँ नै बेचेको भन्दै ३६ घरपरिवारले नगपालिकामा निवेदन दिएका छन्।

मोरङ पथरी शनिश्चरे– ५ भोटेघुम्तीको सिंगो गाउँ नै वडाध्यक्ष चेतेन्द्र खड्का (चेतन)ले माफियालाई मोटो रकममा सौदाबाजी गरेको स्थानीयकाे भनाइ छ।

वडामा बसोबास नै नगरेका मान्छेलाई वडाका स्थायी बासिन्दा भनेर एउटा गाउँ नै २ व्यक्तिका नाममा पूर्जा प्राप्तीका लागि खड्काले सिफारिस गरेपछि माफियाहरूले पूर्जा नै प्राप्त गरेको स्वयम् खड्का मान्छन्।

२०५३ सालमा योगेन्द्र कटुवाल र अम्बिका बोहोरा क्षेत्रीले सो गाउँमा पर्ने ६ ञ को कित्ता नं. ४८ को २ बिगाहा ६ कट्ठा १ धुर र कित्ता नं. ७७ को ५ कट्ठा १० धुर गरी जम्मा २ बिगाह ११ कट्ठा ११ धुर जग्गाको मालपोत कार्यालय बेलाबारीमा श्रेष्ता कायम गराएका थिए। सोही श्रेष्ताको दर्ता प्रयोजनका लागि मात्रै भनेर मालपोत कार्यालय बेलबारीबाट २०७४ सालमा श्रेष्ताको उतार कपी लिएको पाइएको छ।

सोही उतार कपीलाई आधार बनाएर कटुवाल र क्षेत्रीले २०७९ पौष १४ गते पथरी शनिश्चरे नगरपालिकामार्फत सो जग्गाको १५ हजार २५२ रुपैयाँ मालपोत तिरेको देखिएको छ।

मालपोत तिर्दा उनीहरूले पथरी शनिश्चरे वडा नं. ७ मा पर्ने जग्गा भनेर मालपोत तिरेका छन्। यसको अर्थ उनीहरूलाई सो जग्गा कहाँ पर्छ भन्ने समेत यकिन नभएको बुझिन्छ।

मालपोत तिरेर उनीहरू वडा नं. ७ मा सुरुमा सिफारिसका लागि पुगेका थिए तर वडा नं. ७ ले सिफारिस नदिएपछि वडा नं. ५ मा पुगेर सोही जग्गाको जग्गा धनिपूर्जा हराएकाले धनिपूर्जा प्रतिलिपी सिफारिस पाउँ भनि निबेदन दिएका थिए।

निवेदनमा जग्गाको कित्ता नम्बरबाहेक कति जग्गा हो भन्ने समेत खुलेको छैन्। वडा नं. ७ भनेर तिरेको मालपोत रसिद, श्रेष्ता मात्रै कायम भएको भनेर दिएको निस्साका आधारमा वडाध्यक्षले जानाजान उनिहरूलाई धनिपूर्जाको प्रतिलिपी दिन मालपोत कार्यालय बेलबारीलाई २०७९ पौष १७ गते सिफारिस गरेका छन्।

यति मात्रै हैन अध्यक्ष खड्काले उनीहरूको फोटो टाँस गरी प्रमाणित गरेर उर्लाबारीका मान्छेलाई पथरी शनिश्चरे वडा नं. ५ बस्ने भनेर सिफारिस गरिदिएका छन्।

कटुवाल र क्षेत्रीले श्रेष्ता कायम गराउँदादेखि हालसम्म त्यहाँ उनीहरूको उपस्थिती छैन् र सो जग्गा २०३५–०३६ सालमा ढाँलफाँड गरेर हाल बसोबास गरिरहेका स्थानीयवासीको भोगचलन रहँदै आएको पीडित ईश्वरबहादुर थापाले बताए।

पटक-पटक जग्गाको पूर्जा निकाल्ने दाउमा रहेका माफियाको गिरोहले निर्वाचन आउँदै पिच्छे मान्छे प्रयोग गर्ने गरेका छन्। यो जग्गाको पूर्जाका लागि यसअघि पनि वडामा पटक-पटक धाइरहेका थिए तर आफूले सिफारिस नगरेको निवर्तमान वडाध्यक्ष जोगबहादुर धिमालले बताए।

आफूलाई पटक-पटक मोटो रकमको लोभ देखाए पनि आफूले सिफारिस नगरेको धिमालको भनाइ छ। अघिल्लो कार्यकालमा वडा सदस्य रहेका खड्का अहिले वडाध्यक्ष छन्।

उनको दोस्रो कार्यकालमा भोगचलन गर्नेलाई पूर्जा वितरण गर्ने र जनताको मन जित्ने सुनौलो अवसर थियो तर खड्काले माफियाको चुंगुलमा परेर मोटो रकममा सिंगो गाउँ नै सुम्पिएको पीडित धनबहादुर मगरले बताए।

अध्यक्ष खड्काले भने यस विषयमा आफूलाई कुनै प्रलोभनमा पारेको वा सौदाबाजी नगरेको बताएका छन्। आफूले अन्जानमा सिफारिस गरेको र आफ्नो वडामा यस्तो प्रकृतिको जग्गा होला भनेर समेत थाहा नभएको बताए।

पूर्जा प्राप्त गरेपछि सोही व्याक्तिहरूले जग्गा बैंकमा राख्नका लागि आवश्यक पर्ने घरबाटो सिफारिस दिए २ लाख रुपैयाँ दिने प्रलोभन देखाएको तर घरबाटो सिफारिस भने नगरेको बताए।

सो जग्गा तत्काल रोक्का गर्नका लागि नगरपालिकाले सिफारिस गरेपछि स्थानीय र अध्यक्ष खड्का सहित मालपोत कार्यालय बेलबारी पुगेर जग्गा रोक्का गरेको पीडित गोकुल राईले बताए।

कागजी रुपमा हेर्ने भएकाले वडाबाट समेत पूर्जाका लागि सिफारिस आएपछि पूर्जा दिन बाध्य भएको मालपोत कार्यालय बेलबारीले जनाएको छ। २०७४ सालमा श्रेष्ताको उतार कपी पठाएको विषयमा भने मालपोतमा कुनै रेकर्ड छैन्।

थप कागजपत्रहरु :

प्रकाशित मिति: : 2023-05-19 18:38:00

प्रतिकृया दिनुहोस्