खुलामञ्चमा भूमिकाे पूजा गरेर मगर समुदायले मनाए भूम्या पर्व (तस्बिरहरु)

BreaknLinks
BreaknLinks

मगर समुदायले काठमाडाैँको खुलामञ्चमा धुमधामका साथ भूमे पर्व मनाएका छन्। नेपाल मगर संघ केन्द्रीय कमिटीको आयोजनामा मगर समुदायसम्बन्धी विभिन्न भातृ संगठन र संस्थाले झाँकीसहित माइतीघर मण्डलाबाट सुरु गरेकाे र्‍याली भद्रकाली-सहिद गेट हुँदै खुलामञ्चमा पुगेर भूमिको पुजा गरेर औपचारिक रुपमा शुभराम्भ भएकाे हाे।

नेपालभरबाट आएर काठमाडाैँमा बसोबास गरेका मगर समुदायका बासिन्दाहरुले मौलिक चाडपर्व धुमधामले मनाउने र मगर संस्कृतीलाई विश्वमाझ झल्काइने संघका केन्द्रीय अध्यक्ष ज्ञानेन्द्र पुन मगरले बताए।

आजै मगर समुदायनिकट विभिन्न संघ संस्थाहरुले राष्ट्रिय तथ्यांक विभागले पुन थर मगर जातिबाट विभाज गरेकाेप्रति सांकेतिक विराेधसमेत गरे। उनीहरु माइतीघर मण्डलामा भेला भएर विराेध प्रदर्शन गरेका थिए। त्यसपश्चात उनीहरु विभिन्न झाँकीसहित खुलामञ्चतर्फ प्रस्थान गरेका थिए।

मगर समुदायले भूमे/भूम्या पर्वलाई परापूर्व कालदेखि प्रत्येक वर्ष बर्खा सुरु भएसँगै असारको पहिलो साता प्रकृतिको पूजा गरेर विभिन्न मगर गाउँबस्तीमा हर्षोल्लासको साथ मनाउने गर्दछन्। पर्वमा मगर समुदायको मौलिक पहिचान बोकेको भूमे नाच र उनीहरुको जातीय पोसाकमा सजिने, चेली-बेटीलाई मिठो खाना खुवाउने र इष्ट-मित्रबीच खुसीयाली साटासाट गर्ने गर्छन्।

मगर समुदायका महिलाहरु आफ्नो भेषभूषामा गुन्यु-चोली, पटुका र पछ्यौरामा सजिएर भूमे पर्व मनाउन भेला भएका थिए भने पुरुषहरु फेटा, ढाकाटोपीसँगै कम्बरमा खुकुरी भिरेर मगर समुदायको संस्कृतिक भूमे नाच प्रर्दशन गर्दै र्‍यालीमा सहभागी भएका थिए।

परापूर्व कालदेखि १८ मगरात क्षेत्रका रुकुम (पूर्व), उत्तर पूर्वी रोल्पासहित पश्चिम बाग्लुङका बासिन्दा मगर तथा दलित समूदायहरुले हर्षोल्लासको साथ पाँच दिनदेखि हप्ता दिनसम्म पर्व धुमधामले मनाउने चलन छ। भूमे पर्वलाई यस क्षेत्रमा सबैभन्दा ठुलो उत्सवको रुपमा लिइन्छ। अन्न बालीको राम्रो उब्जनी, प्राकृतिक बिपत्तिबाट जोगाउन, घर परिवारमा निरोगिता, आफन्तमाझ सामाजिक सद्भाव राख्न यो पर्व विशेष रूपमा मनाउँदै आएको नेपाल मगर संघका उपाध्यक्ष तथा सांस्कृतिक अध्येता जीवन रोका मगरले बताए।

यसको साथै जनगणना गरिने र प्रशासनिक कामको लेखाजोखा र नयाँ वर्षको योजनासमेत गर्ने प्रचलन रहेको उनले बताए। यो पर्वलाई आदिबासी मगर समुदायले नयाँ वर्षको रुपमा पनि लिने गर्छन्।

गाउँघरमा नजिकको लेकमा जेठ मसान्तमा बुकी फूल टिपेर गाउँमा ल्याएर एकअर्कालाई सिउरिने र खुसी साट्ने गरिन्छ। राजधानीमा भने सांकेतिक रुपमा नजिकै चौरमा उम्रेको फूल टिपेर एक आपसमा लगाइदिएको थियो र सिमे भूमिको पूजा गरेर औपचारिक रुपमा पर्वको शुभराम्भ गरिएको थियो।

कार्यक्रममा प्रमुख अतिथिरुपमा सहभागी प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले मगरहरुको मौलिक चाड भूमे पर्वको शुभाकामना दिएका थिए।

त्यस्तै उपसभामुख इन्दिरा राना मगर, संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला सिर्पाली (ठकुरी), पूर्वमन्त्रीहरु, प्रतिनिधिसभा सदस्य ईश्वरी जिएम, मगर समुदायका अगुवालगायतले भूमे पर्वको उपलक्ष्ममा शुभकामना दिँदै खुसी साटासाटसमेत गरेका थिए।

उनीहरुले मन्तव्यका क्रममा पछिल्लो जनगणनामा मगर समुदायलगायत अन्य जातीहरुलाई टुक्राउने मनसायले छुट्टै जातीको रुपमा तथ्यांक सार्वाजानिक भएकाेमा घोर भर्त्सना गर्दै तुरुन्तै सच्याउनसमेत अनुरोध गरेका थिए।

राजधानीको खुलामञ्चमा असार १ देखि ३ गतेसम्म तीन दिन भूमे पर्व धुमधामले मनाइने कार्यक्रम रहेको छ।

प्रकाशित मिति: : 2023-06-16 22:30:00

प्रतिकृया दिनुहोस्