वन हेरालु भन्छन्– ‘वन्यजन्तु बढ्दा डर लाग्दैन खुसी लागेको छ’

फाइल तस्बिर
फाइल तस्बिर

'हाम्रो वनमा वन्यजन्तु बढेका छन्। घरपालुवा जनावर र मान्छे नै वन्यजन्तुले मारेका छन्। तर पनि हामीलाई डर लाग्दैन खुसी लाग्छ', यो भनाइ हो बाँकेको राप्तीपीडित तथा गुलरी सामुदायिक वनका वन हेरालु धनीराम थारूको। उमेरले ५६ वर्ष लागेका उनले भने, 'पहिला–पहिला वन उजाड हुन्थ्यो, हामीलाई निकै नै न्याश्रो लाग्थ्यो। तर अहिले हाम्रो पनि वन हराभरा छ। वन्यजन्तु देख्न पाइन्छ। यो हाम्रा लागि निकै खुसीको कुरा हो, यो खुसीमा वन्यजन्तुको डर लाग्दैन।'

थारुको भनाइअनुसार आजभन्दा पाँच वर्ष पहिले उक्त सामुदायिक वन उजाड थियो। पाँच–छ वर्षयता वनलाई जोगाउन थालेपछि वन हरियाली हुन थालेको र वन्यजन्तु पनि बढेको उनको भनाइ छ। बिहानै झिसमिसेमा उठेर वनभित्र छिरिसक्नुपर्ने उनले बताए। 'एकाबिहानै उठेर वनमा छिरिसक्नुपर्छ। अलि ढिला गर्यो भने त घाँसदाउरा काट्ने र तस्करले जे पनि गर्न सक्छन्', उनले भने, 'घामपानी जे परे पनि समयमै वनभित्र छिरिसकेका हुन्छौँ हामी वन हेरालुहरू।'

बिहान ६ बजे वन कुर्न गएका थारु खाना खान ११ बजेमात्र घर फर्कने बताउँछन्। 'भोकप्यास जे लागे पनि सहेरै वनलाई घाँसदाउरा चोर्न आउनेबाट जोगाउनका लागि साँझ ७ बजेसम्म बस्नैपर्छ', उनले भने, 'सिकारी पसेको सूचना पाउँदा त झनै रातिको ११–१२ बजेसम्म वनमै बस्नुपर्छ।' वन्यजन्तुको आक्रमण हुने सम्भावना उच्च रहे पनि वन र सिकारीबाट वन्यजन्तुलाई जोगाउनकै लागि ज्यानको बाजी लगाएर वन हेर्नैपर्ने उनको भनाइ छ। 

बाह्र वर्षदेखि वनको हेरचाह गर्दै आएका थारुले वन्यजन्तुको आक्रमणबाट कसरी जोगिने भन्ने विषयमा बेला–बेला तालिममा सहभागी हुने गरेको बताए। घरबाट २० मिनेटको बाटोमा साइकल चलाएर वनको हेरचाह गरेवापत उनले मासिक रु १० हजार पाउँछन्। उनका अनुसार महिनाभरि वनको रेखदेख गरेर पाएको रु १० हजारले घर चलाउन गाह्रो छ। 'दश हजारले के नै हुन्छ र ? त्यैपनि मैले त आफ्नो जङ्गल हो भनेर काम गरिरहेको छु', उनले भने, 'पैसाभन्दा पनि जङ्गल र वन्यजन्तुले गर्दा हाम्रो चिनारी नै फरक भएको छ, म त वन हेरालु हुन पाएकामा खुसी छु।' 

धनीरामजस्तै सोही सामुदायिक वनमा हेरालुका रूपमा कार्यरत छन् फटाहु थारू पनि। उनी ४० वर्षको भए। उनले पनि आफ्नो वनमा वन्यजन्तु आएकामा निकै खुसी लागेको बताए। 'वनमा वन्यजन्तुको सङ्ख्या बढ्दै गएपछि हाम्रो गाउँ र वनमा घुम्न आउने आन्तरिक पर्यटकको सङ्ख्या पनि बढेको छ', उनले भने, 'यो कुराले हामी सबै गाउँले निकै खुसी छौँ।' 

प्रकाशित मिति: : 2023-05-30 09:18:00

प्रतिकृया दिनुहोस्