रेशम चौधरीको आममाफी माओवादी जनयुद्धकाे समाधान जस्तो होइन: एमाले सचेतक बर्तौला

File Photo
File Photo

टिकापुर घटनाका दोषी रेशम चौधरीलाई सरकारले आममाफी दिएपछि उनी जेलमुक्त भएका छन्। टिकापुर घटना राजनीतिक घटना भएको भन्दै गणतन्त्र दिवसका अवसरमा चौधरीलाई सरकारले आममाफी दिएको हो।

चौधरीको आममाफीको विषयमा दुई धार देखिएको छ। कसैले आममाफी दिनु गतल भनिरहेका छन् भने कतिपयले चौधरीलाई आममाफी दिनु सरकारकाे कदम ठिक रहेको बताइरहेका छन्।

आमरुपमा दुई धार देखिरहँदा नेकपा एमालेका नेताहरूले चौधरीको आममाफी सही नभएको टिप्पणी गरेका छन्। सरकारले आफ्नो सत्ता टिकाउने उनलाई आममाफी दिएको आरोप एमाले नेताहरुको छ।

यसअघि एमालेका अध्यक्ष केपी शर्मा ओली सरकारमा हुँदा उनलाई आममाफी दिनुपर्ने बताएका थिए। अहिले सबैभन्दा बढी विरोध गरेको छ भने त्यो एमालेका नेताहरु छन्।

एमालेले किन दोहोरो चरित्र देखाइरहेको छ? रेशम चौरधीलाई उन्मुक्ति दिनु कसरी गलतलगायतका विषयमा एमाले सचेतक महेशकुमार बर्तौलासँग छोटो कुराकानी गरेका छौँ।

प्रस्तुत छ बिएल नेपाली सेवासँग बर्तौलाले गरेको कुराकानीको सम्पादित अंशः

रेशम चौधरीको आममाफीलाई नेकपा एमालेले कसरी लिएको छ?

रेशम चौधरीलाई दिइएको आममाफीले पहिलाे कानुनी शासनलाई सहयोग पुग्छ कि पुग्दैन भन्ने गम्भीर प्रश्न उठ्यो। दोस्रो कतिपय कुराहरु राजनीतिक प्रकृतिका पनि हुन सक्छन्। त्यस्ता घटनालाई राजनीतिक ढंगले पनि हल गर्नुपर्ने अवस्था हुन्छ।

हिजो माओवादीको दशवर्षे जनयुद्धलाई राजनीतिक रुपमा समाधान गरेको जस्तो सबै मुद्दालाई राजनीतिकरण गरेर जाने हो भने हामी कहाँ पुग्छौँ? धेरै समूहले तराईमा हिंसात्मक घटनाहरु गरे, त्यसलाई कसरी बुझ्ने? सबै हिंसाका घटनालाई राजनीतिकरण गर्ने हो भने समाज कहाँ पुग्छ?

मुद्दा त सबै राजनीतिक हुन्छ, सामाजिक मुद्दा उठाएका हुन्छन्। यस्ता कुरामा ख्याल गर्नुपर्ने हुन्छ। रेशम चौधरीको विषयमा सरकारले गर्नुपर्ने सबै गरिसक्यो। राष्ट्रपतिबाट पनि माफी दिएर उनी छुटिसके पनि। तर पहिलो कुरा तीन तहको अदालतले एउटै प्रकृतिको फैसला गरेको छ। अदालतले एउटै प्रकृतिको फैसाल गर्नुपर्ने कारण त केही होला पक्कै पनि। नभएको भए अदालतले फैसला गर्ने थिएन।

दोस्रो कुरा सर्वोच्च अदालतको फैसलाको पूर्णपाठ आएको छैन। तेस्रो कुरा सम्बन्धित व्यक्ति भोलि पुनरावलोकनको अवस्थामा जान सक्ने बाँकी छ। रेशमलाई आममाफी दिने कुरा रितपूर्वक नभएको देखिन्छ। हतारहतारमा यस्तो नगरिएको भए हुन्थ्यो। यसले कानुनी राज्यलाई उपहास गरेको छ। त्यो पनि गणतन्त्र दिवसका दिन आममाफी दिने नसुहाएको मलाई लाग्छ।

एमालेको दोहोर चरित्र किन?

