बजेटमा नवलपुर : फलाम खानी उत्खननदेखि ट्रमा सेन्टरसम्म

फाइल तस्बिर
फाइल तस्बिर

सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि ल्याएको बजेटमा नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का विभिन्न आठ वटा योजना समेटिएका छन्। 

बजेटले जिल्लामा धौवादी फलाम खानीसहित नमुना जिल्ला सदरमुकाम तथा ट्रमा सेन्टर निर्माणदेखि अन्य विषयलाई सम्बोधन गरेको छ। बजेटबाट धौवादी फलाम खानीको उत्खनन् कार्य प्रारम्भ गर्ने बताइएको छ। 

अर्थमन्त्री डा प्रकाशशरण महतले प्रस्तुत गर्नुभएको बजेटमा धौवादी फलाम खानीको विस्तृत सर्वेक्षण, विस्तृत परियोजना प्रतिवेदन तयारी गर्दै वातावरणीय सम्भाव्यता अध्ययन सम्पन्न सकेर फलाम उत्खनन् कार्य प्रारम्भ गरिने उल्लेख गरिएको छ। त्यस्तै, राष्ट्रिय ट्रमा सेन्टरको क्षमता विकासका लागि बजेट व्यवस्था भएको महतले बताए। 

उनका अनुसार विभिन्न जिल्लासँगै नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा नजिकको सरकारी अस्पतालसँगको समन्वयमा प्राथमिक ट्रमा केयर सेन्टर स्थापना गरी सञ्चालनमा ल्याइनेछ। 

कालीगण्डकी करिडोरको गैँडाकोट–राम्दी–बागलुङ खण्ड र बेनी–जोमसोम–कोरोला खण्ड गरी थप ६० किलोमिटर सडक कालोपत्रे गरी स्तरोन्नति गरिने बजेटमा जनाइएको छ। कालीगण्डकी करिडोर सडक निर्माणका लागि रु एक अर्ब ५८ करोड बजेटको व्यवस्था गरिएको अर्थमन्त्री महतले बताए। 

पर्यटनको सम्भावना उच्च भएका धार्मिक, सांस्कृतिक र ऐतिहासिक स्थलको विकास गरिने भन्दै उनले जिल्लाको देवघाट–त्रिवेणीधाम संरक्षण तथा पूर्वाधार विकास एवं सौन्दर्यीकरण गरिने बताए। 

चार लेनमा विस्तार भइरहेको नारायणगढ–बुटवल सडकखण्डको विस्तार तथा स्तरोन्नति कार्य आगामी आर्थिक वर्षमा सम्पन्न गरिने बजेटमा उल्लेख छ। त्यसैगरी नवलपुर र चितवन जोड्ने गरी नारायणी नदीमा सिग्नेचर पुल निर्माण कार्य सुरु गरिने उनले बताए। 

चार वर्षअघि शिलान्यास गरिएको नवलपुरको नमुना जिल्ला सदरमुकाम निर्माणको काम सुरु हुने भएको छ। नवलपुरको जिल्ला सदरमुकामको प्रशासनिक केन्द्रमा एकीकृत कार्यालयहरु तथा सहरी पूर्वाधारको निर्माण कार्य सुरु गरिने बजेटमा उल्लेख छ। 

देशको मध्यभाग भएर बग्ने नारायणीलगायतका ठूला सिँचाइ प्रणालीलाई पूर्ण क्षमतामा सञ्चालन गर्न मर्मत–सम्भार तथा पुनस्र्थापनाका लागि रकम विनियोजन गरिएको उनको भनाइ छ। 

नारायणीसहितका देशका प्रमुख नदीहरुमा जोखिमयुक्त नदी तथा पहिरो नियन्त्रण तथा व्यवस्थापन गर्न रु एक अर्ब ६५ करोड विनियोजन गरेको उनको भनाइ छ। 

नारायणी नदी नियन्त्रण गरी किनारको जग्गामा आकर्षक उद्यान निर्माण र सौन्दर्यीकरण गर्न रकम विनियोजन गरिएको अर्थमन्त्री महतले बताए। 

प्रकाशित मिति: : 2023-05-29 22:12:00

प्रतिकृया दिनुहोस्