नागरिकताबारे प्रधानमन्त्री: विवादै नभएको विषयमा किन विवाद गराउन खोजिएको छ ?

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल राष्ट्रको वृहत्तर हितलाई केन्द्रविन्दुमा राखेर नेपाली नागरिकले सहज ढङ्गले नागरिकता पाउन र अनागरिकले नागरिकता प्राप्त नगरुन भन्ने सैद्धान्तिक विषयमा सबैको एकमत भएको बताएका छन्।

प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उनले नागरिकताका विषयमा अन्तरिम संविधान २०६३ र नेपालको संविधान २०७२ मा सबैको सहमतिका आधारमा उक्त व्यवस्था गरिएको समेत उल्लेख गरे। यस सिद्धान्तमा कसैको विमती नभएको समेत स्पष्ट पारे।

जन्मका आधारमा नेपालीलाई नागरिकता दिन, आमाको नाममा नागरिकता दिन र गैरआवासीय नेपालीलाई नागरिकता दिन कानुन आवश्यक भएको उनको भनाइ छ। जन्मसिद्ध नागरिक आमा बाबुका छोराछोरी नागरिकता पाउनुपर्छ भन्नेमा सबै एकै ठाउँमा रहेको प्रधानमन्त्री दाहालको भनाइ छ।

‘हामी विवाह गरी आउने महिलाका हकमा केही प्रक्रिया राख्नुपर्छ भन्नेमै छौँ, विवादै नभएको विषयमा किन विवाद गराउन खोजिएको छ ? नागरिकता नपाउने १२/१५ लाख भइसके, केपी ओली प्रम हुँदा ल्याएको अध्यादेश र शेरबहादुर देउवा प्रम हुँदा ल्याएको विधेयक एउटै हो, अदालतमा भएको विषयलाई यहाँ किन विवाद गर्ने, अदालतको निर्णय सबैले मान्नुपर्छ,’ उनले भने।

साथै उनले हालैको आफ्नो चार दिने भारत भ्रमणका अवसरमा सात दस्तावेजमा हस्ताक्षर भई आदानप्रदान भएको संसदमा जानकारी गराए। प्रतिनिधिसभाको आजको बैठकमा प्रतिनिधिसभा नियमावली, २०७९ को नियम २२२ बमोजिम सार्वजनिक महत्वको विषयमा जानकारी दिँदै नेपाल भारत पारवाहन सन्धिसमेत भएको बताए।

प्रकाशित मिति: : 2023-06-05 14:32:00

प्रतिकृया दिनुहोस्