अघिल्लो पटक रेशम चौधरीको मुद्दा अदालतमा विचाराधीन अवस्थामा थियो। हिजो दुई अदालतको फैसला आएको थियो तर सर्वोच्च अदालतमा बाँकी थियो। आज त सर्वोच्चले फैसला गरिसकेको छ। सर्वोच्च अदालतले फैसला गरिसकेपछि पूर्णपाठ आएको छैन। एमालेको दोहोरो चरित्र होइन।

हाम्रो समाज नकारात्मक अवस्थामा गइसकेको छ। किनभने कुनै विषय के ठिक के बेठिन भन्ने कुरा एउटा नागरिकले सबैलाई भन्न पाउँछ। यो देशमा १० लाख बढी एमालेमा संगठित सदस्य छन्। केही सन्दर्भमा रेशमको घटना राजनीतिक बुझाइ पनि भयो होला। मैले भन्न खोजेको उनलाई आममाफी दिने प्रकृया नै मिलेको छैन भन्ने हो।

यदि यो विषय राजनीनिक नै हो भने पनि हप्तादिन सर्वोच्चले फैसला गरेको पूर्णपाठ नआउँदै हतार गरेर आममाफी दिने त होइन नि। त्यसमा पुनरावलोकन गर्ने अवस्था विकल्प पनि थियो। सबै बाँकी हुँदा पनि आममाफी दिने कुरा मिलेन।

राजनीतिक दलले चाहे भने जस्तोसुकै अपराधका व्यक्ति पनि छुट्ने रहेछन् भन्ने पनि हो?

हो नि, सत्ता टिकाउनका लागि अपराधको प्रकृतिलाई नहेरिकन निर्णय गर्ने होइन नि। एक पटक पीडितलाई हेर्नुस् त, एउटा मारिएको कसैको श्रीमान गुमेको छ। कल्पना गरौँ त खेदिखेदी भाला रोपेर मान्छे मारिएको छ। यो घटना सामान्य छैन नि, विभत्स छ। यस घटनामा राजनीतिक रंग दिने कुरा राम्रो होइन। रेशम चौधरीलाई दिइएको आममाफीले गलत नजीर बस्यो भन्ने मलाई लाग्छ।

कसरी गलत नजीर बस्यो?

कसैले हिंसात्मक घटना घटायो। त्यसपछि राजनीतिक मुद्दा लियो। कुनै राजनीतिक नारा दिएर मान्छे मार्दै हिँड्यो र उसले हामीले राजनीतिक आन्दोलन हो भनेर उन्मुक्ति पाउने अवस्था आयो भने के हुन्छ? राजनीतिकका नाममा राज्यका स्रोतसाधान ध्वस्त पार्दै हिँड्ने, मान्छे मार्दै हिँड्नेलाई राजनीतिकरण भन्न मिल्दैन।

अब भोलि सरकारले गौर हत्या, रौतहटमा ज्यूँदै मान्छेलाई इट्टाभट्टामा पोलेको घटनाका मान्छेलाई पनि उन्मुक्ति दिने दिन आउन सक्छ। के यसलाई सुशासन भनेर मान्दिनु पर्ने? अनि गलत नजीरले यस्तै अपराधका घटना घटाउनेलाई उन्मुक्ति दिने त हो नि।

कानुनी राज्य भनेको के हो? संविधानवाद भनेको के हो? यस्तो काम गर्न मिल्दै मिल्दैन नि। जोसुकैले गरे पनि रेशम चौधरीलाई उन्मुक्ति दिने कुरा ठिक होइन। आपराधिक घटनालाई आपराधिक आँखाबाट हेर्नुपर्छ।

के रेशम चौधरीलाई दिइएको उन्मुक्ति संरक्षकबाटै गणतन्त्रमाथि प्रहार भएको हो?

म तपाईंलाई यत्ति भन्छु, सरकारले अहिले जे गरेको छ, यो गलत भएको छ। यस्तो गर्न मिल्दैन।

सरकारको गलत नजीरले भोलि जिउँदै इट्टाभट्टामा मान्छे मार्ने मोहम्मद अफ्ताव आमलदेखि अहिले नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडिएकाले पनि उन्मुक्ति पाउनेमा शंका उब्जियो नि?

हो, भोलि सरकारले जे पनि गर्न सक्छ। गलत नजीर बसिसक्यो। गलत नजीरले उनीहरुले पनि उन्मुक्ति नपाउलान् भन्न सकिँदैन। जिल्ला, उच्च, सर्वोच्च अदालतले फैसला गरेको कुरालाई सरकारले आममाफी दिन मिल्दैन। हामीले किन अड्डा, अदालत स्थापना गरेको त उसको फैसला हामीले मान्नु पर्दैन भने।

आज रेशम चौधरीको कुरा होइन, देश कता जाँदैछ भन्ने कुराको चिन्ता हो। यसले कानुनी राज्यको आभाष हुन्छ कि हुँदैन भन्ने हो। सवालको कुरा यो हो। रेशमको कुरा मात्र होइन।

प्रकाशित मिति: : 2023-05-29 15:38:00

प्रतिकृया दिनुहोस्