डोल्पाको योजना काटेर मुगु र जुम्लामा कार्यान्वयन

डोल्पाको विकासका लागि छुट्याइएको विकास बजेट काटेर मुगु र जुम्लामा पारिएको पाइएको छ।

कर्णाली प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको बद्मासीका कारण डिभिजन वन कार्यालय डोल्पामा आएको विकास बजेट काटेर जुम्ला र मुगुमा लगिएको पाइएको हो।

डोल्पाको पर्यटकीय नगरी फोक्सुण्डो ताल हुँदै मुगुको रारा तालसम्म पर्यटन पदमार्ग निर्माण गर्ने भन्दै जारी आर्थिक बर्षका लागि ४५ लाखको योजना डिभिजन वन कार्यालय डोल्पामा आएको थियो। सोही बजेटबाट रारा राष्ट्रिय निकुञ्जमा मिलिचौर विश्रामस्थल निर्माण शीर्षकमा पच्चीस लाख र भट्टाडाँडी पहिरो नियन्त्रण शीर्षकमा भू तथा जलाधार व्यवस्थापन कार्यालय जुम्लामा २० लाख रकमका योजना पठाइएको छ।

जारी आर्थिक वर्षमा काम सम्पन्न गर्ने गरी मन्त्रालयबाट फोक्सुण्डो रारा पर्यटन पदमार्ग निर्माण शीर्षकमा ४५ लाख बजेट आएपनि अहिले काटिएको डिभिजन वन कार्यालय डोल्पाका वन अधिकृत महेश कुमाइले जानकारी दिए।

'मन्त्रालयबाट बजेट आएको साँचो हो, हामीले त्यहीअनुसार सम्बन्धित स्थानीय तह र वडालाई खबर पनि गरेको हो, योजना सम्झौताका लागि उपभोक्ताहरु पनि आउनुभएको थियो, तर बजेट नै काटिएको पाइएपछि त्यसै फर्किनुभयो', कुमाइले भने।

'पहिला कार्यालयको सिस्टममा आइसकेको योजना कसले काट्यो, के गर्यो भन्ने केही थाहा छैन। आफूले पनि केही महिना अगाडि बजेट काटिएको थाहा पाएँ', उनले थपे। यसरी एउटा जिल्लाको विकासका लागि आइसकेको बजेट काट्न नहुने उनको भनाई छ।

यता, शे–फोक्सुण्डो गाउँपालिकाका-८ का अध्यक्ष निमा गुरुङ्गले फोक्सुण्डोदेखि रारासम्म पदमार्ग निर्माणका लागि जिल्लामै आइसकेको बजेट काट्दा दुख लागेको बताए।

'कार्यालयबाट प्राविधिक आएर पनि नापजाँच भइसकेको थियो। सम्झौताका लागि वडाको सिफारिससहित उपभोक्ता कार्यालयमा पनि पुगेका हुन्। तर अन्तिममा बजेट कटौती भएको कार्यालयले बताएपछि उपभोक्ता त्यसै घर फर्किए', उनले भने।

आन्तरिक तथा बाह्य पर्यटकलाई फोक्सुण्डोदेखि शे–गुम्बासम्म पुग्ने बाटो जोखिमयुक्त भएकाले सोही बजेटबाट बीचबीचमा रेलिङ् बनाउने सल्लाह भएपनि बजेट नहुँदा समस्या भएको उनले बताए। कार्यालयमा आइसकेको बजेट अन्तिममा कसले के कसरी काटियाे कुनै जानकारी नपाएको उनको भनाई छ।

यता, कर्णाली प्रदेश सरकारका पूर्व उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री एवं प्रदेशसभा सदस्य बिरबहादुर शाहीले एउटा जिल्लाको विकासका लागि गइसकेको बजेट काटेर अर्को ठाउँमा हाल्नु गलत भएको बताए।

फोक्सुण्डोका स्थानीयको आग्रहमा बजेट पठाइएको तर मुगुका पूर्व पर्यटन मन्त्री जितबहादुर मल्लले ४५ लाख काटेर आफ्नो गृह जिल्ला र जुम्लामा पठाएको आरोप लगाए।

योजना सम्झौताका लागि फोक्सुण्डोबाट करिब दुई दिन लगाएर सम्झौता गर्न दुनै पुगेका उपभोक्ता रित्तै फर्किनु दुखद भएकाले मन्त्री, सांसद जसले भने पनि मन्त्रालयले यस्तो गलत काम गर्न नहुने उनको भनाई छ।

प्रकाशित मिति: : 2023-06-08 20:20:00

प्रतिकृया दिनुहोस्