जीर्ण बन्दै जुम्ला क्याम्पस, नयाँ संरचना निर्माणमा सरकार उदासीन

साविकको कर्णाली अञ्चलमा स्थापना भएकाे त्रिभुवन विश्वविद्यालयकाे एकमात्र आंगिक जुम्ला बहुमुखी क्याम्पस दिनप्रतिदिन जीर्ण बन्दैछ। वि.सं. २०३० सालमा विस्तार क्याम्पसको रुपमा स्थापना हुँदा बनाइएका भवनहरु चर्किएका छन्। कति भत्किएका छन् भने कति मर्मत गरेर काम चलाइएको छ।

त्यसयता नयाँ संरचना निर्माण हुन सकेका छैनन्। 'चर्किएका भवनमा प्राध्यापकहरुकाे बास छ', जुम्ला बहुमुखी क्याम्पस प्रमुख डा. ओम प्रकाश आचार्यले भने, 'केन्द्रबाट क्याम्पस मर्मत सम्भारका लागि कुनै खर्च आउँदैन। त्यसैले भएका संरचना जीर्ण बन्दै गएका छन्।'

क्याम्पस विस्तार हुँदा प्राथमिक प्रशिक्षण कार्यक्रम सञ्चालक गरिएको थियो। वि.सं. २०४५ सालमा शिक्षाशास्त्र संकायमा प्रविणता प्रमाणपत्र तहको कार्यक्रम सुरु हुँदा जुम्ला शिक्षा क्याम्पसको रुपमा परिणत भयाे भने २०४८ सालमा व्यवस्थापन संकायतर्फको प्रविणता प्रमाणपत्र तहको पठन पाठन प्रारम्भ हुँदा बहुमुखी क्याम्पसको रुपमा रुपान्तरित भयाे।

'त्यसयता आजसम्म क्याम्पसले हजारौं विद्यार्थी उत्पादन गरिसकेकाे छ', सहायक क्याम्पस प्रमुख प्रकाशचन्द्र खत्रीले भने, 'क्याम्पसले उत्पादन गरेका विद्यार्थीहरु देशका विभिन्न निकायका उच्च ओहाेदासम्म पुगेका छन्। तर क्याम्पसकाे अवस्थामा कुनै परिवर्तन हुन सकेको छैन।'

हाल क्याम्पसमा स्नातक र स्नातकोत्तर तहकाे अध्ययन, अध्यापन भइरहेकाे छ। कक्षाहरु नियमित भइरहेका छन्। तर चार जना मात्रै स्थायी उपप्राध्यापकले काम चलाउनु परेकाे क्याम्पस प्रमुख आचार्यले थपे। उनले भने, '१७ जना आंशिक प्राध्यापकले क्याम्पस धानिरहेकाे अवस्था थियाे। भर्खरै शिक्षण सहायक सरहकाे नाै जना जनशक्ति थपिँदा आशा पलाएकाे छ। तर त्यसकाे व्यवस्थापनका निम्ति हालसम्म बजेट व्यवस्था भइसकेको छैन। क्याम्पसले कुनै पनि खालकाे खर्च धान्न सक्ने स्थिति छैन।'

जनशक्ति थपिए पनि भाैतिक पूर्वाधार साेचेजस्ताे नहुँदा गुणस्तर कामय गर्ने मामलामा चुक्नु परेकाे व्यवस्थापन संकायका विभागीय प्रमुख उपप्राध्यापक डम्बर बहादुर महतले बताए। 'हामी स्तरीय शिक्षा दिन चाहन्छौं। तर पर्याप्त बजेट नहुँदा स्राेत साधान जुटाउन सकिएकाे छैन,' उनले भने, 'चाहेर पनि गर्न नसक्नु बाध्यता बनेकाे छ।'

समयअनुरुप क्याम्पसमा उच्च तहकाे अध्ययन, अध्यापन कार्य भइरहेकाे छ। तर विद्यार्थी राख्ने राम्रा कक्षा काेठा छैनन्। प्राध्यापक बस्ने गतिला आवास छैनन्। केन्द्रबाट मर्मतसम्भारकाे लागि कुनै पनि बजेट नआउने हुँदा समस्या भइरहेको लेखा प्रमुख विज्ञान नगरकाेटीले बताए।

'केन्द्रबाट स्थायी प्राध्यापक र कर्मचारीकाे तलब, भत्ता तथा सञ्चयकाेष बाहेक अरु केही पनि आउँदैन। उहाँहरुलाई दिने पारिश्रमिककाे पनि १० प्रतिशत हामी आफैँले व्यहाेर्नुपर्छ', उनले भने, 'हाम्राे आम्दानीकाे स्राेत भनेकाे विद्यार्थीबाट उठाउने भर्ना शुल्क मात्रै हाे।'

विद्यार्थीको चापअनुसार केन्द्रले दुर्गम मानेकाे जुम्ला बहुमुखी क्याम्पसलाई अन्य क्याम्पसको तुलनामा विकास गरिनु पर्ने देखिन्छ। तर बजेटकाे सीमितता हुँदा क्याम्पस खुम्चिनुपर्ने अवस्था आउन दिन नहुने स्वतन्त्र विद्यार्थी युनियनका अध्यक्ष महेश हमालले बताए।

'हामी क्याम्पसकाे समग्र विकासका निम्ति आएका हाैं। कर्णालीकाे एकमात्र आंगिक क्याम्पसलाई सबै तहका सरकारले प्राथमिकतामा पार्नुपर्छ', उनले भने, 'हालसम्म कुनै तहका सरकारले सहयोग नगरेकाे देखिन्छ। याे भनेको हाम्राे नेतृत्वको शिक्षाप्रतिकाे उदासीनता हाे। अब हामी जिम्मेवार हुन आग्रह गर्नेछौं।'

हाललाई जुम्ला बहुमुखी क्याम्पसकाे आम्दानीकाे एकमात्र स्राेत भनेकाे विद्यार्थी भर्ना हाे। पुँजीगत सुधार भनेर कहिलेकाहीँ त्रिवि र विश्वविद्यालय अनुदान आयाेगबाट भवन हाल्ने बाहेक अरु सहयोग भइरहेका छैनन्।

'केन्द्रीय कार्यालयले स्थानीय सरकार र प्रदेश सरकारसँग समन्वय गर भन्छ,' लेखा प्रमुख नगरकाेटीले भने, 'तर स्थानीय तह र प्रदेश सरकारबाट हालसम्म कुनै पनि रकम आएकाे छैन।'

२०७४ पछि स्थानीय तहबाट बजेटकाे व्यवस्था नभएपनि त्यस अगाडि जिविस, गाविसहरुले सहयोग गरेकाे सहायक क्याम्पस प्रमुख खत्रीले बताए। उनले भने, 'हाम्रो समन्वय अभाव हुँदा क्याम्पसमा पर्याप्त मात्रामा बजेट आउन सकेन। अहिले त स्वतन्त्र विद्यार्थी युनियन पनि छ। हामी सबै मिलेर सबै क्षेत्रमा समन्वय गर्नुकाे विकल्प छैन।'

प्रकाशित मिति: : 2023-05-20 16:40:00

प्रतिकृया दिनुहोस्